Sunday, July 7, 2013

मादी नदी पुलबाट बस खस्दा बचेकाको भनाई यस्तो रह्यो

दमौली, असार । म पोखराबाट गाडी चढेको थिएँ । बसको क्याविनमा म सहित ५ जना बसेका थियौं । बस खचाखच भएकोले दुलेगौंडा पुगेपछि सिट पाइन्छ भनेर उभिएर नै आएँ । पछि क्याविनमा सिटको व्यवस्था भयो । म सहित क्याविनमा ५ जना थियौ ।


गाडी तीव्र गतिमा नै थियो । मादी पुलमा आएपछि एक्कासी गाडी उफ्रिएको जस्तो भयो । नदीमा परेपछि मात्र थाहा भयो । नदीमा खसेपछि हातले ऐनाको डण्डी समातेर पानीबाट निस्किएँ । खुट्टा च्यापिएको थियो । मादी नदीमा खसेपछि त बाँच्छु भन्ने आश नै थिएन । ऐनाको डण्डी समातेर निस्किएपछि पुर्नजन्म पाएको छु । पदमबहादुर वि.क. (५६ वर्षीय) नवलपरासी अमरापुरी–२ (कुराकानीमा आधारित) पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित मादी नदी पुलबाट शनिबार साँझ बस खस्दा मृत्यु भएका ११ जनामध्ये १० जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेहरुमा व्यास–११ का ४ वर्षीय आयुष राना, व्यास–१ की ४० वर्षीया टिकामाया आले, कास्की उपमहानगरपालिका–१४ की २२ वर्षीय मनु थापा, खोटाङ बारापोखरी–१ का २२ वर्षीय हेमराज श्रेष्ठ, उनका बाबु लक्ष्मीनारायण श्रेष्ठ, नवलपरासी बुलिङटारका २८ वर्षीय महेश बस्ताकोटी, चितवन गीतानगरका ३२ वर्षीय केशवप्रसाद ढकाल, घाँसीकुवा–९ का २३ वर्षीय सोमबहादर सोमै, काठमाडौं गोकर्णेश्वर–८ का ४३ वर्षीय किरण श्रेष्ठ र सप्तरी गुठी गाविसका २३ वर्षीय विश्वनाथ प्रसाद यादव रहेका छन् । बाँकी १ महिलाको सनाखत हुन सकेको छैन । पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको यात्रुवाहक बस मादी नदीमा खस्दा दुर्घटनामा परी १० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा थर्पु–४ का २४ वर्षीय सुमन श्रेष्ठ, आँबु–५ २१ वर्षीय बसन्त थापा, स्याङ्जा सेपाङ–६ का २४ वर्षीय सुरेश श्रेष्ठ, भानु–५ की २० वर्षीया पवित्रा सापकोटा, सिन्धुपाल्चोककी १८ वर्षीया रन्जना श्रेष्ठ, खोटाङ दिक्तेलकी ६७ वर्षीय गंगाराम श्रेष्ठ, चितवनकी ३० वर्षीया स्मृति ढकाल, मनपाङ–६ का ४५ वर्षीय केशबहादुर थापा, नवलपरासी अमरापुरी–२ का ५६ वर्षीय पदमबहादुर कामी, व्यास–११ की ३६ वर्षीया विष्णुकुमारी थापा रहेका छन् । मादी पुलमा बाटो क्रस गर्न खोजेकी एक बालिकालाई जोगाउन खोज्दा मादी नदी पुलमा ठूलो दुर्घटना भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाको समयमा दुर्घटना स्थल नजिकै रहेका एक प्रत्यक्षदर्शीले बताए अनुसार बस नजिकै आउनासाथ बालिका दौडदै सडक पार गर्न लागेको हुँदा उक्त बालिकालाई जोगाउन खोज्दा बस अनियन्त्रित भई पुलको डिलमा ठोक्किई बार भत्काएर नदीमा खसेको थियो । शनिवार साँझ मादीपुलबाट मादी नदीमा बस दुर्घटना हुदाँ बेपत्ता भएकाहरुको खोजीका लागि सम्भावित स्थानहरुमा प्रहरी र यातायात व्यवसायी परिचालन गरिएको छ । जिल्लाको सेतीमादी दोभान, साराङघाट, देवघाट लगायतका सम्भावित स्थानहरुमा प्रहरी र यातायात व्यवसायीका पदाधिकारीहरुलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले बताए । बसभित्र यकिन यात्रुको बारेमा जानकारी नहँदा मृतक र घाइते बाहेक अन्य यात्रुलाई बगाएको हुन सक्ने आंशकामा खोजी कार्यलाई तीव्र पारिएको प्रजिअ खरेलले बताए । घाइतेलाई उद्धृत गर्दै प्रजिअ खरेलले भने, ‘बसमा यात्रुहरु खचाखच भएकोले पनि मानिसहरु धेरै हताहत भएकोले पनि खोजी कार्यलाई तीव्र पारिएको छ ।’ यस संम्बन्धमा बसका कन्डक्टरलाई नियन्त्रणमा लिई यात्रुका बारेमा जानकारी लिने कार्य भइरहेको उनले बताए । उक्त दुर्घटनापछि आइतबार बसेको सुरक्षा निकायको बैठकले दुर्घटना भएको मादी पुलमा एकतर्फी सवारी साधान आवतजावतको व्यवस्था मिलाउने, दुर्घटना भएको पुलको रेलिङ बारको मर्मत गर्ने, यात्रुहरुलाई पुलको पेटीबाट हिँड्न लगाउने, विपद्का समयमा आवश्यक पर्ने उद्धारका सामग्रीहरु अभाव भएकोले गृहमन्त्रालयसँग माग गर्ने, दुर्घटना क्षेत्रमा गति सीमित तथा सचेतनामूलक बोर्ड राख्ने निर्णय गरेको छ । बैठकले उद्धार कार्यमा खटिएका केवलजंग गुल्मका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका जवान तथा सर्वसाधारणहरुलाई विशेष धन्यवाद व्यक्त गरिएको प्रजिअ खरेलले जानकारी दिए । भिडियो हेर्नुहोस ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment