Tuesday, July 2, 2013

जिया आत्महत्याः सुरज जेलबाट छुटे

मुम्बई, असार १९ । बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा मुछिएपछि हिरासतमा रहिरहेका बलिउड अभिनेता आदित्य पंचोलीका छोरा सुरज पंचोली जेलबाट रिहा भएका छन् । मुम्बइको उच्च अदालतले जियाका प्रेमी सुरजलाई सोमबार ५० हजार भारु धरौटीमा जमानत दिएपछि उनी मंगलबार जेलबाट रिहा भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनी मंगलबार स्थानीय समय अनुसार करिब साँझ ५ बजे मुम्बईस्थित आर्थर रोड जेलबाट रिहा भएका जनाइएको छ । २० दिन प्रहरी हिरासतमा बसेर सुरज मंगलबार रिहा भएका हुन् ।
यद्यपी सुरजको पासपोर्ट अदालतले जफत गरेको छ भने उनलाई हरेक दुई दिनमा एक पटक जूहू प्रहरी चौकीमा उपस्थित हुन निर्देशन दिइएको जनाइएको छ ।
यसअघि सुरजले स्थानीय अदालतमा जमानतका लागि गरेको अपील खारेज भएको थियो । त्यसपछि यसका विरुद्ध सुरजका वकिलले मुम्बईको उच्च अदालतमा अपील गरेका थिए ।
२२ वर्षीय सुरजलाई गत जुन १० तारिखका दिन जियालाई आत्महत्या गर्न उक्साएको आरोपमा मुम्बई प्रहरीले गिरफ्तार गरेको थियो । जुन ३ तारिखका दिन जियाले मुम्बईस्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
त्यसपछि जियाकी आमा राबिया खानले आत्महत्याको कारण सुरजसँगको प्रेम सम्बन्ध र सुरजले गर्ने गरेको शारीरिक तथा मानसिक उत्पीडन भएको दाबी गरेकी थिइन् । त्यस्तै जियाको आत्महत्याको ५ दिनपछि जियाको ‘सुसाईड नोट’ भनिएको पत्र प्रहरीको हातमा परेको थियो । जसमा आत्महत्याको ‘दोषी’ सुरजलाई नै ठह-याइएको छ ।
तर, उक्त पत्रको आधिकारिकता भने प्रहरीले अझैसम्म पनि पुष्टी गर्न नसकेको बीबीसीले जनाएको छ । अर्कोतर्फ सुरजका परिवारले भने सुरजमाथि लाग्दै आएको आरोपको खण्डन गर्दै आएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment