Wednesday, June 19, 2013

निर्वाचन तालिका सार्वजनिक

काठमाडौं - निर्वाचन आयोगले मंसिर ४ मा हुने दोस्रो संविधानसभा निर्वाचनका लागि ६ महिने कार्यतालिका सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंगलबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग भेटेलगत्तै बसेको आयोग पदाधिकारी बैठकले कार्यतालिका स्वीकृत गरेको हो।


सरकारले निर्वाचित मिति घोषणा गरेको साता नबित्दै आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। 'निर्वाचनका लागि असारदेखि मंसिरसम्मको कार्यतालिका स्वीकृत भएको छ,' प्रमुख निर्वाचन आयुक्त उप्रेतीले नागरिकसँग भने, 'मतदाता नामावलीबाट सुरु भएको काम मतगणनापछि सकिन्छ।' बृहत कार्ययोजना लागू गरिसकेको र विस्तारै सूक्ष्म योजना लागू गर्ने बताए।
तालिका अनुसार मतदाता नामावली संकलनको अन्तिम मिति असार मसान्तसम्म छ। असार मसान्तसम्म १८ वर्ष पुगेका नेपालीले मतदाता नामावलीमा नाम लेखाउनसक्ने आयोगले जनाएको छ। अहिलेसम्म झन्डै १ करोड २० लाख नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
आयोगमा दर्ता भएका दलउपर दाबी विरोध, छानबिन, अन्तिम नामावली तयारी र प्रकाशन हुने अवधि साउन पहिलो सातादेखि दोस्रो सातासम्म तोकिएको छ। अन्तिम सूचीमा परेका दलहरूले मात्रै चुनावमा भाग लिन पाउने प्रमुख आयुक्त उप्रेतीले जनाए। आयोगले यसअघि जेठ १५ गतेसम्म दल दर्ताको आह्वान गरेको थियो। एक सय ३९ दलले दर्ताको आवेदन दिएका छन्। ती दल दर्ताका लागि मतदाता नामावलीमा भएका १० हजार समर्थकको हस्ताक्षर प्रमाणीकरणको काम आयोगले गरिरहेको छ।
निर्वाचनमा भाग लिन दल दर्ताको मिति साउन दोस्रो सातासम्म तोकिएको छ। आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार यसअघिको दर्ता वैधानिकताका लागि भएकाले अन्तिम सूचीमा परेका दलहरूले निर्वाचनमा भाग लिन पुनः दर्ता गर्नुपर्नेछ।
आयोगले मतदाता शिक्षा सामग्री वितरण र सम्प्रेषणका लागि तीन महिना (साउन तेस्रो सातादेखि कात्तिक तेस्रो साता) छुट्याएको छ। यही अवधिमा मतदाता शिक्षा तालिमसमेत सन्चालन हुनेछन्।
साउन दोस्रो सातासम्म मतदान केन्द्र निर्धारण भइसक्ने आयोगले जनाएको छ। सरकारले बिहीबार गठन गरेको निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोगको सिफारिसअनुसारै मतदान केन्द्र निर्धारण हुने आयोग प्रवक्ता राईले बताए।
उनका अनुसार असारदेखि नै निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउनेछ। 'विभिन्न चरणमा आचारसंहिता कार्यान्वयन, तर्जुमा, अनुमोदन र अनुगमन गर्छौं,' उनले भने। एक साताअघि नै आयोगले दलहरूलाई जथाभावी चन्दा संकलन, गालीगलौजयुक्त भाषण र जथाभावी प्रचारप्रसारमा रोक लगाइसकेको छ।
निर्वाचन अधिकृत नियुक्ति, तालिम र कार्यालय स्थापना गर्न भदौ महिनाभरमा हुनेछ। आयोगले समानुपातिकतर्फ उम्मेदवारीसम्बन्धी निर्वाचन कार्यक्रम भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म सन्चालन गर्नेछ। यसै अवधिमा समानुपातिकतर्फ उम्मेदवारी दर्ता हुनेछ। यो ६ महिने कार्यतालिका भएकाले यसमा समयसीमा राखिएको आयोगले जनाएको छ। 'यो कार्यतालिका हो,' प्रमुख आयुक्त उप्रेतीले भने, 'पछि दिनै तोकेर पुनः कार्यतालिका सार्वजनिक गर्छौं।'
भदौ अन्तिमदेखि असोज दोस्रो सातासम्म प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुनेछ। असारदेखि कात्तिक मसान्तसम्मै आयोगले राजनीतिक दल, नागरिक समाज र सरोकारवालासँग अन्तर्त्रि्कया गर्ने प्रवक्ता राईले बताए। असार अन्तिमदेखि मंसिर मसान्तसम्म निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति, निर्देशिका तर्जुमा, अनुमोदन र व्यवस्थापन हुने तालिका छ। साउन पहिलो सातादेखि सञ्चारमाध्यमको अनुगमन सुरु हुनेछ। सञ्चारमाध्यमका लागि असारदेखि नै आचारसंहिता लागू गर्ने आयोगले जनाइसकेको छ। आचारसंहिता निर्वाचन सकिएको एक सातासम्म लागू हुनेछ।
भदौ पहिलो सातादेखि मंसिर दोस्रो हप्तासम्म संयुक्त निर्वाचन केन्द्र स्थापना हुनेछ। असार चौथो सातामा मिडिया सेन्टर स्थापना गरेर मंसिर मसान्तसम्म सन्चालन हुनेछ। मंसिर ४ गते निर्वाचन सम्पन्न भएपछि सोही दिनबाटै मतगणना परिणाम प्रशोधन र घोषणा हुने आयोगले जनाएको छ। 'यही कार्यतालिका अनुसार आयोगले काम अघि बढाउँछ,' प्रवक्ता राईले भने।
निर्वाचन कार्यतालिका
कार्य विवरण समय
मतदाता नाम दर्ता गर्ने अन्तिम समयसीमा असार मसान्तसम्म
दर्ता भएको नाममाथि दाबी विरोध, छानबिन, अन्तिम नामावली तयारी र प्रकाशन साउन पहिलो सातादेखि तेस्रो सातासम्म
राजनीतिक दल दर्ता (निर्वाचन प्रयोजनका लागि) को अन्तिम निर्णय साउन तेस्रो सातासम्म
मतदाता शिक्षा सामग्री वितरण तथा सम्प्रेषण साउन तेस्रो सातादेखि कात्तिक तेस्रो सातासम्म
मतदाता शिक्षा तालिम सञ्चालन साउन तेस्रो सातादेखि कात्तिक दोस्रो सातासम्म
मतदान केन्द्र निर्धारण साउन दोस्रो सातासम्म
आचारसंहिता तर्जुमा, अनुमोदन, कार्यान्वयन र अनुगमन मंसिर मसान्तसम्म
निर्वाचन अधिकृतको नियुक्ति, तालिम र कार्यालयको स्थापना भदौं पहिलो सातादेखि मसान्तसम्म
समानुपातिकतर्फ उम्मेदवारीसम्बन्धी निर्वाचन कार्यक्रम तयारी तथा सञ्चालन भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म
पहिलो हुने निर्वाचन हुने निर्वाचन कार्यक्रमको सञ्चालन भदौ चौथो सातादेखि असोज दोस्रो सातासम्म
राजनीतिक दल, नागरिक समाज, अन्य सरोकारवालासँग अन्तर्त्रि्कया असार चौथो सातादेखि कात्तिक तेस्रो सातासम्म
निर्वाचन परिवेक्षणसम्बन्धी नीति र निर्देशिका तर्जुमा, अनुमोदन, व्यवस्थापन र प्रतिवेदन असार चौथो सातादेखि मंसिर मसान्तसम्म
सञ्चारमाध्यममा अनुगमन साउन पहिलो सातादेखि मंसिर तेस्रो सातासम्म
संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना भदौ पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म
मिडिया सेन्टर विकास, व्यवस्थापन र सञ्चालन असार चौथो सातादेखि मंसिर मसान्तसम्म
मतदान मंसिर ४ गते
मतगणना, परिणाम प्रशोधन र घोषणा मंसिर ४ गतेबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment