Thursday, August 1, 2013

स्तनपान सप्ताह आजदेखि सुरु

काठमाडौं, १७ साउन । ‘शिशुलाई स्तनपान गराउनका लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार काठमाडौंका विभिन्न बालमैत्री अस्पतालहरुमा स्तनपानका महत्व दर्शाउने खालका फ्लेक्स प्रिन्ट प्रदर्शनी गरिरहेका छन् भने काठमाडौँ बाहिरका जिल्लामा मानिसको विशेष चहलपहल हुने हाटबजारलगायतका स्थानमा स्वास्थ्य चौकीमार्फत स्तनपानका बारेमा जनचेतनात्मक कार्यक्रम भइरहेका छन् ।
प्रत्येक वर्ष विश्वमा अगष्ट १ देखि स्तनपान सप्ताह मनाइने गरिन्छ । नेपालमा वार्षिक करिब सात लाख बालबालिका जन्मने गरेका छन् तीमध्ये ४५ प्रतिशतले मात्र जन्मेको एक घन्टाभित्र स्तनपान गर्न पाउँछन् ।
महाशाखाका प्रमुख डा. सेनेन्द्र उप्रेतीका अनुसार एक घन्टाभित्र बच्चालाई स्तनपान गराउने उद्देश्य भए पनि कतिपय स्थानमा बच्चा जन्मेपछि आउने बिघौती दूधलाई त्यत्तिकै दुहेर फ्याक्ने गरेका कारण ४५ प्रतिशत बालबालिकाले मात्र स्तनपान गर्न पाएका छन् ।
एक घन्टाभित्र आउने बिघौती दूधले बच्चामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ । नियमित स्तनपानका कारण आमालाई समेत स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ भने स्तनपानले जन्मान्तरसमेत गराउने चिकित्सक बताउँछन् ।
स्तनपान नगर्ने बालबालिकाको तुलना नियमित स्तनपान गर्ने बालबालिकालाई झाडापखाला, निमोनियाजस्ता सङ्क्रमण लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएको छ । छ महिनासम्म बालबालिकालाई आमाको दूधबाट अन्य आहार खुवाउनु नपर्ने भए पनि करिब ७० प्रतिशत महिलाले मात्र छ महिनासम्म स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment