Monday, July 8, 2013

हुम्लामा ४२ वटा पशु मरेपछि चामल ढुवानी रोकियो

हुम्ला, २४ असार । नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लामा चालू आर्थिक वर्ष ११ हजार क्वीन्टल चामलको कोटा स्वीकृति भए पनि आठ हजार क्वीन्टल बिक्री वितरण भएको छ । संस्थानले जेठ महिनाका लागि एक हजार र असार महिनाका लागि एक हजार ५ सय क्वीन्टल चामल थप माग गरिए पनि वर्षाका कारण ढुवानी गर्न सकिएको छैन ।
काठमाडौंदेखि तातोपानी हुँदै चीनको तिब्बतबाट हिल्साको हुम्ला पैदल मार्गबाट ढुवानी गर्न लागिएको एक हजार ५ सय क्वीन्टल चामल वर्षाका कारण बाटो अवरुद्ध भएपछि सदरमुकामसम्म ल्याउन सकिएको छैन ।

मुगु जिल्लाको गमगढीबाट ५० क्वीन्टल चामल पनि बाटो अवरुद्ध भएका कारण ढुवानी हुन नसकेको संस्थानका शाखा कार्यालय प्रमुख भिमबहादुर थापाले बताउनुभयो ।
बाटोघाटो बन्द
हेप्का गाउँ विकास समितिको तांघन गाउँबाट लेकतर्फ चराउन लगिएका २० थान घोडा, झोपा, जुमा, गाई, याक गरी ४२ थान पशु हिमपातका कारण मरेका छन् । वर्षाले सातवटा काठे पुल पनि बगाएको छ । साथै, १२ रोपनीमा लगाइएको चिन्हु, कोदो, फापर समेत बाढीले क्षति पुर्‍याएको पान्दान लामाले जानकारी गराउनुभयो ।
पीडितको भीड
हुम्ला जिल्लामा अविरल वर्षाका कारण क्षति पुगेका व्यक्तिहरु राहतका लागि जिल्ला प्रशासन कार्यालय हुम्ला र रेडक्रस सोसाइटी जिल्ला शाखामा सम्पर्क गर्न थालेका छन् ।
स्याडा गाविस ४ बस्ने चौके बुढाको १० कोठे घर पूरै क्षति भएको छ । सो घरका लत्ताकपडा, भाँडाकँुडा, अन्नपातसमेत ११ लाख २० हजार बराबरको क्षति पुगेको छ । यसैगरी डाँडाँफया गाविसअन्तर्गत धारार्पो गाविस–८ बस्ने धनराज सिंहको दुईतले, चारकोठे घर पहिरोले नष्ट भई तीन लाख बराबरको क्षति भएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment