Sunday, July 7, 2013

जनकपुर–जयनगर रेलसेवा बन्द, दैनिक व्यापार चौपट (भिडियोसहित)

जनकपुर, असार । नेपालको एक मात्र रेल्वे जनकपुर–जयनगर रेलसेवा बन्द हुँदा त्यस भेगका सर्वसाधारण मारमा परेका छन् । रेल सेवा बन्द हुँदा धनुषाको धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा समेत असर परेको छ । विक्रम संवत् १९९४ मंसीर १६ गतेदेखि संचालनमा रहेको रेल सेवा दुबै इञ्जिन बिग्रिएपछि दश दिनदेखि बन्द भएको हो ।

५१ किलोमिटरको रेल सेवा दश बर्षदेखि भारतीय सीमावर्ती जयनगरदेखि जनकपुरसम्म २९ किलो मिटरसम्म मात्र चल्ने गरेको छ । जेनतेन गुडिरहेको रेल यही असार १३ गते दुर्घटना हुँदा दुबै इञ्जिन बिग्रिएर थन्किएको हो ।

७६ वर्षे इतिहास बोकेको जनकपुर–जयनगर रेलसेवा बन्द हुँदा नेपाल–भारतबीच रहेको द्वीपक्षीय व्यापारमा पनि असर परेको छ । जनकपुरको धार्मिक, सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय भूमिका खेल्ने रेल सेवा बन्द भएपछि यसको प्रत्यक्ष असर व्यापार र ग्रामीण अर्थतन्त्रमा पनि परेको छ ।

रेल सेवा संचालन हुने क्षेत्रमा यातायातका अरु साधन नचल्दा सर्वसाधारण यातायात सुबिधाबाटै बञ्चित बनेका छन् । सन् १९३४ तिर निर्माण थाली सन् १९३७ को अन्त्यतिर इनर्वा दशगजा सीमासम्म चल्ने रेल पछि जनकपुरदेखि इनर्वा दश गजासम्म साढे १६ माइल पक्की लाइन, जनकपुरदेखि पश्चिम विजलपुरासम्म १६ माइल कच्ची लाइन हुँदै खजुरी स्टेसनसम्म फैलिएको थियो । सन् १९३८ मा इनर्वादेखि जयनगरको भारतीय सीमासम्म डेढ माइल पक्की लाइन बनाइ जयनगरसम्म सेवा विस्तार गरियो ।

विसं २०२१ सालमा नेपाल यातायात संस्थानअन्तर्गत रहेको रेल्वे सेवा २०५८ सालमा संस्थान विघटन गरी कम्पनी हुँदै २०६८ जेठदेखि नेपाल रेल्वे कम्पनीमा परिणत भएको थियो । जनकपुर–जयनगरसम्म दैनिक दुई सेवा दिइरहेको रेल्वेका लेन पुरानो र जीर्ण भएको छ भने वर्षात हुँदा डिब्बा भित्रै पानी चुहिन्छ ।

घाटामा चलिरहेको रेलका १ सय ६२ जना कर्मचारीलाई तलब खुवाउन अर्थ मन्त्रालयले ऋण दिनुपर्ने बाध्यता छ । रेल सेवा बन्द हुँदा दैनिक ५० हजार राजस्व घाटा लागेको छ । जनकपुरका व्यापारीको कारोबार भारतको जयनगरमा हुने गरेको र उनीहरुले रेलमै सामान ल्याउने गर्दथे । रेलसेवा बन्द भएपछि ढुवानी गर्न समस्या परेको हो भने राजस्व पनि प्रभावित भएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment