सुर्खेत, १२ असार :
रातको करिब ९ बजेको थियो । चार/पाँच जना युवा वीरेन्द्रनगर–६ मङ्गलगढी नजिकै रहेको तृप्ति मेडिकल हलको अगाडि सडकपेटीमा भेटिएका थिए । हतास मानसिकता जस्तो देखिने उनीहरू केही पीडित भएजस्तो लाग्थ्यो । उनीहरूको अनुहारमा निरासाका धर्साहरू प्रष्टै देख्न सकिन्थ्यो ।
भारतको बद्रीनाथ, केदारनाथको बाढीबाट बचेर आएका उनीहरूले बल्लबल्ल बाँचेर यहाँ आएको बताए ।
अहिले पनि आतङ्कित जस्तो देखिने ती युवा भारतको केदारनाथमा आएको बाढीबाट बचेर आएका कालीकोटका सुरेन्द्र शाही, मानबहादुर शाही, गोगनबहादुर शाही, दोर्जे रोकाय, नन्दाराम शाही, वीरबहादुर शाही र रामबहादुर बिष्ट रहेका छन् ।
उनीहरू सबै सुर्खेत आएपछि मात्रै भेट भएका हुन् । केदारनाथमा आएको बाढीबाट बचेर उनीहरू सात दिनपछि आ–आफ्नै ढङ्गले सुर्खेत आइपुगेका हुन् ।
शरीरमा रहेका एकजोर कपडाबाहेक केही पनि नभएका उनीहरूले आफूहरूलाई बाँच्छौँ भन्ने विश्वास नलागेको बताए । आफ्नै आँखा अगाडि सयौँ मान्छे मरिरहेको देखेका उनीहरूले आफूसँगै गएका साथीभाइ र आफ्नै गाउँलेलाई पनि उतै गुमाएर आएका हुन् ।
‘हामीलाई बाँच्ने आशा थिएन’ कालीकोट मान्मा–८ ताडीका सुरेन्द्र शाहीले भने ‘सयौँ मान्छेहरू उर्लिएको भेलमा बगिरहेका थिए । बगरिहेका तिनै लासहरू नाघ्दै आयौँ ।’ ‘मृत नेपालीका हातमा भएका औँठीसमेत चोरहरूले लगे ।’ शाहीले आफूहरू जस्तै सयौँ नेपालीले उद्धारको लागि अनुरोध गर्दा भारतीय प्रहरीले नेपालीलाई पछाडि फाल्दै भारतीयलाई मात्रै हेलिकोप्टरमा हालेको दुःखेसो पोखेका छन्।
अर्का पीडित गोगन शाहीले आफूहरूसँगै रहेका ४०÷५० जना नेपालीको लासमाथि टेक्दै आएको भन्दै धेरै नेपालीले उद्धार नपाउँदा ज्यान गुमाउनु परेको बताएका छन् ।
बाढी आउँदाको क्षण सम्झिँदै उहाँले भने, ‘‘हामी काम गर्नका लागि वैशाख १३ गते घरबाट हिँडेर त्यहाँ १८ गते पुगेका थियौँ । असार २ गते बिहान ठूलो पानी परिरहेको थियो । म बिरामी भएकाले कोठामै सुतिरहेको थिएँ । अरू साथीहरू सबै काममा जान सुरु गरेका थिए । अरू सबै जङ्गलतिर भागेछन् । म आफू भएको घरबाट सकिनसकि अर्को घरमा हामफालेँ । एकै छिनमा सारा मान्छे बगे । बजार सबै बग्यो । मैले हेर्दाहेर्दै १२ जना नेपालीलाई एकैचोटी बाढीले लग्यो ।’’ हामीसँगै काम गर्ने गाउँकै घोरा सिंह पनि थिए । केदारनाथको एउटा मन्दिर र दुईवटा होटलबाहेक सबै बाढीले बगायो । त्यही मन्दिर र होटलमा भएका मान्छे मात्रै बाँचेका थिए ।’’
सुर्खेत आइपुगेका उनीहरूले आफूहरूसँग भएको एक÷दुई सय रुपैँया, मोबाइल, कपडा पनि त्यहाँका स्थानीय र प्रहरीले लुटेको गुनासो गरे । घर फर्कने क्रममा पैसा नहुँदा खानासमेत नखाएको उनीहरूको भनाइ छ ।
‘लुट्नेहरू कति त नेपाली नै थिए’ कालीकोटकै नन्दराम शाहीले भने। ‘कति नेपाली उद्धार नपाएर मरे, बाँचेकालाई त्यहाँका गुण्डाहरूले मारे, धन्न हामी बाँचेर आयौँ ।’ उनले बाटोमा त्यहाँका गुण्डाहरूले नेपालीलाई कुटेर रगताम्य बनाएको देखेपछि आफूहरू भागेर आएको कुरा पत्रकारहरुसँग बताएका छन् ।
सुर्खेत आइपुगेका उनीहरू पनि सामान्य घाइते भएका छन् । उनीहरू भाग्ने क्रममा घाइते भएका हुन् । असार ३ गते त्यहाँबाट हिँडेका उनीहरू पहिलो दिन सोनप्रयाग, दोस्रो दिन फाटा, तेस्रो दिन कर्णप्रयाग, चौँथोदिन हलदवानी, पाँचौ दिन महेन्द्रनगर हुँदै सातौं दिनमा सुर्खेत आइपुगेका हुन् ।
कोही महेन्द्रनगरबाट कोहलपुर भएर आएका हुन् भने कोही महेन्द्रनगरबाट एकै दिनमा सुर्खेत आइपुगेका हुन् ।
त्यहाँ तीर्थयात्रीलाई बोकेर मन्दिरसम्म पु¥याउने काम गर्ने धेरै नेपालीको मृत्यु भएको उनीहरूको भनाइ छ । अहिले त्यहाँ रहेका कतिपय नेपाली घर आइपुगे पनि अझ कतिपय बेपत्ता छन् ।
सुर्खेत आइपुगेका उनीहरूसँग घर जाने भाडासमेत नभएपछि सुर्खेतमा रहेका आफन्तको घरमा बस्न बाध्य भएका छन् ।
- See more at: http://www.khabarpati.com/2013/06/banner-news_26.html#sthash.P8aSO9Wr.dpuf
Wednesday, June 26, 2013
४ धामबाट बाँचेर आएका भन्छन् – ‘सयौँ मरेका थिए, हामी लासमा टेक्दै आयौँ’ -
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment