Thursday, July 25, 2013

चार शिर्ष नेताको वार्तामा कसले के-के भने ?

साउन १० । मंसिर ४ गते घोषणा गरिएको निर्वाचनको पक्ष र विपक्षमा रहेका शिर्ष चार दलको बैठक आज साँझ बसेपनि त्यसले कुनै निकास भने पाउन सकेन ।

निर्वाचनको विरोधमा आजदेखि आन्दोलन सुरु गरेको नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीचे राजधानीमा वार्ता भएको हो ।
शान्ति र संविधानका लागि पेसागत सञ्जालको नेतृत्व गरिरहेको नेपाल पत्रकार महासंघको नेतृत्वमा ललितपुरको समिट होटलमा भएको उक्त वार्तामा राजनीतिक संकट कसरी टार्ने भन्ने विषयमा छलफल भएको थियो ।

तर उक्त वार्तामा कुनै सहमति भने हुन सकेन ।

बैठकमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको निकास भनेको निर्वाचन भएको भन्दै निर्वाचन भन्दा अर्को कुनै विकल्प हुनै नसक्ने बताए ।





सो क्रममा उनले बिना शर्त आफूहरु विपक्षी दलहरुसँग छलफल गर्नेमा रहेको भन्दै गोलमेचमा जान पनि तयार रहेको र सरकारका विषयमा पनि अलिअलि हेरफेर गर्न सकिने बताए ।

'निकास निस्कन्छ भने सरकारका विषयमा परिवर्तन गर्न र विस्तार गर्न पनि सोच्न सकिन्छ' बैठकमा बोल्दै उनले भने- 'समस्या समाधानका लागि सरकार अलिकति नयाँ बनाउन तयार हुनुपर्छ ।'

सो क्रममा उनले गल्ति कमजोरी सच्याएर सुरुदेखि अघि बढ्ने संकेत पनि दिए । एउटा बाटोबाट हिडियो तर बिचमा हराइयो, उनले भने - 'जुन बाटोबाट आइयो त्यही बाटो फर्केर सुरुको अवस्थामा पुगेर निकास निकाल्न सकिन्छ ।'

सो कार्यक्रममा यथास्थितिमा चुनाव हुनै नदिने बताईरहेको नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भने सुरुमै आफ्ना प्रश्नहरु राखेका थिए ।

'सहमतिलाई लत्याएर किन बहुमतिय प्रणाली खोजियो ? संविधानसभामा भएका दलहरुलाई अवज्ञा गरेर तीन दलिय सिण्डिकेट देशमा किन चलाइयो ? तपाईहरुकै दलका नेताहरुले चार दलिय सहमति ठिक छैन भनेर भनिरहेका बेला अरुले कसरी ठिक भन्ने ? अहिलेको जे समस्या आएको छ त्यो तपाईहरुकै कारण हो' कार्यक्रममा प्रश्न गर्दै उनले भने- 'यी सबै प्रश्नहरुको उत्तर प्रष्टसँग चार दलले दिनुपर्छ । ३३ दललाई जवाफ दिनुपर्छ ।'

उनले आफूहरु निर्वाचनको विरोधी नभएको भन्दै सहमतिका लागि तयार रहेको तर त्यसका लागि रेग्मी सरकार खारेजी गरेर राजनीतिक दलको नेतृत्वको सरकार बन्नुपर्ने बताए ।

आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको भन्दै त्यसका लागि दलिय सरकार गठन, संविधानका अन्तरवस्तुमा सबै दलहरुबीच मोटामोटी सहमति गर्नुपर्ने उनले आफ्ना मागहरु प्रस्तुत गरे ।

भन्ने बेलामा लोकतान्त्रिक भन्ने तर गर्ने बेलामा अलोकतान्त्रिक गर्ने प्रथा तोड्नुपर्ने समेत उनले बताए ।

त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले भने किरण जीहरुलाई पाखा नलगाएको भन्दै सहमतिमा आउनुपर्ने बताए । निर्वाचन घोषणा भईसक्यो गल्ती भए पनि भयो, यसैमा आएर अघि बढ्नुपर्ने उनको तर्क थियो ।

विपक्षी दलहरुलाई समेट्न नसक्नु गल्ति भएको भन्दै उनले मंसिर भन्दा पर निर्वाचन सार्न नसकिने बताए ।
'निर्वाचन मंसिरको केही दिन सार्न सकिन्छ त्यसपछि हिउ पर्छ' उनले भने - ' मंसिरपछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले निर्वाचन गर्न सकिदैन ।'

कांग्रेस सभापति सुशिल कोइरालाले भने निर्वाचन कति पनि सार्न नसकिने अडान लिए । एक दुई दिन सारेर केही पनि नहुने भन्दै निर्धारित मितिमै निर्वाचन गर्नुपर्ने उनले बताए । शान्ति र संविधानको बाटो खोल्न वैद्य जीहरुलाई नि सँगै लिएर अघि बढ्नुपर्नेमा भने उनको पनि जोड थियो ।

उक्त कार्यक्रममा नेपाल बार अध्यक्ष हरिकृष्ण कार्की, नेपाल प्राध्यापक संघका रामेश्वर उपाध्यय, नेपाल ट्रेड युनियन अध्यक्षका दिलबहादुर जोशी, नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष, नेपाल चिकित्सकका महासचिव लगायतले दलहरुबीचको दुरी हटाउनुपर्नेमा जोड दिँदै दलहरुले ढाट्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment