Saturday, June 29, 2013

कोइराला अमेरिकामा अपमानित

गौतम दाहाल न्यूयोर्क,अमेरिका, असार १५ स्वास्थ्य परीक्षणका लागि न्यूयोर्क आइपुगेका कांग्रेस सभापति सुशील कोइरालालाई यसपटक अमेरिकामा निकै ठूलो झट्का लागेको छ । सन् २००६ देखि हरेक वर्ष आफ्नो उपचारका क्रममा अमेरिका आउने गरेका कोइराला पार्टी सभापति भएपछि दोस्रो पटक शुक्रवार बिहान न्यूयोर्क आइपुगेका हुन् ।

कोइराला न्यूयोर्क आउने भएपछि उनको स्वागत गर्न विमानस्थल जाऔं भन्दै सामाजिक संजाल र इमेल मार्फत न्यूयोर्कमा रहेका केही कांग्रेसीहरुले निकै हल्लाखल्ला गरेका थिए । तर, विमानस्थलमा जम्मा छ जना मात्रै पुगे । यसरी पुग्नेहरुमा कोइराला निकट केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुनप्रसाद जोशीले गत महिना अमेरिकाको जनसम्पर्क समितिको संयोजक बनाएका विष्णु सुवेदीसहित सोही समितिका प्रमोद सिटौला,मुनेन्द्र नेम्वांग र समितिका सल्लाहकार वंशलाल तामांगसहित नविन शेरचन र जेनेश गुरुङ मात्र थिए।

अमेरिकाको जनसम्पर्क समिति विवादको मूख्य जड रहेकी तथा कोइरालाले संगठन विभाग सदस्य बनाएकी मृदुला कोइराला पनि सभापति कोइरालासँगै आएकी थिइन् ।

पार्टी महामन्त्री भएदेखि कार्यवाहक सभापति हुँदै निर्वाचित सभापति हुँदासम्म हरेक पटक अमेरिका आएका कोइरालालाई यसपटक विमानस्थलमा नै अपमानित हुनुपरेको महशुस भएको छ । यस्तो अपमानको कारण पनि कोइराला निकटहरुकै कारण भएको छ ।

अर्जुन जोशीले जनसम्पर्क समितिको समन्वय विभाग प्रमुखको रुपमा सबैलाई हटाउँदै कांग्रेसका साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई राखेर विष्णु सुवेदीको संयोजकत्वमा समिति गठन गर्नु नै कोइराला अपमानित हुनुको मूख्य कारण हो भन्ने ठम्याई यहाँका कांग्रेसीहरुको रहेको छ ।

जोशीले गठन गरेको समितिमा हिजो खगेन्द्र जीसीको नेतृत्वप्रति असहमति जनाउदै राजीनामा दिएर बसेका र संगठन निर्माणमा कुनै योगदान नपुर्याएका व्यक्तिहरुलाई नै पुरस्कृत गरेपछि अमेरिकामा रहेका जनसम्पर्क समितिका अधिकांश च्याप्टरका सभापति र सक्रिय सदस्यहरुले जोशीको निर्णय स्वीकार्न नसकिरहेको स्थिति एकातिर विद्यमान छ । यस्तै विगतमा दुई छुट्टाछुट्टै समिति रहंदा एउटा समितिको कनेक्टिकटमा भएको अधिवेशनमा सहभागी भएर सदस्यमा उम्मेद्वारी दिएपनि सबैभन्दा कम मत ल्याएर शर्मनाक हार बेहोरेका विष्णु सुवेदीलाई अहिले फेरि संयोजक बनाएर मृदुला कोइराला र अर्जुन जोशीले पुरस्कृत गरेपछि आम कांग्रेसीहरु निराश हुन पुगेका कारण पार्टी सभापति स्वयम् न्यूयोर्क आउँदा पनि आम कांग्रेसीहरु उत्साहित भएर कोइरालाको स्वागतमा नगएको अनुमान गरिएको छ ।

यसलाई सुशील कोइराला स्वयम्ले पनि गम्भीरतापूर्वक लिएको नाम उल्लेख गर्न नचाहने एक कांग्रेसी नेताले जानकारी दिए । ‘यो भन्दा ठूलो झट्का सभापतिलाई के लाग्नु छ र’ प्रतिप्रश्न गर्दै ती कांग्रेसीले भने, ‘यो असहमति प्रतीकात्मक मात्रै हो । अझै पनि सभापतिले तथ्य बुझ्न सक्नु भएन भने झन् ठूलो झट्का पनि लाग्न सक्छ ।

कोइरालाको आगामी मंगलवार स्लोन क्याटरिङ्ग क्यान्सर सेन्टरमा ६ वर्ष अघि गरिएको जिब्रोको शल्यक्रियाको परीक्षण गरिनेछ । सोही क्यान्सर सेन्टरमा कोइराला परिवारकी अर्की सदस्य एवं अभिनेत्री मनिषा कोइरालाको पनि उपचार गरिएको थियो । मनिषा उपचारपछि मंगलवार मात्र मुम्बई फर्किएकी छिन् ।
साभार :
from real khabar.com

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment