Saturday, June 15, 2013

वार्ता नभएपछि दुई कोरियाबीच दोषारोपण

एजेन्सी
सोल,
उत्तर तथा दक्षिण कोरियाबीचको द्विपक्षीय वार्ता हुन नसकेपछि बिहीबार एकले अर्कालाई दोषारोपण गरेका छन् । गत मंगलबार उत्तर कोरियाले छिमेकी दक्षिण कोरियासँग वार्ताका लागि प्रस्ताव राखेको थियो । दक्षिण कोरिया पनि उत्तर कोरियाको प्रस्ताव सहज स्वीकार गर्दै वार्तामा बस्न राजी भएको थियो ।
उत्तर कोरियाले आफ्नो वाचाअनुसार वार्तामा प्रतिनिधि नपठाएको भन्दै दक्षिणलाई दुविधा उत्पन्न गराएको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएका छन् । यसअघि दुवै टोलीका शीर्ष पदाधिकारीबीच बुधबार वार्ता हुने तय भएको थियो । तर, विनाकारण उत्तर कोरियाले वार्ता प्रतिनिधि पठाएन ।
यता, उत्तर कोरियाले दक्षिण कोरियाको घमण्डले गर्दा वार्ता हुन नसकेको आरोप लगाएको छ । सो वार्ताका लागि उत्तर कोरियाले एकजना मन्त्रीलाई वार्ताटोलीको सदस्यका रूपमा पठाउने निर्णय गरेको थियो । सोलका अनुसार मंगलबारसम्म उत्तरका प्रतिनिधि आइसक्नु पर्ने थियो । तर, दक्षिणले उपमन्त्रीको नेतृत्वमा मात्र वार्ताटोली पठाउन लागेको सूचना पाएपछि उत्तर कोरियाले आफूहरू वार्तामा नबस्ने निर्णय गरेको एजेन्सीले उल्लेख गरेका छन् ।
उपमन्त्रीसँग वार्तामा नबस्ने भन्दै उत्तरले दक्षिणलाई पनि मन्त्री नै नपठाउने भनेको थियो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने उपमन्त्रीस्तरीय वार्ता गर्न इच्छुक नभएको छिमेकीलाई जानकारी दिएको थियो । सो वार्ताका लागि उत्तर कोरियाबाट कुन स्तरको प्रतिनिधित्वमा वार्ताटोलीका रूपमा आउने भन्ने विषयमा दक्षिण कोरिया अन्योलमै थियो । अन्योलबीच नै दुवै देशले वार्ता स्थगित गरेको सूचना प्रकाशित गरे ।
यसैबीच एजेन्सीका अनुसार दुई मुलुकबीच गत आइतबार पहिलोपटक निम्न तहका अधिकारीबीच वार्ता भएको थियो । सोही वार्तापछि माथिल्लो स्तरको वार्ता बुधबार तोकिएको थियो ।
उत्तर कोरियाले स्टेटमेन्ट जारी गर्दै भन्यो, ‘हामी वार्तामा बस्न रुचाएनौँ, किनभने हाम्रो कूटनीतिक वरिष्ठता नै कायम हुन सकेन, उत्तरले दुई देशबीचको कूटनीतिक सम्बन्धमा यसले आफूहरूलाई कनिष्टता महसुस गराउने भन्दै वार्तामा नबस्ने निर्णय गरेको हो ।’
दक्षिणले राष्ट्रपतिको आसन्न राष्ट्रपतीय निर्वाचनमा सबै वरिष्ठ पदाधिकारी खटिरहेका कारण उपमन्त्री वार्तामा पठाउन लागेको जानकारी दिएको छ । ‘राष्ट्रपति निर्वाचनको नेतृत्वपछि मिलाउनु पर्ने भएकाले हामीले विशेष कारणवश उपमन्त्रीलाई सो वार्ताका लागि तोकेका हौँ ।’
दुई मुलुकबीच महिनौँसम्म तनाव तथा पारमाणविक युद्धको चेतावनीपछि वार्ताको सहमति भएको थियो । सोलमा रहेको ग्रान्ड हिल्टन होटलमा वार्ता हुने भनिएको थियो । यसअघि गत आइतबार मात्र कार्य समूहस्तरको वार्ता पानमुनजोमस्थित सीमा–सम्झौता गाउँमा भएको थियो । सन् १९५० देखि ५३ सम्म चलेको युद्ध अन्त्य गराउने सम्झौतामा हस्ताक्षर भएको एजेन्सीले जनाएका छन् ।
दुवै मुलुकबीच विगत लामो समयदेखि नै असहमति रहँदै आएको छ । एकीकरण मन्त्रालयका प्रवक्ता किम हयुङ सेओकले दुई प्रतिनिधिमण्डलबीचको पछिल्लो वार्ता शान्त वातावरणमा भएको बताए ।
दुई मुलुकबीच सन् २००७ पछि पहिलोपटक बैठक हुने भनिएको थियो । वार्तामा व्यापारिक सम्पर्क पुनस्र्थापना गर्ने मुख्य एजेन्डा थियो ।
गत महिना मात्र यी दुई मुलुकबीच तनाव बढेपछि उत्तर कोरियाले केन्द्र एकतर्फी रूपमा बन्द गरिदिएको थियो । त्यसपछि दक्षिणका कामदार पनि त्यहाँबाट हटेका थिए ।
बुधबारका लागि अगाडि सारिएको वार्ताको प्रयासलाई विश्वका विभिन्न मुलुकले स्वागत गरेका थिए । दुई कोरियाबीचको तनावले एसियामा शान्ति भंग हुने त्रास बढेको एजेन्सीले जनाएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment