Sunday, June 30, 2013

कुवेतमा नौ नेपाली ‘आपत्तिजनक’ अवस्थामा पक्राउ

बेलामौकामा नेपाली मिडियामा आउने समाचार हो- फलाना फलाना होटल वा लजमा पुलिसले छापा मार्दा यति संख्यामा जोडी ‘आपत्तिजनक’ अवस्थामा पक्राउ परे। तीन वर्षअघि त झोँक चलेर सुमिनाले ब्लगै लेखेकी थिइन्- यो आपत्तिजनक अवस्था भनेको के हो भन्दै।
अब यस्तो समाचार विदेशबाट नि आउन थालेछ। कुवेतबाट भर्खरै यस्तै समाचार आएको छ। त्यहाँ चाहिँ आपत्तिजनक हैन, ‘अनैतिक गतिविधि’ भनिने रहेछ। सुरक्षाकर्मीहरुले कुवेतको जलिब अल शुयोख क्षेत्रमा छापा मारेर पाँच नेपाली युवती र चार नेपाली युवकलाई रङ्गे हात पक्राउ गरेको छ। उनीहरुले वेश्यावृत्ति गरेको आरोप लगाइएको छ।
अरब टाइम्समा प्रकाशित खबर अनुसार फरवानियाका कार्यकारी सुरक्षा निर्देशक मेजर जनरल इब्राहिम अल तराहकहाँ त्यो क्षेत्रमा नेपाली आप्रवासीहरु वेश्यावृत्तिमा संलग्न भएको खबर आइपुगेछ। त्यसपछि अनुसन्धानका लागि उनले सुरक्षाकर्मीहरुको एउटा समूह बनाए। समूहले अनुसन्धानको क्रममा एक जनालाई ग्राहकै बनाई शंकास्पद फ्ल्याटमा पठायो। हो रैछ, केटीहरुले डेटमा जान र अनैतिक गतिविधि गर्न पैसा मागे। लौ त्यो दुइवटा शंकास्पद फ्ल्याटसम्बन्धी आएको जानकारी सही रहेछ भन्ने पुष्टि भयो।
त्यसपछि सुरु भयो आवश्यक कानुनी प्रक्रिया। प्रक्रिया पूरा भएपछि फरवानियाका सुरक्षाकर्मीहरुले ती फ्ल्याटहरुमा छापा मारे। त्यस क्रममा पाँच नेपाली महिला र चार नेपाली पुरुष रङ्गे हात फेला परे।
साथमा उनीहरुले ब्ल्यु फिल्म र अरु अश्लील सामाग्री पनि त्यहाँबाट बरामद गरे। गिरफ्तार गरिएका मध्ये दुई नेपाली महिला कम्पनीबाट भागेका रहेछन्। केरकार गर्दा उनीहरुले आफूहरु यौन व्यवसायमा लागेको स्वीकार गरे। उनीहरुले आफूहरुले पाउने पैसामध्ये आधा आफूहरुलाई ग्राहक ल्याइदिनेलाई दिनुपर्ने बताइन्।

उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ। अब सुरक्षाकर्मी उनीहरुलाई ग्राहक जुटाउने दलालहरु खोज्दैछन्।
आपत्तिजनक अवस्था भनेको के हो?

गएको साता झण्डै ६ घण्टा प्रहरीको नियन्त्रणमा बिताउनु पर्‍यो नेपाल पुलिस क्लबमा। त्यसअघि सञ्चारकर्मीहरुले अनुहार मै टाँसौला झैँ गरी क्यामेराको लेन्स तेर्स्याएर दिएको मानसिक यातना बेग्लै। हाम्रो दोष थियो- सरकारले नै अनुमति दिएर खोलेको बेबिलोन डिस्कोमा एक बिहान पुग्नु। हो, क्लास बंक गरेर स्कूल ड्रेस मै त्यहाँ जानु दोष थियो भनेर मैले यसअघिको ब्लगमा नै स्वीकार गरिसकेकी छु। तर आज फेरि पत्रपत्रिकामा देखेको आपत्तिजनक अवस्थामा १३ जना पक्राउ शीर्षकको समाचारले मलाई भन्न कर लाग्यो, आखिर प्रहरीको ध्यान यस्तो कुरामा मात्र किन? के शान्तिसुरक्षामा दिनानुदिन भइरहेको ह्रासबाट ध्यान अन्यत्र मोड्न उनीहरुले यो रणनीति अपनाएका हुन्?

मेरो सानो इमेललाई ब्लगको रुपमा प्रकाशन गरिदिएकोमा धन्यवाद। भर्खर ११ क्लासमा पढ्दैछु। नेपाली भाषा उति राम्रो आउँदैन तर अरुको जस्तो नराम्रै पनि छैन। नमिलेको भाषा मिलाएर छापिदिनुभएकोमा धन्यवाद। परिचय खुलाउन चाहँदिन। त्यसैले ब्लग सञ्चालकले राखिदिनुभएको ‘सुमिना’ नामबाट नै म अब आफ्ना भावनाहरु तपाईँ समक्ष पोख्‍नेछु ल।

अँ त म कुरा गर्दै थिएँ त्यो समाचारको। पहिला समाचारलाई राख्‍ने अनुमति चाहन्छु-
महानगरीय प्रहरी वृत्त थिमीले अरनिको राजमार्गआसपासका चारवटा रेस्टुरेन्टमा छापा मारी १३ जनालाई आपत्तिजनक अवस्थामा पक्राउ परेको छ।
प्रहरीले कौशलटारस्थित फ्रेन्डसिप रेस्टुरेन्टबाट तीन केटी र दुई केटा तथा गाघरस्थित मिडवे क्याफेबाट चार केटा र चार केटीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक राधिका खड्काले बताउनुभयो।
त्यसैगरी प्रहरीले थिमीको पुजन रेस्टुरेन्ट एवम् गेस्टहाउस र मध्यपुर गेस्टहाउसमा छापा मार्दा सबै भागेकाले पक्राउ गर्न सकेन।
प्रहरीले मिडवे क्याफेभित्रका छुट्टाछुट्टै कटेजमा यौनसम्बन्ध राखिरहेको अवस्थामा चारजोडीलाई पक्राउ गरेको हो।
पक्राउ परेका चारजोडीलाई निजको आमाबाबुलाई बोलाएर घटनाबारे जानकारी दिँदै अभिभावकको जिम्मा लगाउने र अन्य पाँचजनाको अनुसन्धान गरिने खड्काले बताउनुभयो।

माथिको समाचार पढेर मैले नबुझेको कुरा के हो भने यो आपत्तिजनक अवस्था भनेको के हो? बन्द कोठाभित्र उमेर पुगेका जोडी कस्तो अवस्थामा बस्न हुन्छ, कस्तो अवस्थामा बस्न हुन्न भनेर निर्धारण गर्ने निकाय प्रहरी हो? यदि त्यस्तै हो भने छापा मार्ने कामको नेतृत्व गर्ने हाम्री प्रहरी नायब उपरीक्षक राधिका खड्काज्युको जन्म उहाँका मातापिता आपत्तिजनक अवस्थामा कहिल्यै नबसी नै भयो होला र?
सर्वोच्च अदालतले उमेर पुगेका वयस्क पुरुष र महिलाले गर्ने यौन सम्पर्कलाई गैर कानुनी भन्न नमिल्ने फैसला अन्नपूर्ण राणाको मुद्दामा गरिसकेको छ। अर्को कुरा, सार्वजनिक स्थानमा त्यसो गर्न नपाइने कानुन छ। हुनु पनि पर्छ। तर ती जोडी सार्वजनिक स्थानमा सबैले देख्‍ने गरी त्यसरी बसेका थिएनन्, रेस्टुँराभित्रको कटेजको बन्द कोठामा थिए। बन्द कोठामा उमेर पुगेका केटा र केटीको क्रियाकलापलाई चियाएर हेर्ने अनुमति कहाँबाट प्रहरीले पायो? यो त व्यक्तिगत स्वतन्त्रता कै हनन् भएन र?
अरनिको राजमार्ग वरपरका रेस्टुरेन्टमा भएका कटेजहरुमा त्यस्तो हुने पहिलो पटक हैन। हाइवे छेउको एकान्त ठाउँमा दुई जना बस्न मिल्ने, चुकुल लगाउन मिल्ने कटेज अरु के कारणले बनाइएको होला- त्यो अहिलेसम्म प्रहरीले किन पत्ता लगाउन नसकेको ? यदि घरबाहेक बाहिर अरु कसैलाई डिस्टर्ब नहुने गरी निजी क्षणमा रम्न नपाउने कानुन छ नै भने पनि यस्ता कटेज भएका रेस्टुराँहरु किन बनाउन दिएको ? किन अनुमति दिएको ? प्रष्ट छ, प्रहरीले “हप्ता” उठाउन पाउँछ त्यस्ता रेस्टुँराका सञ्चालकहरुबाट। अहिले लेनदेन नमिलेकै कारण छापा मार्ने “नाटक” रचिएको हो।
हो, कानुनमा यौन व्यापार अर्थात् वेश्यावृत्ति वर्जित छ। तर समाचार हेर्दा त्यसो भएको पनि देखिन्न। पक्राउ परेका चारजोडीलाई निजको आमाबाबुलाई बोलाएर घटनाबारे जानकारी दिँदै अभिभावकको जिम्मा लगाउने भनिएको छ। कानुनविपरीत काम गरेको भए त किन आमाबुबालाई बोलाएर जानकारी दिनु पर्‍यो र, कानुन अनुसार कारबाही गरे भइहाल्यो नि।
प्रहरीलाई एउटा सुझाव- तपाईँहरु आफ्नै एसएसपीको घरमा डकैती हुनबाट रोक्न सक्नुहुन्न। भइसके पनि अपराधी पत्ता लगाउन सक्नुहुन्न। दिनदहाडै बीच सडकमा गोली हानेर मान्छे मार्ने घटनालाई न रोक्न सक्नुहुन्छ, न हत्यारा पत्ता लगाउन सक्नुहुन्छ। शान्ति सुरक्षामा खलल पार्ने काम उनीहरुले गरेका हुन् कि बन्द कोठाभित्र निजी क्षणमा रमिरहेकाहरुले? ल होस्, तपाईँहरुलाई मन लागेकै गर्नुछ भने के के गर्न मिल्ने के के गर्न नमिल्ने- सार्वजनिक सूचना जारी गर्नुस्-
जस्तै बिहान डिस्को जान नपाइने,
रेस्टुराँको बन्द कोठाभित्र कस्तो व्यवहार चाहिँ आपत्तिजनक नहुने?
पहिले त केटाले लामो कपाल पाल्दा पनि थुन्ने गर्नुभाथ्यो, अहिले त्यसो गर्न पाइने कि नपाइने ?
यदि प्रहरीको यस्तो व्यवहारले मानव अधिकारको हनन् गरेको छ भने किन कसैले प्रहरीविरुद्ध मुद्दा ठोक्दैन हँ? किन सबै चुप ??
स्रोत : मेरो संसार (mysansar)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment