Friday, June 28, 2013

हात्तीले राति सडक अवरुद्ध पार्‍यो

रौतहट - जंगली हात्ती गएराति पूर्व-पश्चिम राजमार्गमा बसेपछि आधा घण्टा सवारीसाधन अवरुद्ध भएको छ। हात्ती राजमार्गबको बीचमै बसेपछि दुवै तर्फबाट आउने सवारीसाधनहरु रोकिएर जाम भएको थियो। जंगलबाट आएको करिव एक दर्जन हात्तीको बथान लमहास्थित राजमार्गमा बसेको थियो।

हात्तीहरु राजमार्ग बसेपछि सवारीसाधनहरु केही बेर रोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक ध्रुवराज राउतले बताए । उनका अनुसार हात्ती राजमार्गमा बसेपछि दुवैतर्फ करिब ५० भन्दा बढी सवारीसाधन रोकिएका थिए।
हात्ती धपाउन जिल्ला वन कार्यालयले चार राउण्ड हवाई फायर गरेको थियो। हवाइ फायर गरेपछि हात्ती भागेका र राजमार्ग सुचारु भएको वन अधिकृत बाबुराम भण्डारीले जानकारी दिए। हात्ती घपाउनका लागि सुरक्षाकर्मी र यात्रुहरुले प्रयास गरेपनि हात्ती नभागेपछि बाध्य भएर हवाई फायर गर्नुपरेको उनले बताए।
केही दिनयता जिल्लाको उत्तरी क्षेत्रमा जंगली हात्तीको आतंक बढ्न थालेको स्थानीयवासीले बताएका छन्। स्थानीय रंगपुर, विश्रामपुर, बलेरी, भसेढवा, पोखरभिण्डा, हरिनगरलगायतका जंगल आसपासका गाउँमा हात्तीको आक्रमणको डरले स्थानीयबासीहरु रातभर जाग्रम बस्दै आएका छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment