Thursday, June 20, 2013

प्रचण्ड चढेको हेलिकप्टर हेर्नेको भिड

नेपालगन्ज, असार २ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ध्यान मधेस केन्द्रीत भएको बताउनुभएको छ ।
बाँकेको नरैनापुरमा एकीकृत नेकपा माओवादीद्वारा आइतबार आयोजित जनसभामा अध्यक्ष प्रचण्डले मधेसी जनताको मुक्ति चाहने एकमात्र पार्टी एकीकृत नेकपा माओवादी मात्रै रहेको ठोकुवा गर्नुभयो ।
मधेसवादी दलहरुलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो ‘मधेसका सामन्त र फटाहाहरु पहिलो संविधानसभा निर्वाचनमा मधेसमा केही हदसम्म सफल भएपनि अब त्यो अवस्था छैन ।’

मुलुकमा आमुल परिवर्तन चाहने र नचाहनेबीच लडाई रहेको बताउँदै अध्यक्ष प्रचण्डले परिवर्तन र उत्पिडनमा परेको वर्ग र क्षेत्रलाई हक अधिकार दिने सवालमा विरोधमा रहेका दलहरुबाट सचेत रहन आग्रह गर्नुभयो ।
हेलिकप्टर हेर्नेको भिड
माओवादी अध्यक्ष प्रचण्ड लगायतको टोली हेलिकप्टर मार्फत बाँकेका भएका कार्यक्रममा सहभागी भएको हो । प्रचण्ड नेपालगन्ज बिमानस्थलबाट हेलिकप्टरमा नरैनापुर पुगेपछि हेलिकप्टर वरिपरी स्थानीयबासिन्दा झुम्मिएका थिए ।
सीमा क्षेत्र भारतका समेत विभिन्न स्थानबाट नागरिकहरु हेलिकप्टर हेर्नकै लागि कार्यक्रमस्थलमा पुगेका थिए । हेलिकप्टर छेउ पुग्न चाहने स्थानीयलाई रोक्न प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो ।
अधिकांश महिला तथा युवायुवतीले पहिलोपटक नजिकबाट हेलिकप्टर देखेको बताएका थिए । यसअघि यो ठाउँमा २५ बर्षअघि तत्कालिन राजा वीरेन्द्र र रानी एश्वर्य हेलिकप्टरमार्फत पुगेको स्थानीयबासिन्दाले बताए ।
३ सय ५० जना एमाओवादीमा प्रवेश
यस्तै बाँकेको परस्पुरमा नव प्रवेशीहरुको स्वागतमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेस र नेकपा एमालेले मुलुक परिवर्तन गर्न नसक्ने बताउनुभयो ।
त्यस अवसरमा नेपाली काङ्ग्रेसका सन्तोष बर्मा लगायत नेकपा एमाले, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा लगायतका राजनीतिक पार्टीबाट करिब ३ सय ५० बढी एमाओवादीमा प्रवेश गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment