Friday, July 26, 2013

हेर्नुहोस अनि थाहा पाउनुहुनेछ आमाको आसिर्बाद कत्ति सम्म बलियो हुदो रहेछ (आमाको आशिर्वादले नै मलाई बचायो)

12 साउन- नेपाली गाउँ समाजका अधिकांश युवाहरु विदेशिएका छन् । गाउँ भित्रका प्रायः युवाहरु अशिक्षित भएकाले नेपालमा रोजगारी नपाएका कारण खाडी मुलुक भासिएका छन् भने बाँकी केही शिक्षित युवाहरु पनि यहाँ रोजगारी नपाउँदा अष्टेलिया, यूरोप, अमेरिका जस्ता विकशित मुलुकतिर पलायन भइरहेका छन् । जसका कारण नेपालमा जनशक्तिको अभाव भइरहेको छ । नेपालमा केहि गर्दा पनि परिवार धान्न गाह्रो भएपछि तिन वर्षअघि विदेश हानिएका थिए उनी । नेपालमा जसोगर्दा पनि हण्डर मात्र पाएपछि विदेश उनको बाध्यता नै बन्न पुग्यो । उनी विदेशिएपछि कस्तो अवस्थामा छु, के गर्दै छु, कसैलाई पनि जानकारी दिएनन् । भर्खरै खाडी मुलुक साउदी अरवबाट फर्किएका ती युवा सँग यो पंक्तिकारको भेट भयो ।

अत्याधिक मोटो शरीर, कता–कता देखेजस्तो लाग्ने । मुसुक्क हाँसेपछि पो थाहा भयो उनी त तिनै निराश भई विदेशिने युवा पो रहेछन् । विदेशमा नेपालीले दुःख पाएको कयौं घटनाहरु हामीले सुनेका थियौं । उनीसँगको छोटो बसाईमै विदेशमा नेपालीहरुले पाउने गरेको दुःख अनि पीडाको बारेमा धेरै जान्ने अवसर मिल्यो । तपाईहरुले पढिरहँदा यो पंक्तिकारले आफ्नै अनुभव सुनाइरहेको जस्तो पाउन सक्नु होला । तर, यो मेरो नभएर तिन वर्षअघि खाडी मुलुक साउदी पुगेका तिनै नेपाली युवकको वास्तविकता हो । के के मात्र गरिएन होला र यहाँ । भाग्यैले साथ नदिएर पो हो की कसै गरेपनि परिवार चलेन । परिवार कृषिमा आधारित रहेकाले कृषि पेशामै मैले पनि सपना देखिसकेको थिएँ । तर भाग्यले नै साथ नदिएपछि कसको के नै लाग्दो रहेछ र । परिवारको आवश्यकता पुरा गर्नु मेरो कर्तब्य पनि त हो । नेपालको कमाईले परिवार धान्न नसकेपछि बाध्य भएर म २०६७ माघ १५ गते राति साउदी अरबको लागि भनेर काठमाडौंबाट प्लेन चढें । जाने बेलामा आमाले रुँदै रुँदै आशिर्वाद स्वरुप हातमा ५० रुपैयाँ राखिदिनुभएको थियो । आमाको अनुहारतिर हेर्नै सकिन मैले, एक्कासी के भयो भयो म व्यक्तै गर्न सक्दिन । कान्छो भाइले आफ्नो शिरको टोपी झिकेर मलाई लगाईदियो । त्यसपछि त झनै भक्कानो छुट्यो । काठमाडौं पुगेर प्लेन चढें, केही घण्टा कतारमा राखेपछि हामीलाई साउदी पुयाइयो । साउदीमा पहिलो पाइला टेक्ने वित्तिकै मेरा दुःखका दिनहरु सुरु भए । प्लेनबाट ओर्लिएर यता उति हेरें, तर त्यहाँ मेरो लगेज नै थिएन । भाइले लगाइदिएको ढाकाको टोपिको भने साहै्र माया लाग्यो । केही गर्दा पनि नभेटिएपछि बाध्य भएर २२ दिनसम्म मैले एकसरो कपडामै ड्यूटी गरें । सुरुवातमै कठिनाई भएकोले गर्दा अगाडि बढ्ने हौसला सबै हरायो । अरु नेपाली कामदार भन्दा अरविक भाषामा म केही दक्ष भएको कारणले २२ दिनपछि मैले लगेज प्राप्त गर्न सफल भएँ । त्यसपछि एक वर्षसम्म लगातार दुःखका दिनहरु जारी रहे । काठमाडौंको सिनामंगलस्थित फिष्टेल मेनपावरबाट साउदीको अल साउदी कम्पनीको लागि मलाई ८ घण्टाको ९ सय रियल सेलेरी र ओभरटाइम दिने शर्तमा लगिएको थियो । त्यहाँ पुगेपछि मात्र थाहा भयो कि मलाई कुनै कम्पनीमा नभएर घर भित्रको कामदारको लागि लगिएको रहेछ । मलाई घरको काम गराइयो, मलाई फसाइयो । मैले एक साल सम्म लगातार घरमा काम गरें । एक वर्षपछि भाषामा केही दक्षता पाएपछि आफूले कमाएको सेलरी रिटर्न गर्ने सर्तमा त्यस घरलाई छोडेर म अर्कै कम्पनीमा काम गर्न पुगें । मेरो पासपोर्ट पुरानै साहूले राख्यो । महिनाको पाँच सय रियल तिर्ने शर्तमा म अर्को कम्पनीमा काम गर्न गएको थिएँ । मैले लगातार पाँच महिनासम्म पुरानो साहूलाई पाँच सय रियलको दरले पैसा तिरें । पाँच महिनासम्म अर्को कम्पनीमा काम गर्दा त्यहीँका स्थानीय अब्बु हनन नाम गरेका साउदीसँग मेरो घनिष्ठता बढ्यो । उनीसँग राम्रो सम्बन्ध कायम भएसँगै उनले मलाई छोरा जस्तै गर्न थाले ।
एउटा विदेशीसँग यति राम्रो सम्बन्ध बन्ला भनेर मैले कल्पना सम्म पनि गरेको थिइँन । उनले नै मलाई पहिलाको साहूलाई बेकारमा महिनाको पाँच सय किन तिर्छस् ? त्यो पाँच सयले तेरो बच्चालाई पढ्न मद्दत पुग्छ, घर परिवार चलाउन मद्दत पुग्छलगायतका सल्लाह दिए । उनको सल्लाह अनुसार नै मैले पुरानो साहूलाई मासिक पाँच सय रियल तिर्न छोडिदिएँ । मैले त्यो साहूसँग सम्पर्क हुने सम्पूर्ण बाटाहरु बन्द गरिदिएँ । फोन सम्पर्क नहोस् भनेर मैले उसको नम्बर समेत ब्लक गरें । दुई वर्षसम्म उसँग कुनै सम्पर्क भएन । मलाई अलिकति पनि दुःख हुने वित्तिकै अब्बु हनन्ले नै मद्दत गर्थे । म कुनै दिन विरामी भएर ड्यूटी जान सकिन भने गाडी लिएर आफैं आएर उनले मलाई ड्यटी लान्थे । अघिल्लो साहूसँग मैले पाएको सम्पूर्ण दुःखहरु उनले भुलाईदिए । नयाँ कम्पनीमा गएको मलाई तीन महिनासम्म परीक्षण कालमा राखिएको थियो । म त्यस परीक्षण कालमा उत्तीर्ण हुन सफल भएँ । मैले उनीहरुलाई खुसी पार्न सकेकाले मैले चित्त बुझ्दो पारिश्रमिक तथा सेवा सुविधा पाएँ । अब्बू हनन्को सल्लाहले मैले पाँच सय बुझाउन छोडेपछि म पूर्ण रुपमा गैरकानुनी भएँ । तर, त्यहाँका स्थानीयको साथ र सहयोग पाउँदा मैले एकदिन पनि इलिगल भएको महसुस गर्नु परेन । मलाई अब्बु हनन्ले अत्याधिक मद्दत गरे । उनले मलाई त्यहाँको श्रम मन्त्रालय लगेर पहिलाको साहूलाई झिकाई छलफल र बहस गरे । म किन उसँग टिक्न सकिन भन्ने विषयमा गम्भीर छलफल भयो । मैले उसँग काम गर्दा चार महिनामा एक महिनाको मात्र सेलरी पाउँथे । बाँकी तीन महिनाको उ आफैं राख्थ्यो । सेलरी माग्दा घर जाने बेलामा दिने भन्ने शर्तले मलाई अल्झाइरहेको थियो । त्यसकारण बाध्य भएर म निस्किएको थिएँ । त्यसपछि म नयाँ कम्पनीमा क्याटरिङको काम गर्न थालें । खाना बनाउने, सरसफाई गर्ने, जूठा भाडा उठाउने लगायत किचनको सम्पूर्ण काम मैले ह्याण्डल गर्नुपथ्र्यो । दैनिक नुहाउने, दाह्री काट्ने, ग्लोब्स लगाउने, कपाल काट्ने लगायतका काममा ध्यान दिनु पथ्र्यो । सुरुको साहूसँग काम गर्दा म तीन पटकसम्म गाडी दुर्घटना परें । उ बिल्डिङ लाइनमा काम गथ्र्यो । मैले पनि त्यही गर्नुपथ्र्यो । साथीहरु सबै भारतीय थिए । काम अत्याधिक गाह्रो थियो । पाइप फिटिङ्, पेन्टिङ्लगायतका काम गर्नु पथ्र्यो । त्यतिबेला मलाई अत्याधिक दुःख भयो । ड्यूटी सकेर फर्कदा एक्कसी ड्राइभर रिसाएका कारण गाडी दुर्घटना हुन पुग्यो । फलस्वरुप मैले मेरो मिल्ने साथी मेरै आँखा अगाडि गुमाउनु प¥यो । भाग्यले साथ दिएर होला म भने बाँच्न सफल भएँ । पुल माथिबाट टर्निङमा ओभर स्पीड हुँदा गाडी पल्टिदै पल्टिदै घर बनाउन राखेका ठूला ठूला बालुवाका ढिस्काहरुमा पस्यो र गाडी पुरियो । पाँच मिनेटपछि हामीलाई बालुवा खोतलेर निकालियो । म बाँच्न सफल भएकोमा भाग्यमानी रहेछु जस्तो अनुभव गरें । यसपछि मन थाम्नै गाह्रो भयो । मरिन्छ कि जस्तो मात्र हुने, बाबु आमाको यादले सताउने हुन थाल्यो । लगत्तै सात दिनपछि अर्को दुर्घटना भयो । गाडीमा साहू र म मात्र थियौं । साहूले गाडी चलाउँदै थियो । हामी चडेको कार एक्कासी टे«लर मुनि गएर पस्यो । यस क्रममा कारको छतको सम्पूर्ण भाग उड्यो । एयर व्यागको साहयताले म बाँच्न सफल भएँ । छातीमा एयर ब्याग आएर आफैं टाँसिने सुविधा त्यहाँको गाडीमा हुँदो रहेछ । त्यसकारण मलाई चोट लागेन । साहूले त विमा वापतको पैसा पायो, भोलिपल्टै नयाँ गाडी पायो तर मैले त के नै पाउथें र । म मरेको भए पनि उसलाई कुनै असर पर्दैनथ्यो । त्यसको एक महिना भित्रमा म फेरि अर्को दुर्घटनामा परें । चालक नयाँ थियो । झुक्किएर गलत बाटोमा गाडी घुसाएका कारण एक्कासी दुर्घटना हुन पुग्यो र मेरो खुट्टामा गहिरो चोट लाग्यो । एक महिनाभित्रै तिनवटा दुर्घटना भएका कारण म आत्तिएँ । घरमा फोन गरें । फोनमा आमा बोल्नुहुन्थ्यो, छोरोले बाबा मलाई के ल्याईदिने ? भन्थ्यो तर, मेरो बोली नै आउँदैन थियो, म रुन्थें मात्र । घाँटीमा गाँठो पथ्र्यो, म केही पनि भन्न सक्दिन थिएँ घरमा । म पैसा कमाउन होइन मृत्यु प्राप्त गर्न साउदी आएको रहेछु जस्तो लाग्यो । दुःख पाएको कुरा घरमा भन्न सक्दिन थिएँ म । मेरो कारणले घरमा चिन्ता नहोस जस्तो लाग्थ्यो । पुरानो साहूले मलाई पार्सपोर्ट नदिने भयो ।
पार्सपोर्ट लिनलाई मैले ८ हजार ५ सय रियल अर्थात नेपाली २ लाख १५ हजार जति बुझाउनु पर्ने भयो । मैले तिर्न नसकेका कारण पासपोर्ट छोडेर खालीहात नेपाल आएँ । धेरै पैसा कमाउनका लागी गएको म रित्तो हात घर फर्किदा मलाई जति पिडा अरु कसलाई पो हुन्थ्यो र । त्यसबेला आमाले आशिर्वाद स्वरुप दिनुभएको ५० रुपैयाँ अझै म सँँग छ । त्यही आशिर्वादले गर्दा नै म बाँच्न सफल भएको छु । अहिले म नयाँ पासपोर्ट बनाउँदै छु । पछिल्लो समय जुन कम्पनीमा मैले काम गरें म त्यही कम्पनीमा जाँदैछु । विदेश जानु हाम्रो रहर होइन । बाध्यता हो । नेपालमा जति कमाए पनि बँच्दैन । समयमा पढ्न नसकेकोले गर्दा हाम्रो विकल्प विदेश नै बनेको छ । तरपनि म विदेश जान्न भन्दिन र साथीहरुलाई विदेश जानु हुँदैन भनेर सल्लाह पनि दिन्न । विदेश जानुपर्छ । मैले विदेशमा पाएको दुःखले नै अगाडि बढ्ने प्रेरणा पाएँ । मानिसले जीवनमा कयौं कष्ट पार गर्नुपर्छ । त्यसकारण म फेरि पनि विदेश जाँदैछु । जीवनमा अनेकौं अप्ठ्यारा आउँछन् त्यसलाई पार गर्नु नै जीवनको सार्थकता हो भन्ने मैले पाठ सिकें । दुःख पर्दैमा आत्तिनु हुँदैन, धैर्य गरौं, सफलता अवश्य पाइन्छ |

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment