Monday, July 1, 2013

इमान्दारितामाथि प्रश्न उठाउँदा पीडाबोध हुन्छ : बाबुराम भट्टराई -

असार, काठमाडौं । एमाओवादीका निर्वातमान उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्ष पद परित्याग गर्नुका कारण, यो निर्णयपछि उठेका केही प्रश्न र आफ्ना भावी योजनाबारे अनलाइनखबरसँग लामो कुराकानी गर्दै आफूलाई क्रियाशील बनाइराख्ने विधि एमाओवादी पार्टीले आगामी विस्तारित बैठकबाट तय गर्नुपर्ने बताउनुभएको छ । पद त्यागको निर्णयबारे उहाँकै शब्दमा :
यसकारण पद त्याग गरें
मैले पार्टीको पदत्याग गर्ने निर्णय आकस्मिकरुपमा गरेको होइन र र यो कुनै सरप्राइज पनि हैन । यस विषयमा मैले निकै पहिलेदेखि नै पार्टीभित्र छलफल र बहस गर्दै आएको हो ।

खासगरी कम्युनिष्ट हुनु भनेको मान्छेले मान्छेमाथि गर्ने सबै प्रकारका वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गकि, राष्ट्रिय उत्पीडनको अन्त्य गरेर एउटा शोषणविहीन, वर्गविहीन, राज्यविहीन एउटा समाजमा पुग्ने अभियान हो । यसले गर्दा कम्युनिष्टको धेरै लामो अभियान हुन्छ र यसको निम्ति सत्ता र शक्ति भन्ने कुरा एउटा क्षणिक साधन र माध्यम मात्र हुन्छ । यो आफैंमा लक्ष हुँदैन । लक्ष भनेको मान्छेले मान्छेमाथि गर्ने सबै किसिमका विभेदको अन्त्य गर्नु र सम्वृद्धिले भरपुर मानव जाति, असाध्यै उन्नत चेतनाले एउटा मानव जातिको प्राप्ति गर्नु कम्युनिष्टको लक्ष हो । सत्ता शक्ति र त्यसको निम्ति पार्टी भनेका यी क्षणिक कुरा हुन् ।
तपाईहरुलाई थाहा होला, जनयुद्धकालमा पनि १३ बुँदे एउटा बहस चलेको थियो । त्यसमा आवश्कताको दुनियाँ र स्वतन्त्रताको दुनियाँवीचको अन्तरसम्बन्ध भन्ने विषयमा हाम्रो एउटा बहस चलेको थियो । आवश्यकताको दुनियाँ भनेको तत्कालीन वर्गविभाजित समाजका संस्कार र संस्कृतिका सीमाभित्र रहेर गर्नुपर्ने कुराहरु हुन्छन् र यसभित्र गरिने गतिविधि त्यो आवश्यकताको दुनियाँ हुन्छ । तर, त्यो भन्दा माथि उठेर एउटा उदात्त, शोषणविहीन र सम्वृद्ध समाजको परिकल्पना भनेको स्वतन्त्रताको दुनियाँ हुन्छ । यी दुइटावीच ठीक ढंगले अन्तर खुलाउनुपर्छ । आवश्यकताको दुनियाँमा टेकेर स्वतन्त्रताको दुनियाँमा पुग्ने नै हाम्रो अभिष्ट र लक्ष हुनुपर्छ भन्ने विषयमा हाम्रो बहस चलेको थियो । र, त्यही अनुसार मैले पार्टी सत्ता आवश्यक हुँदैन कहिल्यै पनि भनिँन । माक्र्सवादले पनि त्यसो भन्दैन । तर, त्यो नै लक्ष हुँदैन । त्यो नै साध्य हुँदैन । त्यो साधनमात्रै हो, साध्य होइन ।
तर, हामीकहाँ व्यवहारका क्रममा सत्तालाई साधन भन्दा पनि साध्य ठान्ने प्रवृत्ति हुर्केर गयो । यसले गर्दा विभिन्न खालका विकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलाप, निजी स्वार्थजस्ता कुराहरु आन्दोलनभित्र प्रवेश गरेर अन्तरराष्ट्रियरुपमा कम्युनिष्ट आन्दोलन नै धरासायी बन्न पुग्यो । त्यसैले हामी नयाँ शिराबाट यो आन्दोलन अगाडि बढाउँदै छौं ।
जनयुद्धकालमा हामीले सकेसम्म यो मूल्य, मान्यता र आर्दशलाई बोकेर जनता, देश र वर्गका निम्ति दलिदान गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर काम गर्यौं । त्यसैले गर्दा नै हाम्रो आन्दोलन यो उचाइमा पुग्यो र जनताले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई विश्वास गरे । तर, शान्ति प्रक्रियामा आएपछि हामीले सदन, सडक र सरकार तीनवटै मोर्चाबाट संघर्षलाई व्यवस्थित र संगठित गरेर क्रान्ति र परिवर्तनको प्रक्रियालाई पूर्णता दिने नीति लियौं । यसक्रममा सत्तामा पुगेर त्यसभित्रबाट पनि देश र जनताको पक्षमा आवश्यक गतिविधि गुर्न हाम्रो कार्यदिशाको एउटा अभिन्न अंग बन्न पुग्यो । तर, हाम्रो सडक र जनताबाट गर्ने गतिविधि ओझेलमा पर्यो । यसले गर्दा पार्टीभित्र सबै नै सरकार र सत्ताको नजिक पुग्न खोज्ने र त्यहाँबाट मात्रै केही गर्न सकिन्छ सोच वृद्धि भयो । यसलाई पनि एउटा निजी शक्ति र स्वार्थको साधन मान्ने प्रवृत्ति बढ्यो । यसका निम्ति पहिलो पार्टीको पदमा पुग्नुपर्छ, त्यहाँ पुगेर फेरि सत्तामा सहभागी बन्न पाउनुपर्छ र यसो गरेमात्रै आफूले लाभ लिन सकिन्छ भन्ने प्रवृत्ति बढ्दै गयो । यसले गर्दा हाम्रो पार्टी पनि अरु कांग्रेस एमालेजस्ता संसदवादी पार्टीभन्दा प्रष्टरुपमा छुट्याउन गाह्रो पर्ने स्थितितिर जान थाल्यो । यद्यपि अहिलेसम्म हाम्रो माओवादीवादी पार्टी फेरि पनि अरुभन्दा गुणात्मकरुपले फरक छ । यसले लिएको मूल्य, मान्यता र आदर्श अहिले पनि मूलभूतरुपमा कायम छ । यसैले गर्दा यो पार्टीप्रति जनताको विश्वास छ र म पनि यसमा आवद्ध छु ।
तर, पछिल्लो चरणमा हामीले विधि विधानलाई व्यवस्थापन गर्न नसक्दा पद र सत्ता नै सबैथोक हो भन्ने कुराको सट्टा त्याग, बलिदान देश र जनताप्रतिको समर्पणभाव, नैतिकता, आदर्श, चरित्र अलि कमजोर हुँदै गएको स्थिति देखा पर्यो । पछिल्लो चरणमा यिनै कुरालाई मध्यनजर गर्दै यसको निदान के त ? पार्टीले विधि विधान बनाएर शुद्धीकरण गर्ने त छँदैछ तर, त्यसका अतिरिक्त पद र सत्ता नै सबैथोक होइन भन्ने कुरालाई व्यवहारतः स्थापित गर्नका निम्ति उच्च तहमा रहेका हामीमध्येले नै कसैले उदाहरण बनेर देखायौं भनेमात्रै अरुलाई भन्ने हाम्रो नैतिक अधिकार रहन्छ । खाली उपदेशले मात्रै यो कुरालाई स्थापित गर्न सकिँदैन । नैतिक मूल्य र मान्यता भनेको व्यवहारतः नै लागू गरेर देखाउने कुरा हो । अरुलाई उपदेश दिने तर आफूचाहिँ त्यो मूल्य र आदर्शमा नबस्ने भयो भने कसैले पनि विश्वास गर्दैन ।
यी कुरालाई मध्यनजर गर्दै मैले बैठकमा आफूबाटै पद त्याग गरेर अरु साथीहरुलाई पनि पद र सत्ता नै सबैथोक होइन, देश र जनताप्रति निस्वार्थभावले समर्पित भएर काम गर्नु प्रमुख कुरा हो भन्ने उदाहरणस्वरुप मैले पद त्याग गरेको हुँ । यो आकस्मिक होइन, सोचविचार गरेर गरिएको हो । अरु पार्टीमा त यस्ता विकृति विसंगति छँदैथिए, निजी सम्पत्तिमै उहाँहरुको स्वार्थ र सिद्धान्त आधारित भएकाले वहाँहरुले यसलाई ठूलो कुरा मान्नुहुन्न । भ्रष्टाचार गर्नु र सम्पत्ति कमाउनु उहाँहरूको विधिविधान र आदर्शभित्रै पर्छ । तर, हामी कम्युनिष्टहरुको आदर्शभित्र त्यो पर्दैन । तर, हामी पनि अरु संसदवादी दलहरुकै रोगबाट ग्रसित भएर विकृति विसंगतियुक्त हुन थाल्यौं भने हाम्रो दायित्व पूरा हुँदैन । त्यसैले यो कदम चालेको हुँ ।
पद त्यागपछि उठेका केही प्रश्नबारे
म यो प्रष्ट पार्न चाहन्छु, मैले पद त्याग गरेको हो, पार्टी त्याग गरेको हैन । समाजलाई बदल्नका निम्ति संगठित शक्ति चाहिन्छ, सर्वहारा वर्गको संगठित शक्ति भनेको कम्युनिष्ट पार्टी हो । त्यसैले कम्युनिष्ट पार्टीको नेतृत्व विना परिवर्तनको अभियानलाई पूर्णता दिन सकिँदैन भन्ने कुरामा म शुरुदेखि नै प्रतिवद्ध छु । मलाई मार्क्सको सबैभन्दा मनपर्ने वाक्य भनेको दार्शनिकहरुले संसारको व्याख्या त गरेका छन् तर, मूल काम संसारलाई बदल्नु हो । त्यसैले संसारलाई बदल्ने हो भने संगठित शक्ति चाहिन्छ । संगठित शक्ति भनेको पार्टी हो । त्यसैले म शुरुदेखि नै पार्टीप्रति प्रतिवद्ध रहँदै आएको छु । जस्तोसुकै उतार चढावको बेलामा, ममाथि अन्याय हुँदा पनि मैले कहिल्यै पार्टीलाई छाडिँन । त्यसो भएको हुनाले मैले पार्टी छाड्नै प्रश्नै आउँदैन । मैले पार्टीको एउटा उच्च पदमात्रै छाडेको हो । त्यसैले पार्टी र संगठनमा निरन्तर क्रियाशील रहनका निम्ति आवश्यक संरचना पनि हामीले विकास गर्नुपर्छ । संगठनमा कुन कुन पद रहने र त्यसको आवश्यकता कति हो भन्ने हामीले मापदण्ड बनाउनुपर्छ । हामीकहाँ के भैदियो भने हामीले व्यक्ति हेरेर पदहरु निर्धारण गर्यौं । यसले गर्दा पदका आकांक्षीहरु यति धेरै भए कि यसलाई हामीले धान्नै नसक्ने अवस्था आयो ।
यसकारण उमेर पुगेका, अशक्त अवस्थामा पुगेकाहरुले स्वेच्छिक ढंगले पद त्याग गरिदियौं भने नयाँ साथीहरु अगाडि आउन र भूमिका निर्वाह गर्न सक्छन् भनेर मैले पद त्याग गरेको हुँ, पार्टी त्याग गरेको होइन । मैले सबैलाई पद त्याग गरौं भनेको हैन, एउटा निश्चित उमेर पार गरेका साथीहरुले नयाँलाई ठाउँ दिऔं भन्न खोजेको हो । उदाहरणका निम्ति म ६० वर्ष पुगें, मजस्ता ६० वर्ष पुगेकाले स्वेच्छिक ढंगले र ६५ वर्ष पुगेकाले अनिवार्य ढंगले पदमा नरहने र अन्य ढंगले पार्टीमा योगदान गर्ने विधि हामीले निर्माण गर्न सक्यौं भने नयाँ युवापुस्ता अगाडि आउन सक्छ । अब १०/१५ दिनको विस्तारित बैठक सम्मको अवधिका यस्तो विधि विधान र नयाँ कमिटी प्रणाली तयार गर्ने सोच बनाएका छौं । मलाई लाग्छ त्यहाँका आधार अन्य साथीहरुले पनि स्वेच्छिक रुपमा पद त्याग गर्नुहुन्छ । र, पदबाहिर रहेकाहरुलाई पनि क्रियाशील बनाइराख्ने विधि चाहिँ आवश्यक छ । मैले पद त्याग गरिसकेपछि पार्टीमा क्रियाशील भैराख्ने उपयुक्त विधि के हो ? यो विधिको विकास पार्टीले गर्ने छ भन्ने मलाई विश्वास छ ।
पार्टीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि मैले नमानेको भन्ने जुन प्रश्न छ, साथीहरुले र्फकन आग्रह गर्नुभएकोमा म त्यसका निम्ति आभारी छु । साथीहरुले फिर्ता लिन आग्रह गर्नुभए पनि मैले यो निर्णयमा पुनर्विचार गर्ने सोचेको छैन । तर, पार्टीमा क्रियाशील भैराख्ने मेरो उद्देश्य छँदैछ । पार्टीका आवश्यक काम मैले गर्न सकिहाल्छु । यसका लागि पदमै बसिराख्नुपर्छ भन्ने मलाई लागेको छैन । भोलि विस्तारित बैठकमा पनि म साथीहरुसँग यही आग्रह गर्छु ।
लेनिनले स्थापित गरेको संगठनात्मक मान्यता भनेको नियमित रुपमा पार्टीलाई लेबी बुझाउनुपर्छ, कुनै पनि एउटा संगठनका आवद्ध हुनुपर्छ र पार्टीले दिएको जिम्मेवारी बहन गर्नुपर्छ । तर, निश्चित पदमै बस्नुपर्छ भन्ने मान्यता हुँदैन । पद भनेको पार्टीको आवश्यकताका साथै व्यक्तिको रुची र क्षमताले पनि निर्धारण गर्ने कुरा हो । पदमै बस्नुपर्छ भनेर व्यक्तिलाई कर गर्न सकिँदैन । हामी आजीवन पदमा रहन सकिँदैन र मिल्दैन । यो कुरा हामीले एक्काइशौं जनवादको प्रस्ताव पारित गर्दा नै भनिसकेका छौं । त्यसकारण हामी पुरानाले पद त्याग गर्ने र नयाँलाई ल्याउने नीति यसअघि नै पारित भैसकेको छ । मैले यसको शुरुवात मात्रै गरेको हुँ । अध्यक्षको यतिबेला मुख्य जिम्मेवारी हुने भएकाले उहाँले छाड्नु उपयुक्त हुँदैनथ्यो । म मुख्य जिम्मेवारीमा थिइँन त्यसैले मैले छोड्नु अहिले उपयुक्त बेला हो । मभन्दा तलका साथीहरुले मात्रै यसो गरेर त्यो प्रभावकारी हुँदैनथ्यो ।
म पार्टीबाट पछि हटेको हैन । पार्टीमा पदका आकांक्षी धेरै भए, यसलाई कम गर्ने विधि के त ? स्वेच्छिक ढंगले पदत्याग गरेर पार्टीमा क्रियाशील हुने यो एउटा विधि हुन सक्छ । सबैभन्दा राम्रो विधि यही हो । तपाई हट्नोस् भन्नुभन्दा आफैंले छाड्नु राम्रो हुन्छ । र, मैले यसको शुरुवात गरेको हुँ ।
बैठकमा चर्को विरोध आयो र मैले यस्तो निर्णय गरें भन्ने आरोप विल्कुल गलत हो । यसपालिको वैठकमा मेरो विरोध कसैबाट भएकै थिएन । हेटौडा महाधिवेशनपछि पार्टीमा अध्यक्ष कामरेड प्रचण्ड र मेरोवीचमा एकता कायम छ । हामीवीच उच्च तहको एकता, समझदारी र विश्वास बनेको स्थिति छ । त्यसैले मैले कुनै रीस वा गुनासोले गर्दा छाडेको हैन । अध्यक्षले अहिल्यै नगर्नुभएको भए हुन्थ्यो, हामीले सँगै छाड्न पाएको भए हुन्थ्यो भन्नुभयो तर मैले उहाँलाई एक घण्टा आफ्ना कुरा राखें । मैले अध्यक्ष कामरेड प्रचण्डलाई सघाउ पुर्याउने उद्देश्यले नै यो कदम चालेको हो । त्यसैले यसमा कसैले आशंका लिनु हुँदैन । मैले यसो भनेपछि अध्यक्ष कामरेड व्यक्तिगत रुपमा कन्भिन्स हुनुभएको छ ।
भविश्यको योजनाबारे
पहिलो कुरा त म पार्टी, राजनीति र आन्दोलनका बाहिर कहिल्यै पनि हुन्न । कम्युनिष्ट पार्टीभित्रका विकृति विसंगतिलाई हटाउनका लागि पनि म क्रियाशील रहन्छु । प्रधानमन्त्री भएर काम गर्दै मैले शुरु देखि नै मूल्य मान्यता र आदर्श अनुसार काम गर्ने प्रयास गरें । मैले मुस्ताङ म्याक्स चढ्नु कुनै ढोंग र पाखण्ड थिएन । स्वदेशी उत्पादनलाई प्रश्रय दिनुका साथसाथै उच्च पदमा रहेका व्यक्तिले सरल जीवन बिताउनुपर्छ भन्ने सन्देश मैले दिन खोजेको थिएँ । उच्च पदमा रहेका मान्छेहरु जनतासरह भएर बाँच्नुपर्छ भनेर मैले प्रत्येक महिना जनताको घरमा प्रधानमन्त्री भन्ने कार्यक्रम अन्तरगत पिछडिएका जनताको घरमा गएँ । मेरा सीमा हुन सक्छन्, मेरो क्षमता नपुगेको हुन सक्छ, तर मेरो मूल्य मान्यता र इमान्दारितामाथि प्रश्न उठाइँदा मलाई पीडाबोध हुने गर्छ ।
अब मैले पद त्याग गरिसकेपछि राजनीतिमा मूल्य मान्यता र नैतिकता स्थापित गर्ने अभियानमा म सरिक हुन चाहन्छु । भ्रष्टाचारजन्य विकृति विसंगतिको अन्त्य गर्नका लागि मैले प्रधानमन्त्री हुँदा प्रयत्न गरे पनि संयुक्त सरकार भएकाले सोचेजति काम गर्न सकिएन । म अव भ्रष्टाचारजन्य क्रियाकलापबाट देशलाई मुक्त गर्ने र आर्थिक संवृद्धिका योजनाहरुतर्फ पनि काम गर्छु । साथै अग्रगामी संविधान निर्माणमा सहयोग गर्न पार्टीलाई जिताउने र संविधान निर्माणपछि मेरो समय र सामथ्र्यलाई देशको आर्थिक विकास निर्माणका योजनामा पनि खर्च हुनेछ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment