Monday, June 17, 2013

कोरिया र इरानले तान्नेछ एसियाको ध्यान



सिंगापुर – विश्वकप छनोटअन्तर्गत एसियाली समूह चरणको अन्तिम दिन मंगलबार दक्षिण कोरिया र इरानले एकअर्कासँग खेल्दा मैदानमा चर्को मानसिक तनाव हुनेछ भने अर्को खेलमा इराकलाई हराएर अस्ट्रेलिया ब्राजिलको टिकट काट्ने लक्ष्यमा मैदान उत्रने छ।


दक्षिण कोरियाले इरानीका लागि 'जीवन पीडादायक' बनाउने तथा विपक्षी कप्तानलाई 'रगतको आँसु रुवाउने' वाचा गरेबाट एसियाका दुई महारथी सोलको विश्वकप रंगशालामा आमने–सामने हुँदा तनाव निम्त्याउने अनुमान गरिएको छ।
एक अंकको अग्रतासहित समूह 'ए' को शीर्षमा रहेको दक्षिण कोरियालाई ब्राजिल २०१४ मा स्थान पक्का गर्न मंगलबार बराबरी पर्याप्त हुनेछ भने इरानले भने चौथोपल्ट विश्वकप खेल्ने लक्ष्य पूरा गर्न जित्नैपर्नेछ। इरानभन्दा २ अंकले पछि रहँदै तेस्रो स्थानमा सीमित उज्वेकिस्तान समूहको दोस्रो टोली बन्दै स्वतः छनोट हुने सम्भावना जीवित राख्न कतारलाई हराउनै पर्ने अवस्थामा छ।
समूह 'बी' बाट जापानले यसअघि नै ब्राजिलको टिकट काटिसकेको छ भने अस्ट्रेलियालाई दोस्रो टोली भएर विश्वकपमा छानिन सिड्नीमा इराकमाथि जित आवश्यक छ। यसैगरी अस्ट्रेलियाभन्दा एक अंक कमीका साथ तेस्रो स्थानमा रहेको ओमान दोस्रो स्थान हासिल गर्ने उद्देश्यमा जोर्डनमाथि जितको ठूलो लक्ष्य बोकेर उत्रने छ।
गणितीय हिसाबमा एसियाका सबै खेलको महŒव समान रहे पनि भावनात्मक रूपमा दक्षिण कोरिया र इरानले पूरा महादेशको ध्यान तान्ने छन्। दुई टोलीका खेलाडी र प्रशिक्षकबीच लगातार चलेको वाकयुद्धले खेलपूर्व नै वातावरण तनावग्रस्त पारेको छ।
कोरियाली प्रशिक्षक चोइ काङ–हीले इरानका लागि 'जीवन पीडादायक' बनाउने बताएका थिए। उनले इरानी प्रशिक्षक कार्लोस क्विरेज र कप्तान जाभाद नेकौनामले आफूविरुद्ध दिएको अभिव्यक्तिको जवाफमा यस्तो भनेका थिए। यसैगरी जर्मनीबाट व्यावसायिक फुटबल खेलिरहेका कोरियाली फरवार्ड सन हिउङ मिनले भनेका थिए, 'म उनलाई (नेकौनाम) लाई रगतको आँसु रुवाउने छु।' यसैगरी चोइले क्विरेज आफ्नै देश पोर्चुगलमा बसेर विश्वकप हेर्न बाध्य हुने दाबी गरेका थिए।
अक्टोबरमा तेहरानको भ्रमण गर्दा भिसा समस्याका साथै अभ्यासका लागि इरानले उचित व्यवस्था नगरेको दक्षिण कोरियाको आरोप थियो। उक्त खेलमा दक्षिण कोरिया १–० ले पराजित भएको थियो। 'हाम्रा खेलाडीले त्यहाँ भएको दुर्व्यवहार बिर्सेका छैनन्। त्यसैले हामीले उनीहरूको जीवन पीडादायक बनाउनैपर्छ,' चोइले गत साता भनेका थिए।
एसियाली फुटबलका दुई महारथीबीच भएका २६ खेलमा इरानले १० पटक जितेको छ भने दक्षिण कोरिया ९ पटक विजयी भएको छ।
गत साता जोर्डनमाथि ४–० को रवाफ जमाएको अस्ट्रेलियाले इराकविरुद्धको खेल सहज हुने अनुमान लगाएको छ। लगातार तेस्रोपल्ट विश्वकप खेल्ने अभियानमा अस्ट्रेलियाका लागि विपक्षी २००७ को एसियन कप विजेतासँग कप्तान योनिस महमुद र प्रेरणादायी मिडफिल्डर नाशात अक्रम मंगलबार नहुने खबर सुखद हुनसक्छ।
'हामी अहिलेसम्म ब्राजिलका लागि लायक भइसकेका छैनौं। त्यसैले अहिले साम्बा नाच्ने बेला आइसकेको छैन,' अस्ट्रेलियाली कप्तान लुकास नेइलले भने, 'हामीसँग एउटा खेल छ र हामीलाई एउटै जित आवश्यक छ। त्यसपछि मात्र हामी भावी योजनाबारे कुरा गर्न स्वतन्त्र हुनेछौं।'
अस्ट्रेलियाली टोलीमा गोलकिपर मार्क स्चवार्जर अर्को वर्ष विश्वकपमा ४१ वर्षका हुनेछन् भने नेइल, स्ट्राइकर टिम काहिल र मिडफिल्डर मार्क ब्रेसियानो ३४ का हुनेछन्। २००६ मा अन्तिम १६ तथा २०१० मा मुस्किलले समूह चरण पार गर्न नसकेका यी खेलाडीमा सँगै तेस्रोपल्ट विश्वकप खेल्ने उत्साहले मनोबल उँचो पारेको छ।
'हामी साँच्चै यो विश्वकप फेरि एकपल्ट सँगै खेल्न चाहन्छौं। किनकि यसले अस्ट्रेलियाका लागि लामो समयदेखि गर्दै आएको सेवाको राम्रो क्लाइमेक्स दिनेछ,' ब्रेसियानोले भने, 'म र अरु केही केटाहरूका लागि यो तेस्रो विश्वकप हुनेछ। मंगलबार नतिजा ल्याउन सके त्यो हाम्रा लागि अत्यन्तै ठूलो सफलता हुनेछ।'
एसियाली छनोटका दुवै समूहबाट शीर्ष दुई टोली स्वतः विश्वकपका लागि छानिने छन् भने दुवै समूहमा तेस्रो स्थान पाउने टोलीबीच सेप्टेम्बरमा दुई लेगको प्लेअफ हुनेछ। प्लेअफ विजेताले नोभेम्बरमा दक्षिण अमेरिकी क्षेत्रको पाँचौं हुने टोलीसँग दुई लेगको अर्को प्लेअफ खेल्नेछ, जसको विजेता ब्राजिल पुग्नेछ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment