Monday, June 17, 2013

मधेसवादी दल मोर्चाबन्दी र संगठन विस्तारमा

काठमाडौं -सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गरेपछि मधेसवादी दलहरूले मोर्चाबन्दी र संगठन विस्तारलाई तीव्रता दिएका छन्। चुनाव घोषणाअघिदेखि नै सुरु भएको मोर्चाबन्दीको कसरत र संगठन विस्तार एवं सुदृढीकरणलाई अब चुनावमुखी बनाएर जाने तयारी ती दलको छ।


नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले 'तीन महिनादेखि संगठन विस्तारको काम गरिरहेको' बताए। 'संगठन विस्तार र सुदृढीकरण अभियान तीन महिनादेखि चलिरहेको छ। आगामी दिनमा यसलाई अझै तीव्र बनाउन लागेका छौं,' महत्तोले नागरिकसँग भने, 'अब ती कार्यक्रमलाई निर्वाचनमुखी बनाउँछौं।'
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवका अनुसार पार्टीले संगठन विस्तार अभियानमा १८ वटा टोली बनाएर विभिन्न जिल्लामा खटाइसकेको छ। 'ती टोली केही दिनभित्रै काम सकेर काठमाडौं फर्किंदैछ,' यादवले भने, 'त्यसपछि समग्र स्थितिको समीक्षा गरेर चुनावी बाटो तय गर्छाैं।'
चुनावी तयारीका लागि असार दोस्रो साता विराटनगरमा राष्ट्रिय भेला गर्न लागेको पनि उनले जनाए। 'भेला निर्वाचनका विषयमा केन्द्रित हुने छ। यसले कार्यकर्तामा थप ऊर्जा थप्ने छ,' उनले दाबी गरे।
तराई मधेस लोकतान्त्रिक पार्टीले पनि चुनावकेन्द्रित अभियान छिट्टै थाल्ने भएको छ। तमलोपाले संगठन विस्तारसँगै मधेसी दलहरूको मोर्चाबन्दीको कसरत पनि गरिरहेको छ। 'पार्टीको संगठन विस्तारसँगै मधेसवादी शक्तिहरूको मोर्चाबन्दी प्रयासलाई तीव्र ढंगले बढाउँछौं,' तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले भने।
अन्य मधेसवादी शक्तिहरू पनि चुनावी मोर्चाबन्दीको प्रयास भइरहेको र यसले साकार रूप लिने बताउँछन्। फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष यादवले भने, 'एउटै पार्टी भएर नभए गठबन्धन बनाएर मधेसवादीहरू आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन्।'
सद्भावना अध्यक्ष महत्तो पनि सिद्धान्त र एजेन्डाका आधारमा मधेसवादी शक्तिहरूबीच गठबन्धन बताउँछन्। 'अब निर्वाचन नै घोषणा भएपछि यसले थप तीव्रता पाउने छ,' उनले भने।
मधेसी जनअधिकार फोरम नेपालले भने अहिलेको चुनावी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएको छ। उसले मिति घोषणाभन्दा पनि चुनाव हुने आधारहरू तयार गर्न र त्यसको सुनिश्चितता गर्न माग गर्दै आएको छ।
'चुनावको मिति घोषणा गर्नु ठूलो कुरा होइन, त्यसको आधार निर्माण गर्नु महŒवपुर्ण कुरा हो,' फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने। चुनाव हुनेमा विश्वास नभएकाले आफ्नो पार्टीले त्यसको तयारी नगरेको पनि उनले बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment