बेलो होरिजेन्टे – कमजोर टहिटीलाई हराउँदै अन्तरमहादेशीय कपको सुरुआत गर्ने नाइजेरियाको अभियान ढिलोमात्र ब्राजिल आइपुग्दा धरापमा परेको छ। सोमबार टहिटीसँग खेल्ने तयारीमा रहेको अफ्रिकी च्याम्पियन नाइजेरिया खेल सुरु हुनुभन्दा ३६ घन्टाअघि मात्र ब्राजिल पुगेको थियो।
अन्तरमहादेशीय कपका लागि ब्राजिल पुग्ने पहिलो टोली टहिटी थियो। समूह 'बी' मा नाइजेरियाको सामना गर्नुभन्दा १० दिनअघि जुन ७ मा ब्राजिल आइपुगेको थियो। नाइजेरिया भने आइतबार बिहान ४ बजे मात्र यहाँ आइपुगेको हो। जसले स्टेफन केशीको टोलीलाई जेट ल्यागबाट मुक्त हुदै खेलका लागि तयार हुन पर्याप्त समय दिएको छैन।
खेलाडीलाई बोनस दिन विषयमा बिवाद हुँदा नाइजेरियाको तयारी राम्रो हुन सकेको थिएन। खेलमन्त्री मालाम बोलाजी अब्दुल्लाहीले टोली र नाइजेरिया फुटबल महासंघ (एनएफएफ) बीच सहमति गराएपछि मात्र तयारी सुचारु भएको थियो। १७ खेलसम्म अपराजित नाइजेरियाले तयारीका तमाम कमजोरीका बावजुद फिफा वरियताको १ सय ३८ औं स्थानमा रहेको विपक्षीविरुद्ध जितबाट अन्तरमहादेशीय कप सुरु गर्ने अपेक्षा गरेको छ।
२ लाख ७० हजार मात्र जनशंख्या भएको टहिटीसँग यसअघि कुनै ठूलो प्रतियोगिता खेलेको अनुभव छैन। तयारी क्रममा खेलेका अभ्यास क्रममा टोली चिलीको यु–२० टोलीसँग ७–० ले पराजित भएको थियो भने ब्राजिली दोस्रो श्रेणीको टोली मिनेइरोसँग १–० ले हारेको थियो। टहिटीका स्ट्राइकर स्टेभी चोङ हुले अन्तरमहादेशीय कप आफ्नो टोलीका लागि उच्च स्तरमा अनुभव बटुल्न महत्वपूर्ण हुने बताए। 'एउटा एमेच्योर खेलाडीका लागि विश्वका उत्कृष्ट खेलाडीहरुसँग खेल्ने यो राम्रो अवसर हुनेछ,' उनले भने, 'तथापि हामी कुनै खेलमा आत्मसमर्पण गर्ने छैनौं। हरेक खेलमा पूरा मेहनत लगाउनेछौं।'
नाइजेरियाका रक्षक इफे एम्ब्रोस भने दुई टोलीबीच ठूलो अन्तर भएपनि त्यतिकै ठूलो अन्तर्राष्ट्रिय निराशा भोग्नु पर्न सक्ने जोखिम रहेकोमा आफूहरु सचेत हुनुपर्ने बताए। 'हामीले खेललाई हल्का रुपमा लिनु हुदैन,' सेल्टिकका रक्षकले भने, 'यस्ता प्रतियोगितामा विगतमा पनि ठूला स्तव्धतापूर्ण नतिजा निस्केका छन्। हामी त्यस्तै नतिजाको सिकार बन्नु हुदैन।'
ओसियाना नेशन्स कप विजेता बन्दै अन्तरमहादेशीय कपलाई छानिएको टहिटी १९५० को विश्वकपमा अमेरिकाले इङ्ल्यान्डलाई १–० ले स्तव्ध पारेकै स्टेडियो मिनेइराओ मैदानमा सोमबार नाइजेरियासँग खेल्न पाउने भएकाले ६३ वर्षअघिकै नतिजालाई निरन्तरता दिने आशामा छ।
Monday, June 17, 2013
कमजोर प्रतिद्वन्द्वीसँग नाइजेरिया दबावमा
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment