Thursday, June 27, 2013

एमाओवादी सबै मोर्चामा हारेको छ

नेकपा एमालेका वौद्धिक नेता मानिनुहुन्छ प्रदीप ज्ञवाली । केही दिनअघि उहाँले अनलाइनखबरलाई दिनुभएको प्रतिक्रियामा आगामी चुनावमा एमाले र कांग्रेसवीच प्रतिश्पर्धा हुने र एमाओवादी तेस्रो हुने संकेत गर्नुभएको थियो । आफ्ना कार्यकर्ता धमाधम एमाओवादीमा प्रवेश गरिरहेका र अशोक राईले पार्टी फुटाएका बेला एमालेले कसरी एमाओवादीलाई जित्ला ? शंखमूलस्थित ज्ञवालीको एकतले निवासमै पुगेर अनलाइनखबरले उहाँसँग निकै खेरखार गरेको छ ।

अन्तरवार्ताका क्रममा ज्ञवालीले आफ्नो दलका कमजोरी सहजरुपमा स्वीकार्नुभयो । तर, एमालेले २० वर्षमा वैचारिक श्रेष्ठता कायम गरेको र एमाओवादीले सबै मोर्चामा हारेको उहाँको दाबी छ ।



अहिले नेकपा एमाले के गर्दैछ ?

- अहिले हामी दुईवटा काममा केन्दि्रत छौं । संविधानसभा चुनावका लागि हामीले राष्ट्रव्यापी अभियान चलाइराखेका छौं । यो अभियान अन्तरगत हामीले २ सय ४० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरु पठाएर संविधानसभा विघटनका कारणहरु र नयाँ संविधानसभा निर्वाचन सफल बनाउन पूरा गर्नुपर्ने न्युनतम पूर्वाधारहरुबारे छलफल गरिरहेका छौं । संविधानसभाका मुद्दाहरुका सम्बन्धमा कार्यकर्ता र जनतालाई जानकारी गराईरहेका छौं र तलको वास्तविक शक्ति सन्तुलनको स्थिति के छ भन्ने विश्लेषण गरिरहेका छौं, जसले हामीलाई चुनावको नीति बनाउन मद्दत गर्ने छ । यसक्रममा हामी जनतासँग टुटेको सम्बन्ध पुनर्जीवित गर्ने कार्य गरिरहेका छौं । विगतमा पार्टी परित्याग गरेका र अन्य पार्टीमा रहेकाहरुलाई हाम्रो पार्टीमा प्रवेश गराउने काम भैरहेको छ । दोस्रो काम चाहिँ हामी निर्वाचनको पक्षमा वातावरण बनाउन विभिन्न दलहरुसँग छलफल र सम्वाद गरिरहेका छौं । निर्वाचन समयमा गराउनका लागि सरकारलाई दबाव दिने कार्य पनि गरिरहेका छौं ।

चुनाव अघि नै एमालेको महाधिवेशन हुने हल्ला छ नि ?

- यो वर्ष एमालेको महाधिवेशन वर्ष हो । राष्ट्रिय राजनीति महत्वपूर्ण हुँदैनथ्यो भने हामीले यतिबेला दस्तावेज तयार पारेर छलफलका लागि तल्ला कमिटीहरुमा पठाइसकेका हुन्थ्यौं । मंसिरमा चुनाव हुने अवस्थामा मंसिरअगावै महाधिवेन हुने सम्भावना देखिँदैन ।

कतिपय मान्छेको अनुमान के छ भने एमाले मंसिरको चुनाव चैत्रसम्म धकेल्न चाहन्छ र यसवीच महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न चाहन्छ…..

- यो गलत अनुमान हो । निर्वाचन सबैभन्दा बढी कसैलाई चाहिएको छ भने एमालेलाई चाहिएको छ । हामी चुनावको परिणामप्रति पनि आशावादी छौं । यसपालिको चुनावले विगतको शक्ति शन्तुलन र परिणामलाई पनि बदल्छ भन्ने विश्वास हामीलाई भएकाले निर्वाचनलाई पर धकेल्ने त एमालेले कल्पना पनि गर्न सक्दैन ।

एमाले केन्द्रीय कमिटीको बैठक पछि सर्नुको कारण के नि ?

-हाम्रो एक महिने अभियान लिएर कतिपय केन्द्रीय प्रतिनिधिहरु जिल्ला जिल्लामा पुग्दा ढिला भएका कारणले हाम्रो त्यो अभियान अझै सकिएको छैन । अहिलेको बैठककको मुख्य एजेन्डा नै यो एक महिने अभियानबाट प्राप्त सूचनाहरुको विश्लेषण गरेर राष्ट्रिय राजनीतिको समग्र विश्लेषण गर्ने र पार्टीको चुनाबी रणनीति तयार गर्ने भन्ने भएकाले अभियान नसकिउञ्जेल बैठकलाई अलि पछि सारेका हौं ।

चुनावको घेाषणापत्र पनि तयार गर्दै हुनुहुन्छ कि ?

- यसमा हामीले पार्टीको एक्काइसौं बैठकबाट ६/७ वटा विषयहरु तय गरेका छौं । गएको २० वर्षमा राष्ट्रिय राजनीतिमा सबैभन्दा बढी प्रभाव पारेको विचार भनेको एमालेको जनताको बहुदलीय जनवादको विचार हो । यसको काउन्टरमा रहेका जति पनि विचारहरु थिए, चाहे त्यो राजाले नेतृत्व गरेको प्रतिगामी विचार भन्नोस्, चाहे त्यो नेपाली कांग्रेसले बोकेको नवउदारवादी विचार होस् या एमाओवादकिो हिंसात्मक बाटो, अधिनायकवादी सोच र कथित प्रचण्डपथको कुरा गर्नोस्, वैचारिक संघर्षमा यी सबै विचारहरु खण्डित र असान्दर्भिक भएका छन् । समग्रमा भन्दा एमालेको विचारले श्रेष्ठता हासिल गरेको छ । तर, विचारले जित्ने एमालेले नजित्ने किन भइरहेको छ ? हामीले यसको धेरै नै समीक्षा गरेका छन् । विचार एमालेको स्थापित हुँदै जाने तर नेृतत्वचाँहि माओवादीको भएकाले अहिलेको राजनीतिक समस्याको गाँठो यहीँनेर अल्भिmएको छ । यसैले आगामी चुनावमा हामीले ‘एमालेको नीति, एमालेकै नेतृत्व’ भन्ने नारा लिएर अघि बढ्ने निर्णय गरेका छौं । दोस्रो संविधानसभाको सर्वाधिक विवादको विषय भनेको संघीयताको कुरा छ । एकल जातीय पहिचान भर्सेज बहुपहिचान र सामाजिक सद्भावको कुरा छ । हामीले बहुपहिचान सहितको सामाजिक सद्भाव र त्यसको जगमा सवल राष्ट्रियतालाई दोस्रो मुद्दा बनाउने छौं । लोकतन्त्रको रक्षा र राष्ट्रियताको पहरेदारीलाई तेस्रो मुद्दा बनाउँछौं । अबको कोर्ष सामाजिक न्यायसहितको लोकतन्त्र हो । राजनीतिक मुद्दाहरु एक हदसम्म सेटिङ भैसकेपछि आर्थिक सम्वृद्धिको मुद्दालाई प्रमुख मुद्दा बनाउनुपर्छ भन्ने हामीले केन्द्रीय कमिटीको बैठकबाट तय गरेका छौं । यिनै एजेन्डाहरुको विस्तारित रुप हाम्रो घोषणापत्र हुनेछ ।

भावी चुनावको सम्भावित परिणामबारे एमालेले कस्तो पूर्वानुमान गरेको छ ?

- मैले यसबारे पहिले पनि अनलाइनखबरसँग भनेको थिएँ कि हाम्रो देशभरिको समग्र रिपोर्ट आइनसकेकाले यो मेरो प्रारम्भिक रिपोर्टमा आधारित प्रारम्भिक टिप्पणीमात्रै हो । यसबारे म तीन/चारवटा कुरा राख्न चाहन्छु । पहिलो, सबैलाई थाहा भएकै कुरा हो कि ०६४ सालको चुनाबी परिणाम स्वाभाविक थिएन । त्यो अस्वाभाविक परिणामसँगै माओवादीको विजयमा त्रास, आश र बतासले काम गरेको थियो । मान्छेमा माओवादीप्रति मनोवैज्ञानिक त्रास थियो । जनता हिंसामा र्फकन चाहँदैनथे । माओवादीले जनतामा रहेको यो त्रासलाई अधिकतम मात्रामा ‘क्यास’ गर्यो । त्यस्तै मान्छेमा एउटा आश पनि थियो । त्यत्रो ठूलो युद्धबाट आएको पार्टी यसले राम्रोसँग चलाउँछ कि भन्ने धेरैलाई लागेको पनि थियो । उनीहरुले नारा पनि ‘क्याची’ दिएका थिए । सबैलाई हेर्यौं पटक-पटक माओवादीलाई हेरौं एकपटक भन्ने नारा उनीहरुले दिएका थिए । यसका साथै थुप्रै हावा हुन्डरीहरु आए, जसले पुराना मूल्य मान्यता आदि इत्यादि खण्डित भए । अघिल्लो चुनावमा माओवादीको विजयमा यही मनोविज्ञानले काम गरेको थियो ।

यसको अर्थ, अब एमाओवादीमा विगतको अवस्था छैन भन्न खोज्नुभएको हो ?

- गएको पाँचवर्षलाई हेर्नुहुन्छ भने एमाओवादी हरेक मोर्चामा हारेको छ । शस्त्र बलद्वारा युद्ध जित्छु भन्थ्यो, त्यो मोर्चा हार्यो । दुईवटा सेनाको अवधारणाका साथ उसले शान्ति प्रक्रिया टुंग्याउन खोजेको थियो, सेना विघटन गरायो । माक्र्सवाद लेनिनवाद र माओवादको नयाँ विस्तार एक्काइशौं शताब्दीमा गर्छु भन्थ्यो, विश्वलाई नै गाइड गर्ने गरी प्रचण्डपथ ल्यायौं भन्थ्यो, आज आफैंले पेन्टिङ गरेको भित्ता मेट्दै हिँड्नुपर्ने अवस्था छ । माओवादीको अर्को बल थियो उसको एकता । जस्तोसुकै प्रतिकुलतामा पनि पार्टीमा एकता थियो । कस्तोसम्म देखिन्थ्यो भने प्रचण्डले कुम हल्लाउनुभयो भने तलैसम्मका कार्यकर्ताले कुम हल्लाउँथे । खराने रंगको कपडा लगायो भने सबैले खराने रंगको कपडा लगाउँथे । आज यस्तो एकता छिन्नभिन्न भएको अवस्था छ । त्यस्तै धेरै मान्छेले राष्ट्रवादको प्रतिनिधित्व गर्छ कि भन्ने पनि धेरै मान्छेले आशा गरेका थिए, आज उसको राष्ट्रवादी नारा पाखण्डमा रुपान्तरित भएको छ । त्यसैगरी एमाओवादीका कतिपय नेताहरु संभ्रान्त वर्गमा रुपान्तरित हुँदै गरेको कुरा उहाँहरुको आफ्नै दस्ताबेजले बोल्छ । यसले गर्दा एमाओवादी प्रत्येक मोर्चामा हारेको छ । यसले गर्दा एमाओवादीको हिजोको स्थिति अब रहँदैन भन्ने प्रष्टै छ ।

के एमालेको चाँहि यसवीचमा स्थिति सुध्रेको छ र ?

- एमालेलाई पनि केही घाऊ लागेको छ । केही साथीहरुले फुटेर संघीय समाजवादी बनाएका छन् । केही साथीहरु एमाओवादीमा प्रवेश गरेका छन् । तर, तपाईले एमालेको पृष्ठभूमि हेर्नुभयो भने एमालेका निम्ति हरेक ५/७ वर्षमा एउटा न एउटा धक्का लाग्ने गरेको छ । र, यस्तो धक्काले अगाडि बढ्न पनि प्रेरणा दिने गरेको छ । दासढुंगा काण्डलाई हेर्ने हो भने हामीले उच्च तहका बैचारिक नेता र कुशल संगठकलाई गुमायौं । त्यसबेला धेरैले अब एमाले सिद्धियो भन्ने अनुमान गरेका थिए । त्यसैगरी एमाले-माले पार्टी विभाजन हाम्रा लागि साह्रै ठूलो पीडाको विषय थियो, त्यसलाई पनि हामीले मेकअप गर्यौं । द्वन्द्वकालमा हामी कसैको पक्ष थिएनौं, तर हामीले ४ सय कार्यकर्ता गुमायौं । यसले हामीलाई धेरै ठूलो असर गर्यो । तै पनि हामी उठ्यौं । ०६४ को निर्वाचनपछि पनि धेरैलाई एमाले सकिएजस्तो लागेको थियो । तर अहिले एमाले राष्ट्रिय राजनीतिको एउटा पहत्वपूर्ण पक्ष बनिरहेको छ ।



एमालेमा कमजोरी चाँहि केही छैन ?

- त्रुटी र कमजोरी नै छैनन् म भन्दिँन । तर तपाईले तुलना गर्नुभयो भने समस्त कमजोरीबा बाबजुद भ्रष्टाचारको दाग नलागेका नेताहरु खोज्नुभयो भने एमालेमै भेट्नुहुन्छ । कुनै स्क्यान्डलमा नमुछिएका, तुलनात्मकरुपमा टेष्टेड (परीक्षित ) मान्छेहरु एमालेमा बढी छन् । नेताहरुको नेतृत्व क्षमताका बारेमा प्रश्न उठ्न सक्ला, तर उनीहरुको निष्ठाको बारेमा प्रश्न नउठ्ने स्थिति छ ।

नेकपा एमालेले सामाजिक न्यायका बारेमा सबैभन्दा धेरै आवाज उठायो । म केही उदाहरण दिन्छु, हामीले ०५१ सालमा मधेसको नागरिकता समस्या समाधानका लागि धनपति उपाध्यायको नेतृत्वमा नागरिकता समस्या समाधानका लागि कार्यदल बनायौं । ०४७ सालमै हामीले धर्म निरपेक्षताको कुरा उठायौं । ०५४ सालमा स्थानीय निकायको निर्वाचनमा २० प्रतिशत महिलाको सुनिश्चता कुरा उठायौं । दलित र जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्ने पहिलो पार्टी पनि एमाले नै हो । हाम्रो पार्टीको पहिलो उपसभामुख महिला जनजाति हुनुहुन्थ्यो । पहिलो राष्ट्रियसभाको उपाध्यक्ष मधेसी दलित हुनुहुन्थ्यो । पहिलो सभामुख जनजाति हुनुहुन्थ्यो । पहिलो योजना आयोगको उपाध्यक्ष जनजाति हुनुहुन्थ्यो । हामीले सामाजिब उत्पीडनका विरुद्ध आवाजमात्रै उठाइरहेका छैनौं, गरेरै देखाएका छौं । तर, हामी कहाँनेर चुक्यौं भने पहिचानका नाममा आइरहेका केही गलत कुराहरुलाई जुन उचाइबाट खण्डन गर्नुपर्ने थियो, हामीले त्यसरी खण्डन गर्न सकेनौं । मधेसका केही नेताहरुले नेपालमा दुई राष्ट्रियता छन् भनिरहेका छन्, हिन्दी भाषा सम्पर्क भाषा र छुटिन पाउने आत्मनिर्णयको अधिकार भनिरहेका छन् । यो भनेको प्रकारारन्तरले देश टुक्राउनु हो । तर, हामीले यसलाई बेलैमा खण्डन गर्न सकेनौं । यसलाई खण्डन गर्ने, परास्त गर्ने र मधेसी जनताका पीडा र पहाडे समुदायबाट भएका विभेदहरुलाई चिर्ने र मधेसी जनताका पीडालाई सम्बोधन गर्ने कुरामा हामी चुकेकै हो । जनजातिको मुद्दामा पनि यही हो ।

हामीले सोध्न खोजेको, यहाँहरुले देशव्यपापी रुपमा गर्नुभएको अध्ययनअनुसार अहिलेको अवस्थामा एमालेको संगठनात्मक स्थितिमा सुधार देखिएको छ कि छैन ?

- तपाईले संकेत गर्नुभएको अहिलेका जातीय मुद्दाहरुले या केही नेताहरुको पलायनले पार्ने प्रभावको कुरा हुनसक्छ । यसको ठ्याक्कै प्रभावै छैन म भन्दिँन । तर, यो चार-पाँच वर्षको बहसबाट मान्छेलाई के लाग्न थालेको छ भने नेपालजस्तो देशमा एकल जातीय पहिचान, त्यो पहिचानमाथि आधारित राज्यको रेखांकन र निश्चत जातिलाई अग्राधिकार दिएर गरिने राज्य पुनसंरचना नेपालको हितमा छैन भन्ने कुरा स्पष्ट हुँदै गएको अवस्था छ ।

मधेस आन्दोलनका बेला हामीले मधेसमा पनि एकखालको अतिवाद देख्थ्यौं । त्यसबेला पहाडेविरोधी भाव थियो । तर अहिले मधेसको मनोविज्ञान हेर्ने हो भने मधेस र पहाड नमिली देशको विकास नहुँदोरहेछ भन्ने कुरा मधेसी जनताले महसुस गर्न थालेका छन् । अहिले पनि केही नेताहरु मधेसलाई भर्याङ बनाएर सत्तामा जान चाहन्छन् । तर, मधेस र जनजाति दुबैको हकमा अहिले एमालेले अघि सारेका विचारहरु नै स्थापित हुँदै गइरहेका छन् । त्यसकारण हामी आफ्नो क्षतिलाई पूर्ति गर्छौं भन्ने लाग्छ ।

मान्छेहरु एमालेको विचार सहमति हुन समय लाग्दा, तर आगामी मंसिरमै हुने चुनावमा चाहिँ जनजाति र मधेसीको ‘सेन्टिमेन्ट’ले एमालेलाई नकारात्मक असर पार्ने खतरा छ कि छैन ?

- दोस्रो संविधानसभाबाट संविधान बनाउने कुरा पहिलेको भन्द बढी कष्टकर, दुरह र धेरै चुनौतीपूर्ण छ । पहिलो, दलहरुवीच बढ्दै गएको दुरी, दोस्रो अत्यधीक बढ्दै गएको अन्तररष्ट्रिय चासो र तेस्रो जातीय मुद्दाहरुको बेठीक उठान हो । यसले गर्दा भोलि संविधानसभामा त्यो स्थिति बन्न सक्छ । तर, यो नारा बोकेर संविधानसभामा आउने भनेको एमाओवादी र मधेसी मोर्चाले हो । तर, यो नारा उनीहरुकै लागि प्रत्युत्पादक हुने म देख्छु । यो नाराले राष्ट्रिय राजनीतिको सन्तुलनमा कुनै ठूलो प्रभाव पार्छ र यो नाराका पक्षधरले जित्छन् भन्ने मलाई लाग्दैन ।

एमाओवादी र मधेसी मोर्चा मिलेर चुनावमा गए भने त्यसको विरोधमा आउने ‘सेन्टिमेन्ट’ले एमालेलाई फाइदा पुग्छ भन्ने तपाईको विश्लेषण हो ?

- अवश्य । पहाडबाट मात्रै होइन, स्वयं मधेसका जनता पनि ती दुबै दलसँग असन्तुष्ट छन् । जनता कांग्रेस र एमालेसँग सन्तुष्ट छन् भन्ने मेरो दाबा होइन, तर मधेसी दलहरुप्रति उनीहरुको ठूलो गुनासो छ । मधेस आन्दोलन जसरी अगाडि आयो, यसमा माओवादीविरोधी मनोविद्दनले पनि काम गरेको थियो । गौर हत्या र लाहान घटजना यसका उदाहरण हुन् । तर, यसवीचमा मधेसवादी नेताहरु यति बढी अवसरवादी भए कि जे नारा दिएर उनीहरुले चुनाव जितेका थिए, ठ्याक्कै त्यसको विपरीत ठाउँमा उभिए । उनीहरुका निम्ति सत्ता एउटा यस्तो नगर बधूजस्तो भैदियो, जसलाई पैसा दिएपछि जतिबेला पनि सँगै सुताउन सकिन्छ । यसकारण मधेसी नेताले दिने नारालाई सिंगो मधेसलाई प्रभावित गर्छ जस्तो मलाई लाग्दैन ।

सीमा अतिक्रमणका कारणले, राजनीतिक अपराधीकरणका कारणले मधेसी समुदाय निरन्तर निशाना बनिरहेका छन् । महिला हिंसा त्यहीँ चर्को छ । यी कुनै पनि एजेन्डाहरु मधेसी नेतासँग छैनन् । उनीहरुको पाखण्डलाई मधेसका जनताले राम्रोसँग बुझेका छन् । एमाओवादीले मधेसका जनताको ‘सेन्टिमेन्ट’ आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेको छ । तर, उसले मधेसी नेतालाई चिढ्याउने कुरा केही पनि गर्न सक्दैनन् । उनीहरु मिथिला, भोजपुरा र अवधको पहिचान मेटाएर मधेसी नेताहरुसँगै आत्मसमर्पण गर्न तयार छन् । त्यसकारण मधेसी दल र एमाओवाद दिुबैले मधेसमा आफ्नो धरातल गुमाएका छन् । उनीहरुले मिल्ने प्रयत्न त गर्लान् । सत्तामा टिकिराख्ने यो उनीहरुको अन्तिम हतियार हुनेछ । तर, यो हतियारले काम गर्छजस्तो मलाई लाग्दैन ।

भनेपछि आगामी चुनावमा मधेसी मोर्चा र एमाओवादीवीच तालमेल नै भए पनि एमालेलाई डर छैन ?

-एमालेलाई आफ्नो स्थिति कहाँनेर हुन्छ भन्नेमा चिन्ता छैन । तर, राष्ट्रिय राजनीतिलाई जातीय र क्षेत्रीय अतिवादको लाइनमा धु्रवीकरण गर्ने प्रयत्नचाँहि खतरनाक छ । यसले एमालेलाई नेाक्सान गर्छ कि गर्दैन भन्दा पनि यो राष्ट्रका लागि ज्यादै हानिकारक छ । त्यसकारणले यसखालको गलत विचारलई परास्त गर्नै पर्छ ।

मधेसमा मधेसवादी दलहरुमा भएको टुटफुटको फाइदा कांग्रेस, एमाओवादी वा एमालेमध्ये कसले उठाउला ? रामचन्द्र झा लगायतले पार्टी छाडेकाले एमाले मधेसमा कमजोर भएको देखिन्छ । तपाईहरुले गर्नुभएको अध्ययन अनुसार मधेसमा एमालेको वास्तविक स्थिति कस्तो छ ?

- पूर्वीमधेस र मध्य मधेसमा पहिले पनि परम्परागतरुपमा कांग्रेस बलियो थियो । गएको निर्वाचनमा कांग्रेसलाई सबैभन्दा धेरै घाटा त्यहीँ भयो । जेपी, विजय गच्छदार, शरद सिंहलगायतले कांग्रेस छाडे । अहिले त्यहाँ कांग्रेसले आफूलाई पुरानै अवस्थामा फर्काउन सकेको देखिँदैन । त्यो क्षेत्रमा हामी तुलनात्मरुपमा पहिल्यै पनि कमजोर हौं । त्यसमा एकाध नेताले पार्टी छाड्दा हामीलाई सामान्य प्रभाव परेको कुरालाई अस्वीकार गर्न सकिन्न ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment