Tuesday, July 2, 2013

दुबै भारतकै रहेछन्, मरेपछि स्वर्ग देखियो

-चित्रबहादुर केसी, अध्यक्ष राष्ट्रिय जनमोर्चा

उखान टुक्का जोडेर भाषण गर्न सिपालु राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई मानिसहरु निष्ठावान् नेताका रुपमा लिने गर्छन् । माओवादीले चाहिँ उहाँलाई सानो कोटरीमा बस्ने असफल नेता मान्छन् भने जातीय पहिचानका पक्षधरहरु केसी र उहाँको दललाई संघीयताविरोधी मान्छन् । कतिपयले केसीलाई आफ्नो विचारमा अडिग, मृदुभाषी एवं भ्रष्टाचार नगर्ने स्वच्छ छविका नेता मान्ने गरेका छन् ।

फरक धारका नेता केसीसँग अनलाइनखबरले आगामी चुनाव, रेग्मी सरकारको मूल्यांकन, समसामयिक राजनीति तथा राष्ट्रपति डा. रामवरण यादवको भूमिकाबारे कुराकानी गरेको छ । राष्ट्रपतिको चुनावमा आफूले राष्ट्रवादी ठानेर एमाओवादी उमेद्वार रामराजाप्रसाद सिंहको साटो यादवलाई भोट दिएको भए पनि मरेपछि स्वर्ग देखेजस्तै दुबै उमेद्वार भारतले नै उठाएको महसुस अहिले भैरहेको केसी बताउनुहुन्छ । ‘जिन्दगीमा त्यत्रो वर्ष राजनीतिक गरेकोमा पहिलोपटक कांग्रेसलाई भोट हालेकै रामवरणलाई जिताउनलाई हो ।’ केसीको भनाइ छ- ‘ खास्टोले ढाकेको बिरालोले म्याउ गर्‍यो । यतिखेर आएर थाहा भयो कि दुबै उम्मेदवार भारतकै रहेछन् । मरेपछि पो स्वर्ग देखियो ।’

आगामी चुनावमा राष्ट्रिय जनमोर्चाको आकार बढ्छ कि के हुन्छ ?

-चुनाव भयो भने हाम्रो पोजिसन राम्रो हुन्छ । संघीयताबारे हामीले लिएको अडानका कारण पनि हाम्रो भोट बढ्छ भन्ने हाम्रो अनुमान छ ।

एमाओवादीले दुई तिहाई ल्याउँछु भनेको छ नि ?

-उनीहरुसँग अकूत सम्पत्ति छ, इण्डियाले जुट मिलाइदिएको छ । अब मधेसी मोर्चा र माओवादीलाई मिलाएर पैसाको खोलो बगाएर गर्न पनि सक्छ । कयौं देशका शासकहरु पैसाका भरमा सत्तामा आएका छन् भने हाम्रो देशमा पनि यस्तो भयो भने कुनै नौलो कुरा हुनेछैन ।

तपाईको विश्लेषणमा चुनावमा कांग्रेस-एमालेको चुनाबी पोजिसन कस्तो होला ?

-कांग्रेसको पोजिसन त्यति खराब छैन । किनभने यो चार वर्षको अवधिमा हँसिया हथौडा बोकेर सत्तामा जो गए, कम्युनिष्टका नाममा चारजना प्रधानमन्त्री भएका हुनाले कांग्रेसलाई चुनावमा जान र भोट पाउन सकारात्मक स्थिति छ । एमालेले त बाहिर जनतालाई भन्दा सबैभन्दा ठूलो पार्टी हुन्छौं भन्छन् । भन्न पाइन्छ । बहुदल आएको बेलामा त्यस्तो भन्न पाइन्न भन्ने हुन्न । तर, मधेसी मोर्चा र माओवादी मिलाएर इण्डियाले खेल खेल्यो भने अरुको स्थिति त्यति राम्रो हुन्न भन्ने लाग्छ ।

रेग्मी सरकारबारे के भन्नुहुन्छ ?

- सरकार प्रमुख बनेपछि रेग्मी जीसँग मैले दुई हप्तापछि भेटेँ । अब रेग्मी त कसैले बनाएका न परे । मैले भेटमा सैद्धान्तिक कुरा गरेँ । तपाईको सर्वोच्चमा छँदा जुन स्वाभिमान थियो, इज्जत थियो, त्यो गयो । दोस्रो, शक्तिपृथक्कीकरणको कुरा त भताभुङ्ग भयो नि । त्यसकारण तपाई प्रधानमन्त्री भएकोमा मेरो सैद्धान्तिक रुपमा नै असहमति छ । अब यसको पाप पखाल्ने हो नेपाली जनताका अगाडि मंसिरमा चुनाव गराएर देखाइदिनुपर्छ । उहाँलाई मैले त्यति भनेर म हिडेँ । चुनावमा भाग लिने हाम्रो पार्टीको नीति छ । यदि चुनाव भएछ भने हामीले भाग लिन्छौं ।

पछिल्लो समय राष्ट्रपतिको भूमिका कस्तो देख्नु भएको छ ?

-पहिले ३ वर्षसम्म राष्ट्रपतिको भूमिका राम्रो थियो । नेपाली जनताले एउटा यही मान्छे मात्र जन्मेको हरेछ नेपालमा देशभक्त भनेका थिए । अब राष्ट्रपतिको व्यवहार कहाँबाट बिगि्रन सुरु भो भने जब पूर्वप्रशासकहरुलाई सहुलियत दिने कुरामा मन्जुर हुनु भो । र, पछिल्लोपटक निर्यलीय व्यवस्था ल्याउन उहाँ पनि साक्षी बस्नुभो । सबैभन्दा ठूलो कुरा त गणतन्त्र ल्याउन नदिने, २०६२/६३ को आन्दोलन दबाउनेलाई महत्वपूर्ण भूमिका खेलेका व्यक्तिलाई अख्तियारमा उहाँ आफैंले पनि विरोध गरेजस्तो गरेर स्वीकार गर्नुभो । त्यसपछि मेरो मात्रै हैन, धेरै नेपाली जनताको विश्वास खस्क्यो ।



राष्ट्रपतिलाई भेट्दा यी कुराहरु भन्नुपनि भो होला ? यसबारे के भन्नुहुन्छ राष्ट्रपति ?

-अब नजानेर गरेको भए पो महशुस गर्छन् । खास्टोले ढाकेको बिरालोले म्याउ गर्‍यो । नेपालका पहिलेदेखिका शासक प्रशासकहरु भारतीय विस्तारवादको चाकडी गरेर, चुक्ली गरेर उनीहरुलाई खुसी पारेर, उनीहरुको निर्देशन मानेर सरकार प्रमुख, राष्ट्रप्रमुख हुने गरेका छन् । त्यही सिलसिला रहेछ अहिले पनि । गणतन्त्र आएपनि, जे आएपनि प्रचण्डको हालत पनि देखियो । बाबुरामको स्थिति पनि देखियो । प्रमुख पार्टीका नेताहरु पनि देखियो । त्यसकारण यस्तो किन भइरहेको छ भन्दा राजनेताले जब आफूलाई केन्द्रमा राखेर, आफ्नो भोगविलासलाई केन्द्रमा राखेर आफ्नो सन्तान दरसन्तानलाई केन्द्रमा राखेर राजनीति गर्छ, सत्तामा बस्छ, त्यति बेलादेखि अब उनको पतनको बाटो सुरु हुन्छ । यो नेपालको शासकको मात्र कुरा हैन, संसारभरिका शासकहरुमा लागू हुन्छ ।

त्यसकारण राष्ट्रपतिको भूमिका केही समय सकारात्मक थियो । हामीले पनि जिताउनका लागि भोट हालेकै हो । जिन्दगीमा त्यत्रो बर्ष राजनीतिक गरेकोमा पहिलोपटक कांग्रेसलाई भोट हालेकै रामवरणलाई जिताउनलाई हो ।

बेकारमा भोट हालेजस्तो लाग्यो कि ?

-चुनावमा भाग लिने भएपछि त भोट हाल्नै पर्‍यो । कि त चुनाव बहिस्कार गर्नुपथ्र्यो । हामीले त विश्वास गर्‍यौं, भोट हाल्यौं र जितायौं । रामवरणलाई भोट हालेकै दिन माओवादीले त्यही हलमा अब चित्रबहादुर डेरामा बस्न पर्दैन, अकूत पैसा खाएर कांग्रेसलाई भोट हाल्यो भने । केहीले त मलाई त्यहाँ जुल्कीमुल्की समेत गरे । उपाध्यक्षलाई समेत गरे । किनभने उनीहरुको उम्मेदवार त रामराजा थिए ।

मलाई अहिले के महसुस भएको छ भने इण्डियाले दुईवटा उम्मेदवार खडा गरेको रहेछ । माओवादीका लागि रामराजा अनि एमाले, कांग्रेस, हामी जस्तालाई रामवरण । अनि दुनो ढल्क्यो भागमा । दुई जनामध्ये जसले जिते पनि इण्डियालाई केही फरक परेन । स्वर्ग मरेपछि देखियो । यतिखेर आएर थाहा भयो कि दुबै उम्मेदवार भारतकै रहेछन् ।

तपाइको मूल्यांकनमा कांग्रेस र एमाले एमाओवादीसँग लतारिएर हिँडेका हुन् ?

-लतारिएका छन् । के भो भने कांग्रेस र एमालेबाट इण्डियाले जे लिनु पर्ने हो लिइसक्यो । एउटा घटना म तपाईलाई सम्झाउन चाहन्छु । संसद पुनःस्थापना पछाडि ०६३ सालमा नयाँबानेश्वरमा चक्र बास्तोलाले मलाई कोट्याएर एकान्तमा लगे । उनले के भने भने गिरिजाबाबु बिरामी हुनुहुन्छ, गंगालालमा हुन्ाुहुन्छ दाइले भेट्नु भो ? प्रधानमन्त्री बिरामी भएपछि भेट्न त जानुपर्छ तर मैले भ्याछैन भनेँ । उनले के भने भने भेट्न त तपाईको अनुकुलले जानुुस् दाइ । तर, गिरिजाबाबुसँग भेट भो भने एउटा कुरा भन्दिनुपर्‍यो तपाईले, हामीले भन्यो भने खिसिटिउरी गर्छन् । तपाईले भनेको सुन्छन् । के भन्दिनु पर्‍यो ? बास्तोलाले भने- अब इण्डियाले तपाईलाई विश्वास गर्दैन गिरिजाबाबु, इण्डिया त बाबुराम र प्रचण्डको बुई चढेर नेपाल पस्यो, अब यो कुरामा छ्याङ्ग भए हुन्छ -हाँस्दै …) यतिकुरा दाइले सुनाइदिनुपर्छ । बास्तोलाले त्यतिबेला यसो भन्दा मलाई यति चाँडै कांग्रेसलाई भारतले छाडिसक्यो र भन्ने लाग्यो । तर, पछिल्ला ४/५ वर्षका घटनाले उनले अत्यन्त राम्रोसँग इण्डियाको अध्ययन गरेका रहेका छन् भन्ने प्रष्ट पारेको छ । मैले एक वर्ष पहिले एउटा विवाहमा भेट हुँदा कास्तोलालाई भनें- तिमी त ज्योतिषी पो रहेछौ । तिमीले जे भन्थ्यौं, मुलुक त त्यतैतिर गयो त ।

तपाई बाबुराम प्रचण्डलाई भारतले समायो, कांग्रेसलाई छाड्यो भन्नुहुन्छ तर, कांग्रेसका महामन्त्री कृष्ण सिटौला जस्ता प्रियपात्र नि ?

-त्यो त उपयोगको नीति हो नि त । उनीहरुको नीति त कुनै एउटै पार्टीमाथि मात्र विश्वास हैन नि त । विकल्प तयार गरिरहन्छन् । राजाबाट फाइदा लिने बेलामा कांग्रेसलाई तयार पारिराखे, कांग्रेसलाई उपयोग गर्ने बेलामा एमालेलाई बनाइराखे, कांग्रेस-एमालेलाई उपयोग गरिरहेका बेलामा माओवादीलाई तयार पारिराख्या थे ।

राष्ट्रिय जनमोर्चा संघीयताविरोधी, जनजाति विरोधी पार्टी हो ?

आदिवासी जनजातिलाई उनीहरुको बाहुल्य रहेको स्थानमा स्थानीय स्वशासन दिनुपर्छ भन्ने पहिलो पार्टी हाम्रै हो । हामी परम्परागत एकात्मक सामन्ती शासनको ठाउँमा जनजातिलाई स्थानीय स्वशासनको अधिकारसहितको शासनका पक्षपाती हौं भनेकाले हामीलाई जनजाति विरोधी भन्नु निराधार कुरा हो । हामी संघीयता चाहिँ मान्दैनौं । संघीयताले देश टुक्र्याउँछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment