Sunday, June 23, 2013

गैंडा ढाँटेर डलर

काठमाडौं - नेपालमा विदेशी सहयोग ल्याउन सरकारी निकायले नै तथ्यांक झुटो देखाउने गरेको खुलासा भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दुई वर्षअघि विश्वलाई ढाँटेर 'जिरो पोचिङ इयर' मनाएको' गैंडा सिकारमा पक्राउ परेकाहरुको साबिती बयानले रहस्योद्घाटन गरेको हो।


दुर्लभ वन्यजन्तु गैंडा संरक्षणमा सघाउने अन्तर्राष्ट्रिय दाताबाट सहयोग ल्याएर विभागले सन् २०११ मा 'शून्य सिकार वर्ष' अर्थात् 'जिरो पोचिङ इयर' मनाएको थियो। तर सोही वर्ष गैंडा मारेको अभियोगमा अहिले आठ सिकारी जेलमा छन्। उनीहरुले घटनामा आफ्नो संलग्नता स्विकारेर नेपालले उक्त वर्ष कुनै गैंडा नमारेको मिथ्या विवरण दिएको पुष्टि गरिदिए।
विभागअन्तर्गतकै चितवन राष्ट्रिय निकुञ्जले सन् २०११ मा गैंडा मारेको अभियोगमा आठजनालाई पक्राउ गरी भरतपुर कारागारमा थुनेको छ। उनीहरुविरुद्ध गैंडा मारेर खाग र खुर निकालेको आरोपमा मुद्दा चलाइएको छ।
सन् २०११ मा सौराहामा मनाइएको जिरो पोचिङ इयर' मा काठमाडौंबाट विशिष्ट अतिथि ल्याइए। गैंडा नमारिएको घोषणामा ताली बजाइए, गैंडा बचाउन नेपालले सफलता पाएकोमा बधाई साटासाट गर्दै भाषण ठोकिए। सफलता र उपलब्धिका प्रतिवेदन तयार पारिए र राष्ट्रिय–अन्तर्राष्ट्रिय निकाय, संघसंस्थासम्म पुर्‍याइए। यथार्थ भने त्यसविपरीत थियो।
कसरी सम्भव भयो?
'विभागले सन् २०११ फेब्रुअरी २१ मा मारिएको गैंडाको विवरण लुकायो। र, विभिन्न दातृ संघसस्थाको आर्थिक सहयोगमा 'जिरो पोचिङ इयर' मनायो', स्रोतले भन्यो।
स्रोतका अनुसार ०६७ फागुन ९ गते चितवन राष्ट्रिय निकुञ्जको पदमपुरमा पर्ने भवानीपुर पोस्टदेखि १ किलोमिटर उत्तरी पश्चिमको घाँसेमैदानमा एउटा वश्यक गैंडा मारिएको थियो। सिकारीले त्यसको खाग र खुर दुवै लगेका थिए। पक्राउ परेका मध्ये एकजनाले अर्को बच्चा गैंडा पनि मारेको साबिती बयान दिएका छन्।
'यो कुरा हाल पक्राउ परेका ८ जनामध्ये केहीले स्वीकार गरिसकेका छन्,' स्रोतले भन्यो, 'यो विवरण विभागले सार्वजनिक गरेन। उल्टै, सन् २०११ लाई जिरो पोचिङ इयर भनेर मनायो।' स्रोतका अनुसार गैंडा मारिएको र मुद्दा चलिरहेको विवरण निकुञ्जको मिसिलमै छ।
०६८ वैशाख १५ गते दर्ता भएको ६५ नम्बरको मुद्दामा ती आठजनाको नाम उल्लेख छ। उनीहरु ०६७ चैत २१ गते पक्राउ परेका हुन्। उनीहरुमाथि ०६७ फागुन ९ गते गैंडा मारेको आरोप छ। पक्राउ परेकामा मकवानपुर बासमाडी–३ का शेरबहादुर खाती, उनका साला रामशरण विक, पर्सा वागवाना–९ का ओमनाथ निरौला, सोही ठाउँका माइला भन्ने देव राई, धावा लामा, मकवानपुर हाँडीखोलाका माधव तामाङ, काठमाडौं जोरपाटीका छिरिङ पाल्दाङ लामा र कास्कीका निमा लामा छन्।
निमाले वश्यकसँगै बच्चा गैंडा पनि मारेको साबिती बयान दिएको स्रोतले जनायो। सञ्चारकर्मीलाई उपलब्ध गराइएको विवरणमा ०६७ पुसदेखि ०६८ पुससम्म गैंडा नमारिएको, ०६८ चैतमा मात्र मारिएको उल्लेख छ।
'दिवसको झमेलामा नजाँदा राम्रो,' निकुञ्जका तत्कालीन वार्डेन झमक कार्कीले भने, 'सन् २०११ फेब्रुअरीमा गैंडा मारिए पनि २०१२ अप्रिलमा मात्र अर्को गैंडा मारिएकाले यसलाई उपलब्धि नै मान्नुपर्छ।'
उनले यस्तो सन्देश स्थानीय तहमा पुग्दा संरक्षणमा लागेका निकाय र सर्वसाधारणको 'मोरल डाउन' हुने जनाए। 'यो प्रश्न काठमाडौंको सर्कललाई सोध्नुहोस्,' कार्कीले भने, 'विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद आचार्यलाई सोध्नुस्।'
सन् २०११ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा कृष्ण आचार्य थिए। उनी अहिले वन मन्त्रालय योजना महाशाखाप्रमुख छन्।
'सरकारी संरचना र विभागको कामले मात्रै होइन, सबै तह, तप्का र क्षेत्रका महानुभावको सद्भावले यो काम सम्भव भएको हो,' तत्कालीन महानिर्देशक कृष्ण आचार्यले ०६८ पुस २३ गतेको जिरो पोचिङ इयर कार्यक्रममा भनेका थिए।
०६७ पुस १९ यता चोरी सिकारीले कुनै पनि गैंंडा नमारेको गलत विवरण सार्वजनिक गरेर यो कार्यक्रम गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि तत्कालीन सभासद तथा प्राकृतिक स्रोतसाधन व्यवस्था समितिकी सभापति शान्ता चौधरी थिइन्। अतिथिमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन प्रमुख उपेन्द्रकान्त अर्याललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि थिए।
कार्यक्रमका लागि विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष र युनडिपीअन्तर्गतको डब्लुटिएलसिपीले आर्थिक सहयोग गरेका थिए। कार्यक्रममा करिब ५० लाख रुपैयाँ खर्च भएको बताइएको छ।
सन् २००८ को गणनामा चितवनमा ४ सय ८ वटा गैंडा थिए। सन् २०११ अप्रिलमा सार्वजनिक तथ्यांकले ५ सय ३ पुगेको छ देखाएको छ। बर्दिया निकुञ्ज र शुक्लाफाँटा आरक्षमा गरी थप ३१ वटा गैंडा छन्।
(चितवनका नागरिककर्मी रमेशकुमार पौडेलको सहयोगमा)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment