Friday, June 28, 2013

प्रचण्ड भ्रष्ट आरोपी कमाण्डरहरुको घेराबन्दीमा पर्दै

१५ असार, काठमाडौं । केन्द्रीय समिति विस्तारका क्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पूर्वलडाकूहरुका डेपुटी कमान्डर एवं डिभिजन कमाण्डरहरुको धम्की र घरावन्दीमा पर्नुभएको छ । पेरिसडाडाँमा शुक्रबार प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समिति विस्तारसम्बन्धी प्रस्तावमा भ्रष्टाचारको अभियोग लागेका पूर्व लडाकूका कमान्डरहरुले समेत तीव्र असन्तुष्टि जनाएका छन् ।

विगत भृकुटीमण्डप विस्तारित बैठकमा छानविनको दायरामा परेका र राजीनामा दिएका १२ जना लडाकू कमान्डरलेसमेत आफूहरु नेतृत्वमा नपरेपछि शुक्रबारको बैठकमा जनसेनाको अपमान भएको भन्दै प्रचण्डको प्रस्तावविरुद्ध धम्कीपूर्ण आक्रोश पोखेका छन् ।

प्रचण्डको प्रस्तावमा असन्तुष्टी जनाउने र हस्ताक्षर अभियानसमेत चलाउने पूर्व डेपुटी कमान्डर जनार्दन शर्मा -प्रभाकर) लडाकूको १० करोड रकम जनमैत्री अस्पतालमा लगानी गर्ने क्रममा विवादमा मुछिएका व्यक्ति रहेको एमाओवादी नेताहरु बताउँछन् । त्यस्तै शक्तिखोर शिविरका डेपुटी कमान्डर धनबहादुर मास्की-राजेश) पनि लडाकूको गाँस काटेर करोडौं रकम हिनामिना गरेको आरोपसहित छानविनमा परेका व्यक्ति हुन् ।

मास्कीको संरक्षणमा प्रभाकरलगायतका अन्य डेपुटी कमान्डरहरु पनि लाग्दै आएका छन् । राजेशसँग शर्माको समेत व्यापार चल्ने गरेको माओवादी स्रोत बताउँछ । सरकारलाई शिबिर हस्तान्तरण गर्ने बेलामा सातौं डिभिजनमा रहेका महेन्द्रबहादुर शाही (प्रज्वल) पनि छानविनमा परेका व्यक्ति हुन् । त्यस्तै पुराना लडाकू सुकबहादुर रोका (शरद) पनि लडाकू भ्रष्टाचार प्रकरणमा छानविनमा तानिएका कमान्डर हुन् ।

गतवर्षको साउनमा भृकुटीमण्डपमा आयोजित सातौं विस्तारित बैठकमा भ्रष्ट लडाकू कमान्डरमाथि कारवाहीको आवाज उठेपछि १२ लडाकूले राजीनामा दिनु परेको थियो । त्यसरी राजीनामा दिनेहरुमा यमबहादुर अधिकारी, सुकबहादुर रोक्का, धनबहादुर मास्की, तेजबहादुर ओली, महेन्द्रबहादुर शाही र सन्तु दराईसमेत थिए । साथै ५ वटा शिविरका सहायक डिभिजन कमान्डरहरुले पनि राजीनामा दिएका थिए । यसरी कारवाहीमा तानिएका डिभिजन कमान्डरहरु समितिमा परे पनि उनीहरुले अझै माथ्लो स्थान मागेका छन् भने समितिमा नपरेका सहायक कमान्डरहरु अझ बढी रुष्ट देखिएका छन् ।

कारवाहीको डरले बैठकमा हंगामा

स्रोतका अनुसार शुक्रबारको बैठकमा प्रचण्डको प्रस्तावमा आपत्ति जनाउँदै बहिस्कारसम्मको धम्की दिने पूर्व लडाकूहरु कुनै न कुनै रुपमा आर्थिक विवादमा तानिएका छन् । उनीहरुको हिनामिनासम्बन्धी छानविनको जिम्मा महासचिव पोष्टबहादुर बोगटी नेतृत्वको टोलीले पाएको थियो । हेटौडा महाधिवेशनमा पनि लडाकूको भ्रष्टाचारसम्बन्धी उक्त प्रतिवेदन प्रस्तुत नगरी गुपचुप गरिएको थियो ।

पेरिसडाँडामा जारी बैठकमा उक्त प्रतिवेदनलाई समेत एजेन्डामा समावेश गरिए पनि त्यसबारे छलफल नगर्दै केन्द्रीय समितिको नाम प्रस्ताव गरिएपछि कारवाहीमा पर्नुपर्ने व्यक्तिहरुले ठूलो स्वर गर्ने मौका पाएको स्रंोतले अनलाइनखबरलाईर् बतायो । ‘कारवाही गर्नुपर्ने व्यक्तिले नै जनसेनाको अपमान भयो भन्दै पद नपाएको गुनासो गर्नु हास्यास्पद छ, उनीहरुलाई पद हैन, कारवाहीचाँहि गर्नुपर्छ ।’ एमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘लडाकूको नाम भँजाएर लडाकूकै दोहन गर्नेहरुले नै प्रचण्डको प्रस्तावको विरोध गर्नुको भित्री रहस्यचाँहि आफूहरुमाथि हुन लागेको कारवाहीबाट बच्नका लागि लगाइएको घुर्कीमात्रै हो ।’

इमान्दार र भ्रष्ट दुबैको एउटै स्वर

स्रोतका अनुसार शुक्रबारको बैठकमा प्रचण्डको प्रस्तावमाथि आपत्ति प्रकट गर्नेहरुमा आर्थिक अनियमिततामा मुछिएकाहरु मात्रै थिएनन् । प्रचण्डको गुटबन्दीको शिकार भएका र कुनै गुटमा नलागेका कारण पछि पारिएका केही इमान्दार नेताहरुले पनि प्रचण्डले ल्याएको प्रस्तावको विरोध गरेका थिए ।

पार्टीमा प्रचण्डको वरिपरि घुम्ने र गुटबन्दीमा सक्रिय हुनेलाई नेतृत्वमा ल्यइएको र सोझा इमान्दार एवं आलोचनात्मक विचार भएकालाई बढुवामा नपारिएको गुनासो अर्काथरि नेताहरुको छ ।

माथिबाटै अनियमितता भएको आरोप

लडाकू कमान्डर र सहायक कमान्डरहरुले आफूहरुमाथि मात्रै भ्रष्टाचारको कारवाही गर्न नहुने भन्दै अनियमितताको जालो सबै डेपुटी कमान्डर र पार्टी हेडक्वार्टरसम्मै पुगेको दाबी गर्दै आएकाले लडाकू भ्रष्टाचारको मुद्दा एमाओवादीमा जटिल बन्न पुगेको स्रोत बताउँछ । वर्षमान पुन, जनार्दन शर्मा, पासाङ, वलदेव र प्रचण्डचाँहि जोगिने र अन्य कमान्डरलाई मात्रै कारवाही गर्न नहुने उनीहरुको जिकिर छ । तर, कसैलाई पनि कारवाही नगर्दा राम्रो सन्देश नजाने भएकाले केही लडाकूलाई कारवाही गर्ने तयारीमा पार्टी हेडक्र्वाटर रहेको बुझिएको छ ।

त्यसो त लडाकूको रकममा मात्रै नभएर ठेक्कापट्टा, चन्दा र अन्य स्रोतबाट पनि नेताहरुले अनियमितता गरेको र उनीहरुमा माथिल्लो पदमा ल्याइएको गुनासो एमाओवादीका अनस्तुष्टहरुले गरेका छन् ।

गुटबन्दीको पुरानै रोग

प्रचण्डले प्रस्ताव गरेको केन्द्रीइ समितिमा स्थायी समितिमा आफ्ना गुटको स्पष्ट बहुमत बनाइएको छ । त्यसैगरी आफ्ना मान्छेलाई जुनियर भए पनि समितिमा ल्याइएको छ । भागवण्डाका आधारमा बाबुराम भट्टराई र नारायणकाजी गुटका केहीलाई स्थान दिइए पनि आलोचनात्मक चेत भएका र कुनै गुटमा नलागेकालई पाखा लगाइएको आरोप छ । प्रचण्डले आफ्नो परिवारलाई संरक्षण गर्ने परिवारवाद यो प्रस्तावमा राम्रैसित देखाएका छन् । सारा नेताहरु पदका लागि हानाथाप गरिरहेका आफ्नी छोरी रेणु दाहाललाई पनि केन्द्रीय सदस्यमा प्रस्ताव गरेर प्रचण्डले असन्तुष्टहरुका लागि आगोमा घिऊ हालेका छन् । ‘प्रचण्डले आफ्ना मान्छेलाई काखा र अरुलाई पाखा गरेर ल्याएको यो प्रस्ताव पारित हुँदैन, खारेज हुन्छ ।’- एक असन्तुष्ट नेताले अनलाइनखबरसँग भने ।

एमाले उभय लिङ्गी होइन : नेपाल

वीरगञ्ज- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललले मंसिरमा चुनाव हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। अन्तर्राष्ट्रिय समुदाय, दातृ निकाय र जनता चुनावको पक्षमा रहेकाले संविधान सभाको निर्वाचन समयमै हुने उनले दाबी गरे।

पार्टीमाथि लाग्ने गरेको आरोप सशक्त ढंगले खण्डन गर्न नेता नेपालले कार्यकर्तालाई अह्‍वान गरे। '२०६३ साउनमै नेकपा एमालेले संघीयताको पक्षमा जारी गरेको दस्तावेजको नक्कल गर्नेहरुले आफूलाई संघीयतावादी र एमालेलाई संघीयताविरोधी भन्ने गरेका छन्,' वीरगञ्ज रामगढवास्थित एमाले पर्सा पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'कार्यकतालाई पनि हो कि? जस्तो लाग्नु हुँदैन। हाम्रो पार्टीको धार नै छैन भन्छन्, उनीहरुले भनेजस्तो एमाले पार्टी उभय लिङ्गी होइन्, तपाईँहरु क्लियर हुनुस्।'

मंसिर ४ मा हुने भनिएको निर्वाचनको विरोधमा रहेका राजनीतिक दललाई 'लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाको चुनावमा सहभागी हुन' उनले आग्रह गरे। पूर्व प्रधानमन्त्री नेपालले आगामी संविधान सभामा सभासद् संख्या ६ सय १ बनाउनु हुँदैन भन्ने आफूहरुको अडान रहेको बताए।

एकीकृत माओवादी बन्दुकको धंगधंगीबाट मुक्त हुन नसकेको उनले टिप्पणी गरे। स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन दिएको बचन पूरा नगरेर एकीकृत माओवादी पार्टीले धोका दिएजस्तै पछिल्लो पटक प्रधानमन्त्री बनाउन भनेर सुशील कोइरालालाई धोका दिएको नेपालले आरोप लगाए।

पूर्व राजा ज्ञानेन्द्र शाहले मठ मन्दिरमा पूजा गर्दैमा राजतन्त्र फर्किँदैन भनि नेता नेपाले टिपपणी गरे। 'माइस्थानको दर्शन गर्दैमा राजतन्त्र फर्किन्छ भन्ने चिन्ता गर्नु हुँदैन्,' नेता नेपालले पूर्व राजातर्फ इंगित गर्दै भने, 'हामीलाई आपत्ति छैन्, तपाईँ पूजा गर्नुस्, साधु हुनुस्, जोगी हुनुस् वा ब्यपार गर्नुस्।' एमाले छोडेर गएकाहरु फर्किन चाहे पार्टी स्वागत गर्न तयार रहेको उनले बताए। कार्यकर्ता भेला लगत्तै नेता नेपालले पत्रकारसँग छलफल गरेका थिए।

सेक्स मनपराउने हिरोइन र निखिलको जुहारी

शुक्रबार नेपाली चलचित्र प्रदर्शनमा आउने प्रथालाई पछ्याउँदै आजबाट २ सिनेमा प्रदर्शनमा आएका छन् । शंकर आचार्यको निर्देशनमा राज आचार्यको प्रस्तुती रहेको चलचित्र ‘लभ फरेबर’ले देशभरका हल पाएको हो । सेक्स र प्रेमको कथालाई रोमाञ्चक तबरले प्रस्तुत गरिएको यो चलचित्रमा सुमिना घिमिरे, निरज बराल र गजित बिष्टको मुख्य भूमिका छ । चलचित्रमा नायिका घिमिरे ‘आइ लभ सेक्स’ भन्दै दर्शकमाँझ आएकी छिन् ।
यस्तै शुक्रबारबाट नै स्वर्गीय निर्देशक दिपक रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ स्टोरी २०६६’ पनि प्रदर्शनमा आएको छ । चलचित्रमा निखिल उप्रेती, अर्जुन कार्की, संचिता गुरुङको मुख्य भूमिका छ । चलचित्रमा नायिका पुजा लामाले एक गीतमा आइटम नृत्य पनि गरेकी छिन् । नायक निखिल उप्रेतीले पुन नेपाली सिनेमा नखेलेको खण्डमा यो चलचित्र नै अन्तिम हुने देखिएको छ ।

Dear Kalyan Mero Katha | June 27th 2013

हात्तीले राति सडक अवरुद्ध पार्‍यो

रौतहट - जंगली हात्ती गएराति पूर्व-पश्चिम राजमार्गमा बसेपछि आधा घण्टा सवारीसाधन अवरुद्ध भएको छ। हात्ती राजमार्गबको बीचमै बसेपछि दुवै तर्फबाट आउने सवारीसाधनहरु रोकिएर जाम भएको थियो। जंगलबाट आएको करिव एक दर्जन हात्तीको बथान लमहास्थित राजमार्गमा बसेको थियो।

हात्तीहरु राजमार्ग बसेपछि सवारीसाधनहरु केही बेर रोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक ध्रुवराज राउतले बताए । उनका अनुसार हात्ती राजमार्गमा बसेपछि दुवैतर्फ करिब ५० भन्दा बढी सवारीसाधन रोकिएका थिए।
हात्ती धपाउन जिल्ला वन कार्यालयले चार राउण्ड हवाई फायर गरेको थियो। हवाइ फायर गरेपछि हात्ती भागेका र राजमार्ग सुचारु भएको वन अधिकृत बाबुराम भण्डारीले जानकारी दिए। हात्ती घपाउनका लागि सुरक्षाकर्मी र यात्रुहरुले प्रयास गरेपनि हात्ती नभागेपछि बाध्य भएर हवाई फायर गर्नुपरेको उनले बताए।
केही दिनयता जिल्लाको उत्तरी क्षेत्रमा जंगली हात्तीको आतंक बढ्न थालेको स्थानीयवासीले बताएका छन्। स्थानीय रंगपुर, विश्रामपुर, बलेरी, भसेढवा, पोखरभिण्डा, हरिनगरलगायतका जंगल आसपासका गाउँमा हात्तीको आक्रमणको डरले स्थानीयबासीहरु रातभर जाग्रम बस्दै आएका छन्।

मंसिरमा चुनाव हुन्छ, हुन्छ : वरिष्ठ नेता नेपाल

वीरगन्ज (पर्सा) - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मङ्सिर ४ गते नै दोस्रो संविधानसभाको निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गरेका छन्। सो पार्टी पर्साद्वारा आज यहाँ आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले सरकारले घोषणा गरेको समयमा निर्वाचन सम्पन्न गर्न कुनै समस्या नै नभएको जानकारी दिए।

नेता नेपालले राजनीतिक दलहरूको सहयोग, सल्लाह र समर्थनमा नै सरकारले चुनावको तिथि घोषणा गरेका कारण अब चुनावको विकल्प पनि नभएको बताए।
केही राजनीतिक दलहरूले चुनावको विरोध गरे पनि उनीहरूले पनि अन्तसम्ममा चुनावमा भाग लिनुको विकल्प नभएको जिकिर गरे।
एक अर्को प्रश्नको सन्दर्भमा उनले नेपालमा राजतन्त्र अब इतिहासको पानामा सीमित भइसकेकाले राजतन्त्र फर्कने सम्भावना नभएको स्पष्ट पारे।

एकीकृत नेकपा (माओवादी) मा अझै पनि सत्ताकब्जाको सपना रहेको दाबी गर्दै एमालेले बहुमत ल्याएको खण्डमा मात्रै मुलुकमा जनताको चाहनाअनुसारको संविधान बन्ने उनको भनाइ छ।