Saturday, June 29, 2013

खानेपानीमा समेत शुरु भो हडताल

असार, काठमाडौं । काकाकुल शहर भनेर चिनिने काठमाडौं उपत्यकामा अत्यावश्यक खानेपानीमा समेत हडताल शुरु भएको छ । खानेपानी व्यवसायीहरुले बिहीबारदेखि अनिश्चितकालनीनरुपमा खानेपानीको बिक्री बितरण ठप्प पारेपछि उपत्यकामा खानेपानीको अभाव हुन थालेको हो । उपत्यकामा पानी व्यवसायीहरुले कुल मागको झण्डै ७० प्रतिशत पानी आपूर्ति गर्दै आएका छन् ।
‘राजधानीबासीलाई पानी खुवाउँदै आएका व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको छ’ संयूक्त संघर्ष समितिका संयोजक विष्णु दाहालले भन्नुभयो- ‘हामीले जायज मागहरु राखेर सरकारलाई पटक-पटक ध्यानकर्षण गराउँदा पनि सरकारले अटेर गरेपछि बाध्य भएर पानीको बिक्री बितरण ठप्प पारेका हौं ।’काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) का अनुसार अहिले राजधानीमा दैनिक ३७ करोड लिटर पानीको आवश्यकता रहेको छ । केयुकेएलले दैनिक १४ लाख लिटर खानेपानीको आपूर्ति गर्दै आएको बताउँदै आएको छ । त्यसमा पनि ३० प्रतिशत पानी चुहावट हुने गरेको केयुकेएलको अनुमान रहेको छ ।
खानेपानी अतिआवश्यक वस्तु मानिन्छ । राजधानीमा पानीको अधिकांश माग थेग्दै आएका व्यवसायीहरुले विभिन्न मागहरु राखेर वैशाखदेखि आन्दोलनमा उत्रिएका थिए । माग पुरा नभए पानीको आपूर्ति ठप्प पार्ने चेतावनी दिँदै आएपनि सरकारले त्यसतर्फ ध्यान नदिएका कारण अहिले व्यवसायीहरुले अत्यावश्यक वस्तु पानीको आपूर्ति ठप्प पारेको उपभोक्तावादीहरु बताउँछन् । सहरी विकास मन्त्रालयका सचिवसँग ३ पटकसम्म वार्तामा बसे पनि माग सम्बोधन गर्ने लक्ष्यण नदेखाएको व्यवसायीहरुको आरोप छ ।
अहिले उपत्यकामा ७ सयभन्दा बढी ट्याङ्करहरुले खानेपानी आपूर्ति गर्दै आएका छन् । व्यवसायीहरुले खानेपानी उद्योगलाई व्यवस्थित गर्नुपर्ने, ट्याङ्करको गुणस्तर मापदण्ड स्पष्ट पार्नुपर्ने, लाइसेन्स दिएका उद्योग बन्द गर्दा अथवा अन्यत्र सार्दा यथोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलनमा उत्रिएका छन् । उपत्यकामा ७ सय ट्याङ्कर गुड्छन्’ संयोजक दाहालले अनलाइनखबरसँग भन्नुभयो- ‘७ सय ट्याङ्कर व्यवस्थित गर्न नीति चाहियो, कस्ता ट्याङ्करले खानेपानी बोक्न पाउने कस्ता ट्याङ्करले नपाउने भन्ने स्पष्ट हुनुपर्छ ।’ खानेपानीको नीति नहँुदा व्यवसायिक सुनिश्चितता समेत नभएको व्यवसायीको गुनासो रहेको छ ।
सरकारले माग पूरा नगरेसम्म पानीको बिक्री बितरण ठप्प पार्ने बताउँदै संयोजक दाहालले भन्नुभयो- ‘बन्द हड्तालमा नउत्रिँदासम्म सरकारले टेर्दै टेर्दैन ।’ तर, खानेपानीजस्तो अत्यावश्यक चिजमा हडताल गरेपछि उपभोक्ताहरु भने मारमा पर्न थालेका छन् ।
उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघ, नेपाल वोटल वाटर उद्योग संघ, उपत्यका खानेपानी ट्याङ्कर तथा वोरिङ व्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ ट्याङ्क मुल समितिले संयूक्त रुपमा ढुवानी, बिक्री-बितरण ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment