Monday, June 17, 2013

सेती र महाकालीको बाढीले सुदूरपश्चिमको जनजीवन कष्टकर


धनगढी - दुई दिनदेखिको लगातार वर्षासँगै आएको बाढी र पहिरोका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण विभिन्न क्षेत्र डुवानमा परेका छन। हवाइसेवा समेत प्रभावित भएको छ। दर्जनौं घरपरिवार विस्थापित भएका छन्।


महाकाली र सेती नदीमा पानीको सतह अत्यधिक बढेका कारण बाढी आएर दार्चुला सदरमुकाम खलंगा र बझाङको सदरमुकाम चैनपुर उच्च जोखिममा छ।
महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलंगाका पाँच दर्जन घर, आधा दर्जन बढी सरकारी कार्यालय तथा पसल बगाएको छ। सेती नदीमा आएको बाढीले बझाङमा तीन घर बगाएको प्रहरीले बताएको छ।
दार्चुला सदरमुकाम खलंगाको वडा नम्बर ५ को बाँगाबगड तथा रिँगनेतालका दुई दर्जन घर तथा पसल, खलंगा २ गल्फैका १० घर तथा पसल, तितरसैनस्थित स्रोत केन्द्र भवन खलंगाका साथै दार्चुला—तिंकर सडकको बङाबगड खण्ड बगाएको छ। यसैगरी खलंगा वडा नम्बर २ गल्फैको बस्तीमा महाकाली नदी पसेर कटान गरिहेको प्रहरी कार्यालयले जनाएको छ।
महकाली नदीको वहाव अत्यधिक तीव्र तथा पानीको सतहमा वृद्विका कारण खलंगाको बाँगाबगड, रिँगनेताल, तिंकरखेडा, गल्फै, खेट्याबगडका साथै धाप, लाली, दत्तु र उकुका सयौ घर उच्च जोखिममा परेका छन्। अझै कटान जारी रहेकाले परिवार विस्थापित हुने क्रम जारी रहेको स्थानीय वासिन्दाले बताएका छन।
आइतबार साँझदेखि नै नदीमा बाढी आएपछि नदी आसपासका घरहरु खाली गरिएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएका छन।
स्थानीयका अनुसार भारतीय पक्षले एकतर्फी रुपमा तटबन्ध निर्माण गरेकाले नदीको बहाव नेपालतर्फ आएको हो।
बाढीले जिल्ला अस्पतालको शव राख्ने घर तथा जनस्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, अगुवा स्रोत केन्द्र, जिल्ला खेलकूद विकास कार्यालय र खलंगाको खुला मञ्च बगाएको छ। भने जिल्ला प्रहरी कार्यालय र दुरसंचार कार्यालय परिसरको केही बगाएको र अझै कटान भइरहेको दार्चुला प्रहरी नायव उपरीक्षक कुँवेर कडायतले बताए।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सोमबार साझसम्म ५३ वटा घर तथा पसल बगाएको छ। अझै पानी परिहेकोले क्षतिको विवरण आउने क्रम जारी रहेको छ। हालसम्म के कति क्षति पुगेको छ भन्ने एकीन हुन सकेको छैन।
यसैगरि बह्मदेव गाविसको कालागाड लघुजलविद्युत आयोजनाको पावर हाउस समेत बगाएको छ। महाकाली नदीको जलस्तर नेपाल–भारत जोड्ने झोलुंगे पुलसम्म पुगेकोले पुल समेत जोखिममा परेको छ भने आवतजावत बन्द गरिएको स्थानीयले बताए।
पानी पर्न नरोकिएकाले भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाँधस्थलमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेको छ। बाँध फुट्ने खतरा बढेपछि भारतीय पक्षले बाँध खोलेको छ। बाढीले भारततर्फ भने त्यति ठूलो क्षति गरेको छैन। भारतले तटबन्ध निर्माण गरेकाले नदीको धार नेपालतिर फर्किएको हो। भारतले बाँध खोल्दा दार्चुला सदरमुकाममा बढी क्षति भएको प्रहरीले जनाएको छ।
विस्थापित घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने क्रम जारी रहेको प्रहरीको भनाई छ। आइतबार रातिदेखि नै नेपाली सेना र प्रहरी उद्धार कार्यमा खटिएका छन्। साझ परेपछि नदीको जलस्तर बढ्दै जाँदा नदी आसपासका बासिन्दा घर छोडेर अन्यन्त्र गएका छन्। बाढीले करोडौँको मालसमान बगाएको छ भने सदरमुकाम ठप्प रहेको छ।
यसैगरी वर्षाका कारण सेती नदी र बाहुलीगाडमा बाढी आउँदा बझाङ सदरमुकाम चैनपुर उच्च जोखिममा रहेको छ। भने सेती नदी र बाहुलीगाडले ठूलो मात्रामा खेती योग्य जमिन कटान गरेको छ।
सेती नदीले कोटदेबल गाविसको जिन्नाडा भन्ने ठाउँमा तीन घर बगाएको बझाङका सीडिओ उद्धव मिमिल्सेनाले बताए। उनले समयमै उद्धार गरिएकोले कुनै मानवीय क्षति हुन नपाएको तर घर भने बगाएको बताए।
सेती नदी र बाहुलीगाडको बीचमा रहेको सदरमुकाम चैनपुर यी दुईटै नदीमा अत्यधिक पानीको बहाव बढेपछि चैनपुरबासी त्रसित छन।
सम्भावित घटनालाई ध्यानमा राखी उच्च सर्तकर्ता अपनाइएको सिडिओ तिमिल्सेनाले बताए। वर्षा नरोकिएकोले क्षति विवरण एकीन हुन नसकेको उनले बताए।
वर्षाकै कारण खोड्पे–बझाङ सडकखण्डको विभिन्न ठाउँमा पहिरो आउदा जिल्ला यातायात सेवा अबरुद्ध भएको छ।
कैलाली पनि वर्षाले नराम्ररी प्रभावित भएको छ। वर्षाका कारण कैलालीको धनगढी, टीकापुर, भजनी, खैलाड, धनसिंपुर लगायत दर्जनौं क्षेत्र डुबानमा परेको प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी नगर क्षेत्र पनि डुवानमा परको छ।
सोमबार रातिसम्म त्यस्तो कुनै अप्रिय घटना नभए पनि डुबानका कारण सयौं घरपरिवार प्रभावित हुन पुगेको कैलाली प्रहरी प्रबक्ता डिएसपि ऋषिराम कँडेलले बताए। उनले उद्धारका लागि नेपाल रेडक्रस, दुबै प्रहरी र नेपाली सेनाको टोली उच्च सर्तकतामा बसेको बताए।
वर्षाका कारण काठमाडौंबाट दैनिक उडान भर्ने बुद्ध एयरलायन्सको सोमबारको उडान पनि हुन सकेको छैन।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment