काठमाडौं, १ असार
चार दलबीच भएको सहमतिअनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएपछि मधेसी दलभित्रै विवाद उत्पन्न भएको छ ।
चार दलका नेताहरू पालैपालो समितिको संयोजक हुने सहमतिअनुसार गच्छदार शनिबारबाट उच्चस्तरीय समितिको संयोजक भएका छन् ।
समितिमा मधेसी मोर्चाका तर्फबाट सदस्य भएका गच्छदार र तमलोपा अध्यक्ष महन्थ ठाकुरमध्ये वरिष्ठताका हिसाबले ठाकुर नै समिति संयोजक हुनुपर्ने माग तमलोपाका नेताहरूको छ । ठाकुर स्वयंले पनि आफू समितिको संयोजक नभएकोमा चित्त दुखाएको बताइएको छ । स्रोतका अनुसार पार्टीका आन्तरिक छलफलमा उनले गच्छदार समितिको संयोजक भएकोमा असन्तुष्टि पोखेका छन् ।
राजनीतिमा गरेको लगानी र उमेरका हिसाबले पनि ठाकुर समितिको संयोजक हुनुपर्ने धारणा तमलोपाका नेताहरूको छ । यसैगरी, संविधानसभा विघटन भइसकेको स्थितिमा तमलोपा र लोकतान्त्रिक फोरमको पार्टीगत हैसियत एकनास हुने भएकाले वरिष्ठताको हिसाबबाट गच्छदारले ठाकुरलाई संयोजकमा छाडिदिनुपर्ने तर्क तमलोपाका नेताहरूको छ ।
तमलोापका नेता जितेन्द्र सोनालले वरिष्ठताका हिसाबले ठाकुर उच्चस्तरीय समितिको संयोजक हुनुपर्ने बताए । तर, यस विषयमा आफूहरू विवाद गर्ने पक्षमा नभएको पनि उनको भनाइ छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गच्छदारलाई समितिको संयोजक हुन मधेसी मोर्चासँग आबद्ध मधेसी दलले म्यान्डेट नदिएको बताए । ‘उहाँ (गच्छदार)लाई मोर्चाको तर्फबाट विज्ञप्तिमा हस्ताक्षर गर्न पठाएका हौँ, तर मोर्चाका तर्फबाट संयोजक बनाउन पठाएका होइनौँ,’ महतोले भने, ‘तर, उहाँले पनि आफूलाई मोर्चाको संयोजक भन्नुभयो र उच्चस्तरीय राजनीतिक समितिमा पनि जानुभयो ।’
मधेसी मोर्चामा लोकतान्त्रिक फोरम, गणतान्त्रिक फोरम, तमलोपा, तमलोपा नेपाल र सद्भावना पार्टी रहेका छन् ।
एउटै मोर्चा बनाउने ठाकुरको प्रयास असफल
मधेसी दलको एउटै मोर्चा बनाउने तमलोपा अध्यक्ष महन्थ ठाकुरको प्रयास असफल हुने स्थिति देखिएको छ । सोही उद्देश्यका लागि ठाकुरले केही समयअघि मधेसी दलका नेतालाई एकै ठाउँमा भेला गराएर चियापान कार्यक्रमसमेत राखेका थिए ।
ठूला मधेसी दल फोरम लोकतान्त्रिक र सद्भावना पार्टी नयाँ मोर्चामा आबद्ध हुन अनिच्छुक देखिएपछि ठाकुरको पहलले मूर्त रूप नलिने देखिएको हो । ठाकुर नेतृत्वको मोर्चामा सहभागी हुन संघीय सद्भावना अध्यक्ष अनिल झा, सद्भावना आनन्दीदेवीकी अध्यक्ष सरिता गिरी, खुसीलाल मण्डल नेतृत्वको सद्भावना मात्र इच्छुक देखिएका थिए । यसअघि ठाकुरको नेतृत्वमा मधेसी दलको एउटै मोर्चा हुनुपर्छ भन्दै आएका तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्तासमेत नयाँ मोर्चामा जान तयार देखिएनन्् । मधेसी दलको बृहत् मोर्चा बन्ने स्थितिमा मात्र उनी ठाकुरको नेतृत्वमा आबद्ध हुन तयार रहेको बताइएको छ । अहिले विभिन्न मधेसी दल अलग–अलग मोर्चामा आबद्ध छन् ।
गुप्ता अहिले शरत्सिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीसँग मिल्ने तयारीमा छन् । ठाकुरको चियापानमा सहभागी भएका महेश यादवलगायतका नेताहरूले त संघीय सद्भावना पार्टी नै छाडेका छन् । यसैगरी चियापानपछि ओमप्रकाश यादव गुल्जारी गुप्ताको तराई मधेस राष्ट्रिय अभियान छाडेर सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
ठाकुर अध्यक्ष रहेको तमलोपा यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी भएको लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध थियो । सोही वेलादेखि नै ठाकुरले आफ्नो नेतृत्वमा छुट्टै मोर्चा बनाउने प्रयास सुरु गरेका थिए । तमलोपाले मधेसी दलसँग वार्ता गर्न पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमा एउटा वार्ता समितिसमेत गठन गरेको थियो । समितिले मधेसी दलसँग तीन चरणमा वार्तासमेत गरेको थियो ।
ठाकुर अझै पनि लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी हुने गर्छन् । तर, मधेसी मोर्चाको बैठक चार महिनादेखि बस्न सकेको छैन भने मोर्चामा सहभागी दलहरूले नै यसको औचित्य समाप्त भइसकेको बताउने गरेका छन् ।
Sunday, June 16, 2013
गच्छदार संयोजक भएकोमा मधेसी मोर्चामा विवाद
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment