Wednesday, June 19, 2013

मूल्य अभिबृद्धि करको ‘थ्रेसहोल्ड’ हटाउन माग

काठमाडौं, असार ५ । नेपाल उद्योग परिसंघले मूल्य अभिबृद्धि करको सीमा हटाउन माग गरेको छ । बुधबार परिसंघले गरेको पूर्व बजेट छलफलमा भ्याटको थ्रेसहोल्ड हटाएर करको दायर बढाउन सुझाब दिएको हो । उनीहरुले बजेट निजी क्षेत्र मैत्री हुनेमा आफुहरु आशावादी रहेको पनि बताएका हुन् ।
परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले बजेट समानुपातिक वितरण नभई आवश्यकता अनुसारका क्षेत्रमा विनियोजन गर्न सुझाव दिए ।

आगामी बजेटबाट निजी क्षेत्रले धेरै अपेक्षा राखेको भन्दै उनले बजेट आयात प्रतिस्थापनमा केन्द्रित हुनुपर्ने बताए । परिसंघका निवर्तमान अध्यक्ष उद्योगपति विनोद चौधरीले सरकार राजश्व संकलन र रेमिट्यान्सतर्फ मात्रै केन्द्रित हुँदा विकास बजेट खर्च हुन नसकेको भन्दै विकास बजेट सदुपयोग हुने वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लहाकार डा. चिरञ्जीवी नेपालले आगामी बजेट निजी क्षेत्रको अपेक्षा परिपूर्तिमा केन्द्रित हुने आश्वासन दिए ।

आगामी बजेटका लागि परिसंघका तर्फबाट सुझाव प्रस्तुत गर्दै उपाध्यक्ष हरिभक्त शर्माले चन्दा माग्ने कार्यलाई निरुत्साहित गर्न आग्रह गरे । चन्दालाई पनि खर्चमा रुपान्तरण गर्न पाउने व्यवस्था गर्न पनि निजी क्षेत्रले माग गरेको छ ।

परिसंघले हाउजिङ तथा अपार्टमेन्टमा विदेशी र गैरआवासीय नेपालीको लगानी सहज गराउन लगानीको सीमा २ लाख डलरबाट घटाएर ५० हजार डलर बनाउन सुझाव दिएको छ ।

परिसंघले उद्योगका लागि जग्गा पाउन कठिन बन्दै गएको भन्दै पूर्व माओवादी लडाकूका शिविर भएको स्थान वा अन्यत्र औद्योगिक क्षेत्र विकास गरी उद्योगीलाई विक्री वा भाडामा दिने व्यवस्था गर्न पनि माग गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment