Sunday, June 23, 2013

संविधान सभाका लागि हाम्रो रगत बगेको छ : वैद्य

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभा निर्वाचनका लागि आफूहरुको रगत बगेको भन्दै निर्वाचन बहिस्कार गर्ने पक्षमा आफूहरु नभएको बताएका छन्। आन्दोलनरत ३३ दलीय मोर्चाले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष वैद्यले संविधान भाको पक्षमा आफूहरु भए पनि यथास्थितिमा भने निर्वाचनमा सहभागी नहुने स्पस्ट पारे।

“गत चैत १ गतेको सहमति खारेज गरी दलहरुकै बीचबाट नयाँ सरकार गठन गर्नुपर्छ र संविधानका अन्तरवस्तुमा सहमति कायम गरी संविधान सभाको निर्वाचन गर्नुपर्छ”–उनले भने, “यो सरकार गठन गर्न सहमति दिने चार शक्तिकै नेताहरु यो गल्ती गरियो, बाध्यतामा परियो भन्दै हुनुहुन्छ, हामी उहाँहरुको बाध्यतामा सहिछाप गर्ने पक्षमा छैनौं।”

उनले विगतको जनयुद्धमा सहभागी एक पक्ष आफ्नो पार्टीलाई बेवास्ता गरेर अर्को पक्ष एमाओवादीलाई मात्रै स्थान दिएर देशमा द्वन्द्व समाधान हुन नसक्ने स्पष्ट पारे। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकार गठन प्रक्रिया र निर्वाचन घोषणा प्रक्रियाप्रति असन्तुष्ट दलहरुको माग सुनुवाइ नगरी यथास्थितिमा संविधान सभाको निर्वाचन हुन नसक्ने बताए।
उनले संविधान सभाको निर्वाचन संसद्को निर्वाचनजस्तो नभएको भन्दै सबै दललाई निर्वाचनमा सहभागी गराउन सबै पक्ष लचकताका साथ आउनुपर्ने धारणा राखे। उनले भने, “आन्दोलनरत दलहरुले एउटै व्यक्ति न्यायालय र कार्यपालिकाको प्रमुख हुनहुन्न भनिरहनुभएको छ, त्यो माग राख्नु निर्वाचनका लागि अर्घेल्याइ होइन।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले अहिलेको सङ्कट समाधानका लागि निर्वाचन नै एकमात्र विकल्प भएको बताउँदै आन्दोलनरत दलहरु पनि निर्वाचनमा आउनुको विकल्प नरहेकामा जोड दिए।
मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय यादवले चैत १ गतेको सहमति खारेज गरी सर्वपक्षीय राजनीतिक सम्मेलन कायम गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा राखे। सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष विजय सुब्बाले चैत १ गतेको २५ बुँदे बाधा अड्काउ फुकाउ खारेज नभएसम्म निर्वाचनको रटान लगाउनुको अर्थ नभएको टिप्पणी गरे।
राजनीतिशास्त्री प्रा कृष्ण खनाल र डा सुरेन्द्र केसीले विगतको संविधानसभाले किन संविधान लेख्न सकेन भन्ने कुराको मूल्याङ्कन गरेर त्यसलाई सच्याए मात्रै अब बन्ने संविधान सभाबाट संविधान लेख्‍न सकिने विचार व्यक्त गरे।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment