Monday, July 1, 2013

निर्वाचन एकै दिनमा सम्पन्न गर्ने तयारीमा छौं : उप्रेती

काठमाडौं- निर्वाचन आयोगले दोस्रो संविधान सभा निर्वाचनको मतदान सकेसम्म एकै दिनमा सम्पन्न गर्ने बताएका छन्। “हाम्रो चाहना मङ्सिर ४ गतेकै दिन मतदानलाई स्वतन्त्र, निस्पक्ष, धाँधलीरहितरुपमा सम्पन्न गर्ने हो, यसै लक्ष्यका साथ आयोगले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरिराखेको छ,” प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने।

आगामी संविधान सभाका लागि तयार पारिएको संविधान सभा सदस्य निर्वाचन आचारसंहिता, २०७० का बारेमा सञ्चार माध्यमका प्रमुखसँग आज यहाँ भएको छलफलमा प्रमुख आयुक्त उप्रेतीले सो जानकारी दिए।
निर्वाचनका लागि आवश्यक ऐन अध्यादेशमार्फत् जारी भइसकेको र आयोगले निर्वाचन नियमावली पनि पारित गरेको छ। साथै आयोगले सोही नियमावलीअनुरुप निर्देशिका तयार पारिरहेको छ। अर्कोतर्फ आयोगले सोही मितिमा निर्वाचन सम्पन्न गर्नेगरी २५ बुँदे कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।
आयोगका आयुक्तहरु र सचिवको सहभागिता रहेको सो छलफलमा प्रमुख आयुक्त उप्रेतीले आयोगको एकमात्र लक्ष्य निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु हो भन्दै यसमा शङ्काका दृष्टिबाट नहेर्न आग्रह गरे। उनले निर्वाचनका लागि आवश्यक पर्ने ६७ किसिमका सामग्री जुटाउन लागिपरेको जानकारी दिँदै मतपत्र जनक शिक्षा सामग्री केन्द्रमै छापिने स्पष्ट पारे।
उनका अनुसार दल दर्ताका लागि १ सय ३९ दलले आयोगमा निवेदन दिएका छन्। ती दलको निवेदनको आधिकारिता दिएपछि मतमत्रको अन्तिम व्यवस्था अयोगले मिलाउनेछ। आयोगले निर्वाचनका लागि देशभर १० हजार मतदान केन्द्र रहने जानकारी दिएको छ।
आयोगले ती मतदान केन्द्र रहने स्थानका बारेमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)का माध्यमबाट अध्ययन सुरु गरिसकेको छ। जिपिएसमार्फत् केन्द्रहरुको भौगोलिक अवस्था, सुरक्षा प्रणाली, सडक, बत्ती आदिबारे जानकारी प्राप्त हुनेछ।

प्रमुख आयुक्त उप्रेतीले आगामी निर्वाचनमा करिब सात अर्ब रुपैयाँ खर्च हुने जानकारी दिँदै आवश्यक रकमका लागि सरकारसँग अनुरोध गरिसकिएको जानकारी दिए। उनका अनुसार निर्वाचनमा सुरक्षा निकायसमेत गरी दुई लाखभन्दा बढी कर्मचारी खटिने छन्। ती कर्मचारीलाई निर्वाचनको सम्पूर्ण जानकारी दिन आयोगले तालिम सामग्री तयार पारिसकेको छ। निकट भविष्यमा तालिम कार्यक्रम सञ्चालन गरिने प्रमुख आयुक्त उप्रेतीले जानकारी दिए।
आयोगले निर्वाचनका बारेमा मतदाता शिक्षा नीति तयार पारी प्रत्येक मतदाताको घरआँगनमा आयोग उपस्थित हुने जनाएको छ। छलफलमा सहभागी सञ्चार क्षेत्रका अगुवाहरुले निर्वाचनको सञ्चार अनुगमनको जिम्मा प्रेस काउन्सिलजस्ता स्वतन्त्र निकायलाई दिन सुझाव दिएका थिए। उनीहरुले निर्वाचन आचारसंहिता पालना गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारीसमेत गराएका थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment