Showing posts with label बिदेश. Show all posts
Showing posts with label बिदेश. Show all posts

Thursday, June 20, 2013

कतारमा माइक्रोभ्यान दुर्घटनामा ३ नेपाली कामदारको मृत्यु

खोटाङ - कतारमा भएको माइक्रोभ्यान दुर्घटनामा तीन नेपाली कामदारको ज्यान गएको छ। आफ्नो कम्पनीमा काम गरेर सनैयास्थित क्याम्पमा फर्कनेक्रममा सल्वारोडमा भएको सडक दुर्घटनामा ठेगाना नखुलेका बृजनाथ पण्डित, कृष्ण राजवंशी र पशपल धमलाको ज्यान गएको हो।

मृतकहरु ३५ देखि ४० वर्षका छन्। माइक्रोभ्यानको टायर पड्किएपछि नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा १३ जना नेपाली घाइते भएको स्थानीय पेनिन्सुला दैनिकले जनाएको खोटाङ सेवा समाज दोहाका महासचिव नारायण बस्नेतले जानकारी दिए। घाइतेहरुको अहिले हमाद अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरुमध्ये पाँच नेपाली र एक इजिप्टेली चालकको अवस्था गम्भीर रहेको बताइएको छ। सामान्य उपचारपछि छ जना अस्पतालबाट फर्केको महासचिव बस्नेतको भनाइ छ। मङ्गलबार साँझ भएको घटनाबारे नेपाली राजदूतावासलाई भने जानकारी नभएको बताइएको छ।

Tuesday, June 18, 2013

कुबेतमा नेपालीलाई आह्वान 'कागजपत्र लिएर हिँड'

काठमाडौं – कुबेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई परिचय खुल्ने वैधानिक कागजात साथमा राख्न आग्रह गरेको छ। कुनै पनि गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत दूतावासले सचेत गराएको छ।


कुबेती प्रहरीले विभिन्न स्थानमा छापा मार्दा पाँच सयभन्दा बढी अवैध नेपाली कामदार पक्राउ परेपछि दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै सजग रहन आग्रह गरेको हो। पक्राउ परेका केही नेपालीको कोठाबाट रक्सीका बोतल, रक्सी बनाउने सामग्री र वेश्यावृत्तिमा समेत संलग्न रहेको भेटिएपछि दूतावासले गैरकानुनी क्रियाकलापमा संलग्न नहुन भनेको हो।
'अवैधानिक रूपले बसिरहेका आप्रवासीलाई पक्राउ गरी स्वदेश फर्काउन कुबेत प्रहरीले केही समयदेखि कडा चेकजाँच गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'अवैधानिक कामदारलाई तुरुन्तै स्वदेश फर्काएको हुँदा यस्तो असहज परिस्थितिबाट बच्न आफ्नो परिचयपत्र, राहदानी, भिसा, विवाह दर्ता प्रमाणपत्र, करारनामा जस्ता कागजात साथमा राख्न दूतावास अनुरोध गर्दछ।'
आफ्नो परिवारका सदस्यबाहेक कसैलाई पनि आफ्नो सवारी साधनमा ओसारपसार नगर्न, मोबाइलमा भिओआइपी एप्लिकेसन नराख्न, मदिराजन्य कुनै पनि चिजको उत्पादन तथा सेवनबाट टाढा रहन पनि दूतावासले अनुरोध गरेको छ। वैधानिक कागजात भए, कुबेती प्रहरीले पक्राउ नगर्ने जनाउँदै कहीं कसैलाई त्यस्तो अवस्थामा पनि पक्राउ गरे, तुरुन्त सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ।