Sunday, June 16, 2013

बलत्कृत किशोरीलाई प्रहरीको यातना

बीरगञ्ज– एक महिना अघि छिमेकीबाट सामूहिक बलात्कारको शिकार भएकी दलित किशोरी र उनकी आमालाई जिल्ला प्रहरीले यातना दिएको उजुरी अञ्चल प्रहरी कार्यालयमा परेको छ। सुरुमा दिएको बयान फेर्न प्रहरीले पीडितलाई कुटपिट गरेको भन्दै उजुरी परेको हो।
पर्साको मुडली घर भएकी पीडित किशोरीले इलाका प्रहरी कार्यालय पोखरियामा दिएको जाहेरी अनुसार जेठ ४ गते राति छिमेकी ३५ वर्षिय बिनोद साह र २० वर्षिय विदेशी कुशवाहाले मुख थुनेर साहको घरमा लगि बलात्कार गरेका थिए। साह ४ छोराछोरीका बाबु हुन्। गाउँमा शिवचर्चा भन्ने धार्मिक कार्यक्रम गरिएकोले टोल साँझदेखि नै खाली थियो। अँध्यारो र सुनसान भएको मौका छोपी घरमा लगेर बलात्कार गरेको किशोरीले बताएकी छन्। भोलिपल्ट बिहान नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा गरिएको स्वास्थ्य परीक्षणमा जर्बजस्ती यौन सम्पर्क गरिएको प्रमाणहरु भेटिएको मेडिकल रिर्पोटमा उल्लेख छ। गाउँका पञ्च, भलादमीले गाउँमै कुरा सामसुम पार्न पीडित पक्षलाई पैसाको प्रलोभन दिए पीडितहरु मानेका छैनन्।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले घट्ना मुचुल्का गरी बलात्कार भएको भनि प्रतिवेदनसहित मुद्दा अगाडी बढाइएको बताए। घटनाको २४ दिनपछि जेठ २८ मा गाउँ नजिकै बग्ने सिक्टा नदी छेउमा घाँस लिन गएकी किशोरीलाई पीडक पक्षले बलजफ्ती मोटरसाइकलमा बसाएर पोखरिया पूर्‍याएको पीडित परिवारको आरोप छ। पीडक साहका भाई पर्ने प्रभु साह तेली र गाउँकै प्रेम श्रेष्ठले बलजफ्ती लगेको परिवारको भनाइ छ। उनी इलाका प्रहरी कार्यालयमा पुर्‍याइएकी थिइन्।

किशोरीले जाहेरीमा भनेको कुरालाई 'झुठो' भन्न दबाव दिएको किशोरीका बाबुले बताए। इलाका प्रहरी कार्यालयकी महिला प्रहरी सुनकुमारी चौधरीले प्रहरी निरीक्षक पाण्डेको उपस्थिती मैं पीडितलाई कुटपिट गरेको किशोरी र उनको परिवारको आरोप छ। 'केटी आफै आइपुगेकी हुन्', भनेर महिला हिंसाका घटनामा कानूनी सहायता गर्ने संस्था पारालिगलकी क्षेत्रीय अध्यक्ष कान्ति देवी गिरीको जिम्मा लगाएर इलाका प्रहरी कार्यालयले माइती नेपाल बीरगन्जस्थित संरक्षण गृहमा पठाएको थियो। शनिबार जिल्ला प्रहरी कार्यालय पर्सास्थित महिला तथा बालबालिका शाखाका प्रहरी महिलाहरुले प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाको कार्यकक्षमा फरक वयान गराउन कुटपिट गरेका थिए।
किशोरीउपर कुटपिट सुरु भएपछि खतिवडा बाहिर निस्के। पीडितका परिवारले खबर गरेपछि सञ्चारकर्मीहरु पुग्दा प्रहरीले घटनाको ढाकछोप शुरु गर्‍यो। आइतबार पीडित र उनकी आमाले आफुहरुसंग प्रहरी कार्यालयभित्र अमानवीय व्यवहार गरिएको भनि अञ्चल प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। 'प्रारम्भीक रुपमा बुझ्दा प्रहरीले गलत ब्यहवार गरेको पाइएको छ', प्रहरी बरिष्ठ उपपिरक्षक सवेन्द्र खनालले भने- 'अनुसन्धानपछि यथार्त थाहा हुने छ।'
nagarik news

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment