काठमाडौं - अमेरिकी डलरको मूल्य एकै दिन १ रुपैयाँ ७४ पैसाले बढेको छ। बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको मूल्य ९४ रुपैयाँ २५ पैसा तोके पनि बैंकहरुले ९६ रुपैयाँ माथि कारोबार गरेका छन्। डलरको मूल्य बढेर कारोबार भएपछि राष्ट्र बैंकले शुक्रबारका लागि ९५ रुपैयाँ ९९ पैसा तोकेको छ। अघिल्लो साता ९३ रुपैयाँ ७९ पैसा पुगेर क्रमशः घट्न थालेको डलर मूल्य तीन दिनयता फेरि बढ्न थालेको हो। गत वर्ष असार ९ गते डलरको मूल्य त्यस बेलासम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा कायम भएर क्रमिक रुपमा घट्दै गएको थियो।
पछिल्लो डेढ महिनायता भारतमा आयात व्यापारसँगै डलरको माग बढ्न थालेपछि पनि भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको नेपाली मुद्रा कमजोर हुन थालेको हो। बढी आयात हुने तेलमा भारतले डलरबाट भुक्तानी गर्नुपर्ने भएकाले उसको सञ्चिती मुद्रा पनि घट्दै गएको छ। यही बेला भारतीय सुरक्षा सामग्री खरिदका लागि डलरको माग बढ्दा भारु झन् कमजोर भएको हो।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर र बलियो हुँदा नेपाली रुपैयाँ पनि त्यस्तै हुन्छ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। गत आर्थिक वर्ष ३ सय ५९ अर्ब ५५ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो। राष्ट्र बैंकका अनुसार, चालु वर्षको चैतसम्म ३ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ। अहिलेको वृद्धिदर हेर्दा यो वर्ष रेमिट्यान्स ४ खर्बभन्दा बढी भित्रिने देखिन्छ।
डलरको भाउ बढ्दा निर्यात व्यापारलाई राहत मिल्छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुन्छ। हस्तकलालगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्रमा डलरको मूल्य बढ्दा आन्तरिक बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढ्छ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, लत्ताकपडालगायत सामान महँगो पर्छ। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्छ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
सबैभन्दा बढी असर पेट्रोलियम पदार्थको आयातमा पर्छ। कूल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भिœयाउन बढी डलर खर्चिनुपर्ने भएकाले भाउ बढ्न सक्छ। निगमले गत वर्ष ९२ अर्ब २५ करोड रुपैयाँ बराबरको पेट्रोलियम आयात गरेको थियो। चालु वर्षको फागुनसम्म ६८ अर्ब रुपैयाँको पेट्रोलियम आयात भएको छ।
0 comments:
Post a Comment