Monday, July 1, 2013

कम्युनिष्टले धतुरो रोपेर अम्बा फलाउन खोजे : श्रेष्ठ

१७ असार, काठमाडौं । नागरिक समाजका अगुवा एवं वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले नेपालका कम्युनिष्टहरुले धतुरोको बिरुवा रोपेर अम्बा फलाउन खोजेको बताउनुभएको छ । नेपालका सबै कम्युनिष्ट दलहरुले समाजको प्रगतिशील रुपान्तरणमा ध्यान नदिएको हुनाले उनीहरुलाई सच्याउन अब राम्रा मान्छेहरुले एकै ठाउँमा उभिएर प्रयत्न गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । नवगठित ‘प्रगतिशील रुपान्तरण आन्दोलन’को बहस डबलीमा ७ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले नेपालका कम्युनिष्ट दलहरुमा विचलन आएको बताउनुभयो । आफूहरुले पटक-पटक डेलिगेसन गएर दबाव दिँदा पनि कम्युनिष्ट पार्टीहरु नसच्चिएको भन्दै उहाँले अब दबाव मात्रै दिएर नहुने भएकाले समाजवादी सोचाइ भएका नागरिकहरुले संगठित भई समाजवादी विचारको रक्षाका लागि काम गर्नुपर्ने बताउनुभयो । ‘धतुरोको विरुवा रोपेर अम्बा फलाउन सकिँदैन, हाम्रा कम्युनिष्ट पार्टीहरुले सिंहदरबारलाई बदल्न सकेनन्, बर सिंहदरबार पसेर आफैं बदलिए ।’- श्रेष्ठले भन्नुभयो ।आगामी संविधानसभाको चुनावमा राम्रा मान्छेलाई जिताउन र अग्रगामी संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने श्रेष्ठले बताउनुभयो । ‘हामीले दबाव समूहमात्रै बनाउन खोजेका हैनौं नेतालाई गालीमात्रै गर्न खोजेका पनि हैनौं । समाज रुपान्तरणमा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने हाम्रो धारणा रहँदै आएको छ ।’ श्रेष्ठले बताउनुभयो । कोको छन् डबलीमा ? प्रगतिशील विचार डबलीको पहिलो श्रृंखलामा श्याम श्रेष्ठ, पिताम्बर शर्मा, गणेश शाह, हेमबहादुर विष्ट, युवराज पाण्डे, डा. शिव अधिकारी, युक्तप्रसाद भेटवाल, मणि थापा, भैरव रिसाल, शरद वन्त, श्यामकृष्ण कोजू डा. सरोज धिताल, रामेश, रायन, सीताराम तामाङ, तिलक थापामगरलगायत करिब दुई दर्जनको सहभागिता थियो । कार्यक्रम काठमाडौंको कलंकी छेऊमा आयोजना गरिएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीमा किन विचलन आयो भन्नेबारे डबलीमा बहस भएको थियो । आगामी संविधानसभाको चुनावमा दलहरुमा हस्तक्षेपकारी भूमिका खेल्नका लागि जिल्ला-जिल्लामा पनि यस्तै प्रगतिशील विचार मञ्च बनाउने सहभागीहरुले प्रस्ताव गरेका छन् । यस्तो प्रगतिशील विचारमञ्चको अगुवाइ गर्न सहभागीले वामपन्थी अगुवा श्याम श्रेष्ठलाई प्रस्ताव गरेका छन् । कार्यक्रममा सहभागी बिराटनगरका दिनेश श्रेष्ठले आफूहरुले सुनसरी र मोरंगमा वैकल्पिक विचार मञ्च स्थापना गरेर यस्तै काम गरिरहेको भन्दै यस्तो विचारमञ्चलाई देशव्यापीरुपमा अगाडि बढाउन प्रस्ताव गर्नुभयो । त्यस्तै एमाओवादीका पूर्वकेन्द्रीय नेता युक्त भेटवालले यस्तो समुह जिल्ला-जिल्लामा समेत गठन गरी संविधानसभामा राम्रा मान्छेलाई जिताउन र खराबलाई हराउन भूमिका खेल्नुपर्ने कार्यक्रममा प्रस्ताव राख्नुभयो । नेपालको वामपन्थी आन्दोलनमा देखापरेको विचलनबारे अर्को चरणमा अझै गहिरो गरी विश्लेषण गरिने श्याम श्रेष्ठले बताउनुभयो ।
mero pyaro nepal bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment