Sunday, June 16, 2013

उजुरी दर्ता गर्न सात हजार घूस !

२ असार, काठमाण्डौं । ओमानबाट यौन शोषणमा परेर फर्किएकी महिलाले पीडक विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी गर्न सात हजार रुपैयाँ घूस दिनुपरेको छ । व्यूटिसियन कामका लागि ओमन पुगेकी नुवाकोटकी दीपा श्रेष्ठ (प्रहरीले दिएको नाम) को उजुरी दर्ता गर्न विभागका कर्मचारीले बिचौलियामार्फत घूस लिएको आरोप छ ।
उजुरी दिन विभागमा पुगेका श्रेष्ठकी छोरी सन्ध्या र भाइ सुमनले विभाग मुद्दा शाखाका अधिकृत बाबुरा पाण्डेले बिचौलिया मार्फत सात हजार रुपैयाँ लिएको आरोप लगाएका हुन् । उजुरी दर्ता गर्न तीन दिनसम्म विभाग धाउँदा पनि नभएको तर बिचौलियालाई रकम बुझाएपछि तुरुन्त दर्ता भएको आरोप उनीहरुले लगाएको अन्नपूर्ण पोष्टमा खबर छ ।
पीडितहरुका अनुसार दीपालाई ओमान पठाउने म्यानपावर कम्पनीका सञ्चालकमाथि कारबाहीको माग गर्दै दर्ता गर्न खोजेको उजुरी अधिकृत पाण्डेले दर्ता गर्न नमिल्ने भन्दै तीन दिनसम्म फर्काएका थिए । गत फागुन ९ गते सप्तकोसी ह्युमन रिसोर्समार्फत व्यूटिसियन कामका लागि ओमान पुगेकी दीपामाथि उक्त कम्पनीका अध्यक्ष सुजन भण्डारीले यौनशोषण गरेको आरोप पनि लगाइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment