Monday, June 17, 2013

एकै नजरले घाइते बनायो



श्रीमती र छोराहरूसहित भारत यात्रामा निस्किएका नकिम उद्दिन केही दिनअघि ताज महल पुगे। सात वर्षको हुँदा आमा–बाबुसँग त्यहाँ पुगेका उनी 'नोस्टाल्जिक'मात्र बनेनन्, आफ्नै प्रेमिल जीवनको 'फ्ल्यासब्याक'मा हराए। प्रेमको प्रतीक मानिने ताज महलको अद्भूत वास्तुकला देख्दा उनी चकित बने।

सँगै थिइन् समीरा, जोसँगको वैवाहिक जीवन २१ औं वर्षमा चलिरहेको छ। मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताज महलको सम्झनामा ताज महल बनाइदिएर प्रेम अमर बनाए। नकिमले शाहजहाँको समर्पणसँग आफूलाई तुलना त गरेनन्, तर प्रेमको तगारो छिचोल्न गरेको संघर्ष सम्भि्कएर गर्व गरे।

'मुस्लिम–हिन्दु विवाहको जटिलतालाई जितेरै छोड्यौं,' उनी २१ वर्षअघि फर्कन्छन्, 'मेरो प्रेम त्यति कच्चा रहेनछ।'

'बेस्ट फ्रेन्ड' क्याबिनेट श्रेष्ठको बिहेमा नकिमको खुब ठाँट थियो। क्याबिनेटको प्रेम विवाह देखेर उनलाई पनि 'उपयुक्त'को खोजी गर्ने इच्छा जागिसकेको थियो। साथीको बिहे एउटी राम्रीलाई पट्याउने अवसर बनाउन चाहन्थे उनी। तर, विवाह व्यवस्थापनको चटारोले नजर घुमाउने फुर्सद पाएनन्। उनको जिम्मेवारी तोकिएको थियो, निम्तालुलाई ल्याउने–लैजाने।

'निकै च्वाँक केटीलाई गाडीमा ल्याउँदै थियौ नि, के हो ...!' बिहेको भीडभाडमा को–को गाडीमा चढे नकिमले नियाल्न पाएका थिएनन्। एक साथीले यसो भनेपछि उनी पनि तिनलाई देख्न उत्सुक भए। 'बिहेका धेरैजसो पाहुना पहिल्यै चिन्थें, तर साथीले जसको बारेमा वर्णन गरे उनी निक्कै राम्री रहिछन्, तर पूरै अपरिचित,' 'उनी'सँगको पहिलो भेट सम्भि्कए नकिमले, 'एकै नजरमा घायल भएँ म त। आफूले खोजेको उनी नै हुन् जस्तो लाग्यो।'

ती 'अपरिचित'सँग परिचित हुन उनी हत्तारिए। गफमा गफ मिलाउने, उनकै वरिपरि रहने, सहयोग गर्न खोज्नेजस्ता धेरै तिकडम अपनाएपछि बल्ल नकिमले नामसम्म थाहा पाए– समीरा। अब नकिमको एउटै मिसन बन्यो समीरासँग नजिकिने। 'जसरी पनि पट्याउनुपर्‍यो भनेर उनलाई चिन्ने साथीहरूको सहायता लिएँ,' ती दिन सम्झँदा उनी रोमाञ्चित हुन्छन्, 'समीराले प्रस्ताव स्विकारिन्, रमाइलो लाग्यो। परिवारबाट गोप्य राख्नुपर्ने हुँदा डर पनि उत्तिकै थियो। धेरैको नजरबाट जोगिँदै माया साट्थ्यौं।'

भावना साट्न अहिलेजस्तो सरल प्रविधि थिएन। मौका मिल्दा फोनले सघाउँथ्यो। 'लामो कुरा गर्दा अरूले पत्तो पाउने पीर। फोन गरेर हत्तपत्त ठाउँ र समय तोक्थ्यौं, माया–प्रीतिका कुरा भेटमै हुन्थ्यो,' दरबारमार्गको नाङ्लो क्याफे उनीहरूको 'फेभरेट' डेटिङ स्पट बन्यो। 'मौका मिल्दा धुलिखेल पनि पुग्थ्यौं,' नकिमका व्यापारी बाबु छोरा कहाँ जान्छ, को कोसँग हिमचिम गर्छ वास्ता गर्न भ्याउँदैनथे। साथीहरू कुरा लाउन जाँदैनथे। उनले डेढ वर्षसम्म यसको भरपूर फाइदा उठाए।

'जब घरमा यो कुरा थाहा भयो त्यसपछि भेटघाट पूरै बन्द।'

'अनि?'

'के गर्नु, दुवैले समहतिमै 'ब्रेकअप'को बाटो रोज्यौं। दुई महिना त खपेर बसियो त्यसपछि सकिएन। समातियो विद्रोहको बाटो, भागियो दिल्ली,' नकिमलाई 'प्यार किया तो डरना क्या'को बाटोमा समीराको पूरै साथ मिल्यो। उनका दाजुले यो सम्बन्धलाई गोप्यरूपमा सहयोग गरिरहे। तैपनि मुसलमान र ब्राह्मण समुदायका यी जोडीको 'चक्कर' सजिलै 'सेटलमेन्ट' हुन पाएन।

भारतमा लामो समय बिताएकाले समीराका बाबु बरु बिस्तारै लचिलो भए तर नकिमका बाबुले कुनै हालतमा विवाहलाई मान्यता नदिने अडान लिए। 'बाबुको मन पछि पग्लिहाल्ला नि भनेर दिल्लीमै कोर्ट म्यारिज गर्‍यौं,' परिवारको एक्लो छोरो नकिम र एक्ली छोरी समीरालाई हिन्दु–मुस्लिम विभेदले रोकेन।

केही दिन दिल्लीमा रल्लिँदा नकिमले ठानेका थिए, 'काठमाडौंमा तीनवटा घर छ, सँगै नराखे पनि एउटा घरमा त पक्कै बस्न देलान्,' तर, उनका बाबुले आफ्नो निर्णय बदलेनन्। 'सधैं उता बस्न सकिएन, फर्किएपछि कुपण्डोलमा भाडाको फ्ल्याट लिएर बस्यौं,' परिवारसँग सम्बन्ध सुधार्न एक वर्ष लाग्यो। आवातजावत फुकुवा भए पनि उनी सगोलमा बस्दैनन्। विवाहपछि उनले निर्यात व्यापारमा हात बढाएर आफूलाई आत्मनिर्भर बनाए। पोतेको पुर्ख्यौली व्यापारमा उनी रत्तिएनन्।

नकिमलाई काठमाडौंका मुस्लिमको व्यवहार उदार लाग्छ। अरूले पनि अन्तर्जातीय विवाह गरेकाले आफूलाई ठूलो समस्या नपरेको उनले महसुस गरेका छन्। काठमाडौंमा जन्मिएकाले नेवार भाषा उनलाई गाह्रो भएन। थोरै मुस्लिम सुमदाय रहेको काठमाडौंमा उनका नेवार साथी धेरै छन्। त्यसैले आफूलाई 'नेवार मुस्लिम' भन्न रुचाउँछन्।

आफ्नो धर्मले व्याख्या गरेअनुसार मात्रै जीवन चलाउन नसकिने उनी खुलेरै बताउँछन्। 'धर्म भनेको निजी विश्वास हो। म अरूमाथि थोपर्न चाहन्न, अरूले पनि हस्तक्षेप नगरे हुन्थ्यो जस्तो लाग्छ,' शुक्रबार मस्जिद र दसैंमा ससुराली जाँदा उनलाई अनौठो लाग्न छोडेको छ। हिन्दु संस्कृति हेरेर हुर्किएकाले सबै चाडपर्व आफ्नैजस्तो लाग्छ। उनको आफ्नै सर्कल छ, जहाँ धर्म र संस्कृतिको छेकबार छैन।

मुस्लिम समुदायको आध्यात्मिक चेत देख्दा उनलाई खुसी लाग्छ। 'जीवन नै धर्मको वरिपरि घुमेको हुन्छ। दैनिक प्रार्थना, शुक्रबार मस्जिद र आफ्नो समुदायको पूजा, भोज आदिमा सामेल भइरहेकै हुन्छु,' आफ्ना गैरमुस्लिम हितैषीसँग भने उनी धर्मको विषयमा चर्चा गर्न रुचाउँदैनन्।

.....

फिल्म क्षेत्रमा नकिमको नाम ठूलो छ। उनी ठूला हलका मालिक हुन्। क्युएफएक्स नेटवर्कले राजधानीमा मल्टिप्लेक्स हल खडा गरेपछि मध्यम र उच्चवर्गलाई ल्याउन सकेको जस उनले पाएका छन्। आफू संलग्न डिजिटल सिनेमा नेपाल (डिसिएन)ले आफ्नो फिल्मलाई उचित स्थान नदिएको आरोपसहित आउने निर्मातालाई बुझाउन पनि उनलाई भ्याइनभ्याई हुन्छ। जयनेपाल र कुमारी हलको रूपान्तरण, 'कागवेनी' र 'सानो संसार'को निर्माणसँगै उनी फिल्म उद्यामीमाझ परिचित बनेका हुन्। नेपाल चलचित्र संघको महासचिव भइसक्दा पनि फिल्मी माहौलसँग नरत्तिएको जिकिर गर्छन् उनी।

'यो एउटा व्यवसाय गर्ने थलो हो, फुर्सदमा रमाइलो गर्ने मेरो खास जमात छ, २५ वर्ष यताका जिग्रीहरूसँग हरेक मंगलबार जमिन्छ,' झम्सिखेलको मोक्ष उनीहरूको अड्डा बनेको छ। ललितपुरको भ्याली होम्समा बस्ने नकिमले त्यहाँ पनि मिल्ने समूह खडा गरेका छन्। 'बेलुका छिट्टै घर फर्कन्छु, यतै साथीहरूसँग रमाइलो गरिन्छ। फरक क्षेत्रका साथीको संगतले ज्ञान पनि बढ्दो रहेछ,' उनी भन्छन्।

उनी गल्फका पारखी हुन्। पहिले खुब खेल्थे, गल्फको 'एडिक' साथीहरू देखेपछि उनलाई डर लाग्यो। 'यसको लतमा परियो भने त व्यापार चौपट हुन्छ,' अहिले उनी गल्फसँग फेरि जोडिएका छन्, सानो छोराका कारण। 'हरेक शनिबार गल्फ खेल्न जान्छौं। दुई बजेसम्म खेल्छौं, उतै लन्च खाएर फर्कन्छौं,' गल्फमा रम्ने तर लत नबनाउने विषयमा उनी सचेत छन्।

सहरी दर्शक मल्टिप्लेक्सप्रति आकर्षित भएको देखेपछि उनी ललितपुर विशाल बजारमा समेत हल बनाउन जुटेका छन्। अरूलाई फिल्म हेर्ने बानी पारे पनि आफू भने शनिबारमात्र फिल्म हेर्न जान्छन्। सिभिल मलको ठूलो हलमा साँझ छ वा नौ बजेको शो हेर्ने बानी छ। त्यो दिन हलको मध्यभागमा रहेको सोफा उनको परिवारको लागि रिजर्भ हुन्छ। 'कुन फिल्म हेर्ने भन्ने निर्णय श्रीमती र छोराहरूले गर्छन्, म उनीहरूलाई साथ दिन्छु,' शनिबार छुट्यो कि छुट्यो, अर्को दिन हेर्दैनन्।

बच्चा छँदा आमा–बाबुसँग फिल्म हेर्न गए पनि हुर्केपछि काठमाडौंमा साह्रै कम फिल्म हेरें भन्छन्। श्रीमतीसँग 'दिल तो पागल हे' हेर्न जाँदा हलको दुर्गति देख्दा बेकार आइएछ जस्तो लाग्यो,' यही कुरा साथीहरूसँग गर्दा भास्कर ढुंगानाले 'गतिलो' हल खोल्ने प्रस्ताव ल्याएको उनी बताउँछन्। 'मलाई पनि यो व्यापारमा भविष्य छजस्तो लाग्यो, राम्रै गर्न सकेका छौं,' उनी सन्तुष्ट छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment