Monday, July 8, 2013

नाचगानसँगै कुटाकुट

नेपाली फिल्मका लागि कीर्तिपुरको चोभार ऐतिहासिक स्थल नै हो । कुनै स्थानमा सुटिङ अचानक रोकियो भने फिल्मकर्मीका लागि तत्कालको उपाय चोभार नै हुनेगर्छ । चोभार नै ताकेर जानेको संख्या पनि कम हुँदैन । भनिन्छ, चोभारका ढुंगा, माटो पनि फिल्ममा आउन बाँकी छैन । यतिबेला झन्डै डेढ दर्जन फिल्म सुटिङमा छन् । शुक्रबार पनि दुई फिल्म 'बर्दी' र 'नो स्मोकिङ' ले सुटिङका लागि चोभार छाने । विजयविक्रम बस्नेत निर्देशित फिल्म 'बर्दी' ले चोभारको पाखोमा नृत्यको सिन खिचिरहेको थियो । अर्कोतर्फ सुमन दाहाल निर्देशित 'नो स्मोकिङ' मा फाइटको सिन । बस्नेतले पूर्वनिर्धारित लोकेसन गोठाटारको राधाकृष्ण मन्दिरमा सुटिङ सम्भव नभएपछि चोभारको मञ्जुश्री पार्कमा हान्निएका थिए । नृत्य निर्देशक प्रदीप श्रेष्ठ कलाकारलाई नाच्न सिकाइरहेका थिए । आफ्नी हिरोइन अनु शाहलाई काखमा च्यापेर लच्कँदै नाच्न पहिलोपटक फिल्म खेलिरहेका विरेन डिसीलाई असहज भइरहेको थियो । दिपेश गौतमको गीतमा नाच बिगारेर टेक खाइरहँदा नायिकाले नै विरेनलाई आफूलाई कसरी च्याप्ने सिकाउन थालिन् । अघिल्लो दिन पानीले सुटिङ बिथोलिएर

तनावमा देखिएका फिल्म निर्माता कुमार आचार्यलाई शुक्रबार पनि डर भइरहेको थियो, छिटपुट पानी पर्न थाल्नु अनि नायकले टेक खाइरहनुले । विकास चौधरीको संगीत रहेको गीतलाई सन्तोष लामा र प्रविशा अधिकारीले गाएका हुन् । फिल्ममा कुशल थापा, रूपा खनाल, भानुप्रताप, आरपी भट्टराई, म्यान्डी बाबु लगायतले पनि खेलेका छन् । उता, धूम्रपानविरुद्धको फिल्म 'नो स्मोकिङ' मा भने धमाधम फाइट चलिरहेको थियो । बेपत्ता बहिनीको खोजीमा चोभार निस्किएकी एक्ली युवती देखेर पछि लागेका केही आबारा केटालाई नायकले नियत बुझेपछि धुलाइ गर्छ । जब कि गाउँबाट आएकी त्यो युवतीलाई यसबारे थाहा हुँदैन । युवतीको भूमिकामा झरना थापा छिन् भने उद्दार गर्ने नायक बनेका छन्, सञ्जय खतिवडा । साढे ६ फिट अग्ला सञ्जयले ६/७ भिलेनलाई क्षणभरमै सुताउने फाइट कलाका लागि द्वन्द्वनिर्देशक हिमाल केसीको सहारा लिइरहेका थिए । फिल्ममा महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश डिसी, अमृता पाण्डे लगायतको पनि अभिनय रहेको छ । अनमोल शर्मा, सरोज प्याकुरेल र शंकर अधिकारी 'घायल' को लेखन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत छ, दिव्य सुवेदीले खिचिरहेका छन् । निर्देशक दाहालले धूम्रपानबाट आमाबाबु गुमाएका दिदी-बहिनीले अरूलाई यस्तो कुलतमा नपर्न सल्लाह दिने बताए । फिल्मका फाइट दुई दिन लगाएर सकिएको छ । ७० प्रतिशत छायांकन सकिएको फिल्म मुरारी पोखरेलले बनाएका हुन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment