Tuesday, June 18, 2013

दार्चुलाका बाढीपीडितको प्रश्न- राहत कहिले पाइन्छ सिडियो सा’प ?

४ असार, दार्चुला । जिल्ला प्रशासनले राहत उपलब्ध गराउन पहल नगरेको भन्दै दार्चुलाका बाढीपिडीतले आपत्ती जनाएका छन् । महाकालीमा आएको बाढीले घर गुमाएका खलंगाबासीले प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीसँग आफूहरु भोकै परेको गुनासो गरेका छन् । महाकालीको पुलसमेत बाढीको चपेटामा परेपछि खलंगाबासीले खानेकुरा किनेर खानसमेत नपाउने अवस्था आएको छ ।

बाढीका कारण विस्थापित परिवारले सोमबारदेखि भोकै बस्नु परेको गुनासो गर्दै घर गुमाएका रिङनतालका मनवीर दमाईले भन्नुभयो-’सरकारले न त भारतलाई बाँध नखोल्न दबाब दिन सक्यो, न हामीलाई अहिलेसम्म राहत नै । सोमबारदेखि हामी भोकै बस्नुपरिरहेको छ ।’ बाढीका कारण करिब ५ सय परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई खान र बस्न समस्या भएको छ । रिङनतालमाबाट विस्थापित हुन पुगेका दर्जनौं दलित परिवार सबै भन्दा बढी मारमा परेका छन् ।
आइतबार रातिदेखि महाकाली नदीमा पानीको बहाव बढेपछि उनीहरुलाई नेपाली सेना र प्रहरीले उद्दार गरी खलंगाकै एक विद्यालयमा पुर्नस्थापना गरेर राखेको छ ।नेपाल भारत जोड्ने पुलमा समेत बाढीले क्षति पुर्‍याएकाले दैनिक उपभोग्य वस्तु किन्न नपाएर भोकै बस्नु परेको पीडितहरुले बताएका छन् । खलंगाका स्थानीयहरु दैनिक उपभोग्य वस्तु किन्न भारतीय बजार धारचुला जाने गर्छन् ।सोमबार राति बाढी बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षित स्थानतर्फ पुर्नस्थापना गरिएका खलंगा-४ का दर्जनौं परिवार नदीमा पानीको सतह घट्दै गएपछि सुरक्षित ठाउँमा सरेका छन् ।
सरकारी र निजी गरी ७८ घरमा क्षति
आइतबारदेखि आएको महाकालीको बाढीले अहिलेसम्म जिल्ला सदरमुकाम खलंगामा ११ वटा सरकारी र ६७ वटा व्यक्तिगत घर गरी ७८ वटा घर बाढीले बगाएको स्थानीय प्रशासनले जानकारी दिएको छ । जसमध्ये १७ वटा रिङनतालमा रहेका सुकम्बासीका घर टहरा बाढीले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीले बाङाबगड क्षेत्रमा रहेका र गल्फै क्षेत्रमा रहेका घरहरुमा बढी क्षति पुर्‍याएको छ ।
मंगलबार नदीमा पानीको बहाव घटे पनि जमिन भासिने क्रम जारी रहँदा जिल्ला प्रहरी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय र दूर सञ्चार प्राधिकरणको कार्यालय अझै उच्चजोखिममै रहेको छ । ती कार्यालयका सामान अन्यत्रै सारिसकेको अवस्था छ भने यतिबेला गल्फै क्षेत्रका पिडीतहरुको उद्दार कार्यमा सेना र प्रहरी सक्रिय बनेको छ ।सोमबार राति भारतीय पक्षले बाँध पूरै खोल्दा राति गल्फै क्षेत्रका दर्जनौं घरहरु बगाएको स्थानीयको अनुमान छ ।
जिल्ला दैवी प्रकोपको बैठक
मंगलबार जिल्ला दैवी प्रकोप समितिको बैठकबाट बाहिर निस्कनासाथ पिडीतहरुले राहतका लागि तत्काल पहल गर्न प्रजिअसँग जोडदार माग गरेका छन् । प्रजिअ अधिकारीले राहतका लागि सरकारसंग पहल गरिसकेको जानकारी दिँदै मौसममा सुधार भए मंगलबार नै राहत सामग्री लिएर सेनाको हेलिकप्टर काठमाण्डौबाट आउने जानकारी दिनुभएको छ ।दैवी प्रकोप समितिको बैठकले पिडीतहरुको उद्दारका लागि तीनवटा टोली बनाएर बाढी प्रभावित क्षेत्रतर्फ परिचालन गर्ने निर्णय गरेको छ । बाढीबाट बढी प्रभावित भएको क्षेत्र बाङाबगड, गल्फै र नमस्कारमा टोली परिचालन गर्न लागिएको हो ।
महाकालीमा कसरी आयो बाढी ?
शनिबार बिहान आकाशमा हल्का बादल देखिएको भए पनि दिउँसोदेखि मुसलधारे पानी पर्न थालेको थियो । यो क्रम आइतबार बिहानसम्म जारी रहँदा जनजीवन कष्टकर बन्दै गएको हो । आइतबार साझँतिर महाकाली नदीमा बाढीको सतहमा कुनै परिवर्तन देखिएको थिएन । तर, राति ३ बजेतिर एक्कासी बाढी आएको थाहा पाएपछि स्थानीय प्रशासनले बाङाबगडको रिङनतालमा रहेका सुकम्बासी बस्ती सार्न सेना परिचालन गरेको थियो । नदीमा पानीको सतह बढ्दै जाँदा सेनाले पनि सो वस्तीका सरसामानहरु जोगाउन सकेन, जसकारण सुकुम्बासी टोल सबै महाकालीको बाढीमा मिसियो ।
हिमपहिरोका कारण बाढी आएको भारतीयको भनाइ
भारतीय सुरक्षा अधिकारीले जानकारी दिएअनुसार भारतको उत्तरपट्टकिो हिमश्रृङलामा भारी हिमपात हुँदा हिम पहिरो गएर महाकालीमा बाढी आएको हो । सुरक्षा अधिकारीका अनुसार विगत एक सातादेखि भारतको उत्तराखण्ड क्षेत्रमा भारी वर्षा तथा हिमपात भएका कारण धौलीगंगा जलविद्युतको बाँधमा पानी भरिन गई फुट्ने डरले बाँध खोलिदिँदा नदीमा पानीको बहाव बढेको हो । भारतीय अधिकारीहरुले जनाएअनुसार भारत सरकारले उत्तराखण्डलाई हाई अलर्टमा राखेको छ ।
राजमार्ग भत्किँदा आवत-जावतमा थप समस्या
महाकाली नदीमा आएको भिषण बाढीका कारण जिल्ला सदरमुकाम जोड्ने महाकाली राजमार्गको विभिन्न खण्डमा सडक भत्किएपछि आवत-जावतमा समेत समस्या उत्पन्न भएको छ । बाढीले खलंगा गाविसको नमस्कार भन्ने ठाउँमा १० मिटर जति सडक भत्काएको छ भने धाप गाविस र दत्तु गाविसको सिमानामा पर्ने साकार भन्ने ठाउँमा पनि बाढीले सडकमा क्षति पुर्‍याएको छ । सडक अवरुद्द हुँदा खलंगाबाट जिल्लाको लेकम क्षेत्रमा आवत-जावत गर्न समस्या भएको छ । बाढीले जिल्ला सदरमुकाम खलंगा बगाउन थालेपछि लेकम क्षेत्रबाट यहाँ आई बसोबास गर्दै आएका सर्वसाधारण खलंगाबाट अति विकटमा पर्ने धौलीगाड डाँडाको बाटो हुँदै गन्तब्यतिर गइरहेका छन् ।
सेनाले हेलीकोप्टर र प्लेनमा राहत ओसार्ने
यसैवीच दार्चुला लगायत पश्चिम नेपालमा बाढी र पहिरोमा परी पीडित बनेका परिवारका लागि राहत उपलब्ध गराउन नेपाली सेनाले सक्रियता देखाएको छ । राहत सामाग्री ओसार्नका लागि सेनाको हेलीकोप्टर प्रयोग गरिएको नेपाली सेनाले जनाएको छ । साथै थप राहत सामाग्री विमानमा दिपायलसम्म लगिने र त्यहाँबाट हेलिकोप्टरले ओसार्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।
पीडितलाई राहत दिन काँग्रेसको माग
नेपाली काँग्रेसले महाकाली नदीमा आएको बाढीका कारण दार्चुलामा विस्थापित भएकाहरुलाई राहत वितरण गर्न सरकारसंग माग गरेको छ । साथै उसले बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसका मुख्य सचिव चिनकाजी श्रेष्ठले मंगलवार एक विज्ञप्ति जारी गरी सुदुरपश्चिमका अन्य जिल्लाहरु कञ्चनपुर, डडेल्धुरा र बैतडी पनि महाकालीको बाढीबाट प्रभावित भएको भन्दै पीडितहरुलाई ततकाल राहत वितरण गर्न तथा विचल्लिमा परेकाहरुलाई उचित बसोबासको व्यवस्था गरिदिन सरकारसंग माग गरेको हो । यस्तै काँग््रेसले बाढीमा परि हराइरहेकाहरुको तदारुकताका साथ खोजी गर्न र अविलम्व उद्धार कार्य शुरु गर्न, विस्थापित हुन पुगेका पीडित परिवारहरुको खाने र बस्ने प्रबन्ध गर्न, घाइतेहरुको उपचारको प्रबन्ध गर्न, मृतक परिवारलाई उचित राहत दिन सरकारसँग माग समेत गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment