Monday, June 17, 2013

एनआरएन अध्यक्षमा गुरुङले उम्मेदवारी दिने


लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोबरमा हुने छैठौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि बेलायत निवासी व्यवसायी तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष हितमान गुरुङले उम्मेदवारी दिने भएका छन्। गुरुङले शनिवार फानब्रोवमा पत्रकार सम्मेलन गरी नेतृत्वको दाबी गरेका हुन्।

एक साताअघि अष्ट्रेलिया निवासी शेष घलेले पनि एनआरएन अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका थिए।

गुरुङले आफ्नो लामो अनुभव र क्षमताको आधारमा नेतृत्व पाउनु पर्ने दाबी गरे। नेपालमा लगानी, दोहोरो नागरिकतालगायतका मुद्दालाई निर्ष्कषमा पुर्‍याउन आफ्नो उम्मेद्वारी रहने उनले बताए।

गुरुङले गैरआवासीय नेपाली संघको सञ्जाल निकै शक्तिशाली भएको भन्दै आगामी दिनमा विश्वभर छरिएका राष्ट्रिय समितिलाई अझ सशक्त बनाएर लैजाने योजना पत्रकार सम्मेलनमा सुनाए। 'एक दशक संस्थाको परिचय तथा विकासमा समर्पित भएकाले आगामी दिन संस्थागत विकास गर्दै गुणात्मक उपलब्धि हांसिल गर्नुपर्छ', उनले भने।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष कुल आचार्यले आगामी छैठौं विश्व सम्मेलनमा एनआरएन युके एक ढिक्का भएर जाने दाबी गरे। आउँदो विश्व सम्मेलनमा सशक्त रुपमा प्रस्तुत हुनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिए।

गुरुङ र घलेसँगै संघका संस्थापक तथा संरक्षक रामप्रताप थापा समेत अध्यक्ष पदका आकांक्षी रहेको चर्चा छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment