Tuesday, June 18, 2013

उपराष्ट्रपति झाको चासोपछि झस्किए चिनियाँ

काठमाडौं— चीनमा पढेका चिकित्सकको क्षमतालाई लिएर उपराष्ट्रपति परमानन्द झाले चीन भ्रमणका बेला त्यहाँका उच्च सरकारी अधिकारीसँग कुरा उठाएपछि चीन सरकारले पहिलोपटक यसबारे चासो देखाएको छ। नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ परीक्षामा चीनमा पढेर फर्किएका विद्यार्थी ठूलो संख्यामा फेल हुने गरेका छ्। यस विषयमा काउन्सिलले पटकपटक ध्यानाकर्षण गराउन खोजे पनि चिनियाँ दूतावासले बेवास्ता गर्दै आएका थियो।

'हामीले यसअघि नै पटकपटक इमेल र पत्रमार्फत समस्या अवगत गराएर छलफलका लागि दूतावाससँग समय मागेका थियौं,' मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले भने, 'पहिला कुनै प्रतिक्रिया आएन, अहिले त उहाँहरु आफैं आउनुभएको छ।' डा. गजुरेलले उपराष्ट्रपतिले चीन भ्रमणमा कुरा उठाएपछि उनीहरुले चासो दिएको भन्ने आफूले सुनेको बताए।

उपराष्ट्रपति झाले गत जेठ २१ देखि २६ सम्मको चीन भ्रमणमा त्यहाँका उच्च अधिकारीसँग चीनमा पढेका चिकित्सक नेपालमा ठूलो संख्यामा फेल हुने गरेको भन्दै चासो देखाएका थिए। उपराष्ट्रपति भ्रमण टोलीका सदस्यसमेत रहेका उपराष्ट्रपति कार्यालयका सहसचिव रविन्द्रमोहन भट्टराईले चिनियाँ उच्च अधिकारी एवं मन्त्रीसँगको भेटमा उपराष्ट्रपतिले चीनमा पढेका चिकित्सकको गुणस्तरबारे पटकपटक जिज्ञासा राखेको बताए।

उपराष्ट्रपति नेपाल फर्किएलगत्तै नेपालस्थित चिनियाँ दूतावासका शिक्षा हेर्ने प्रमुख कल्चर सेक्रेटरीसहितको टोली नेपाल मेडिकल काउन्सिल पुगेको थियो। स्रोतका अनुसार चिनियाँ अधिकारीहरुले एकीकृत माओवादी नेता शक्ति बस्नेतमार्फत् नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसँग भेट्ने समय मिलाएका थिए। चिनियाँ टोलीले काउन्सिल पदाधिकारीसँग केही वर्षयताको लाइसेन्सिङ परीक्षाको नतिजा र बढी अनुत्तीर्ण हुने कारणबारे छलफल गरेका थिए। 'फेल भएकाको तथ्यांक माग्नुभयो, र केही छलफलसमेत भयो,' गजुरेलले भने।

एमबिबिएस अध्ययनका लागि सबैभन्दा बढी विद्यार्थी जाने चीनबाट पास गरेर आएकाहरु काउन्सिलको परीक्षामा २५ पटकसम्म फेल भएपछि काउन्सिलले दूतावासका अधिकारीसँग छलफल गर्न पत्राचार गरेको थियो। एमबिबिएस सकेपछि चिकित्सकले अभ्यास सुरू गर्नुअघि काउन्सिलले लिने लाइसेन्सिङ परीक्षा पास गर्नुपर्ने नियम छ। उक्त परीक्षामा ठूलो संख्यामा चार पटक र केही २५ पटकसम्म फेल भएका छन्। झन्डै चार वर्षअघि स्वास्थ्य मन्त्रालयले चीनम पढेका विद्यार्थीलाई नेपालका अस्पतालमा प्रि–इन्टर्नसीप गर्नसमेत नदिने निर्णय गरेको थियो।

काउन्सिलले नेपाल र विदेशमा पढेर फर्किएकालाई लक्षित गरी वर्षमा तीनपटक लाइसेन्सिङ परीक्षा लिन्छ। पछिल्लोपटक गत चैत २४ गते सञ्चालित परीक्षामा चीनबाट पढेर आएका २ सय ५७ जना सहभागी भएकोमा १ सय ६९ जना फेल भएका थिए।

गत मंसिर ३० मा सञ्चालित परीक्षामा १ सय ७८ सहभागी भएकोमा १ सय २९ जना र भदौ २ मा सञ्चालित परीक्षामा २ सय २५ सहभागी भएकोमा १ सय २३ जना फेल भएका थिए।

भ्रमणमा सहभागी उपराष्ट्रपति कार्यालयका सहसचिव रविन्द्रमोहन भट्टराईले झाले चीनमा प्रान्तीय नेता (प्रोभियन्सियल लिडर)को बैठकदेखि विभिन्न मन्त्रीसँगको भेटमा चीनमा पढेर फर्केका डाक्टर काउन्सिलको परीक्षामा फेल भएको कुरा उठाएको बताए। 'महामहिमले फेलको कारणबारे उच्च अधिकारीसँग चीनको पढाई कमजोर हो कि, हाम्रो परीक्षा कडा भएर हो, वा नेपाली विद्यार्थी सुहाउँदो कोर्स नभएर हो भन्ने जिज्ञासा राख्नुभएको थियो,' भट्टराई भने। जवाफमा चीनका शिक्षामन्त्रीले ग्रामीण क्षेत्रका विश्वविद्यालयमा अनुगमन नपुगेर समस्या देखिएको हुनसक्ने र त्यसलाई गम्भीरतापूर्वक हेर्ने बताएको उनले बताए।

भट्टराईका अनुसार उपराष्ट्रपतिको भ्रमणअघि शिष्टाचार भेट गर्न नेपाल आएका शिक्षा सहायक मन्त्रीलाई समेत उपराष्ट्रपतिले यही विषयमा जिज्ञासा राखेका थिए। काउन्सिल स्रोतअनुसार काउन्सिल आएका दूतावास पदाधिकारीरे यसबारे ठूलै दबाब आएको संकेत गरेका थिए। 'चीनमा जुन तहका अधिकारीलाई भेट्दा पनि उही विषयमा चासो देखाएकोले होला चिनियाँले निकै दबाब महसुस गरेरै आएका होलान्,' काउन्सिल स्रोतले भन्यो, 'यसअघि उनीहरु यति संवेदनशील भएको भए चीनको एमबिबिए यति बदनाम हुँदा किन चुप लागेर बस्थे र?'

काउन्सिल पदाधिकारीका अनुसार प्रत्येक वर्ष चीनमा औसत ३ देखि ४ सय नेपाली विद्यार्थी एमबिबिएस पढ्न जाने गरेका छन्। एक वर्ष चिनियाँ भाषा पढेर सोही भाषामा मेडिकल पढेका चिकित्सकको गुणस्तर भने निकै राम्रो छ। काउन्सिल परीक्षामा पटक/पटक फेल हुनेमध्ये अधिकांश चिकित्सक विदेशीका लागि लक्षित अंग्रेजी भाषामा पढाई हुने विश्वविद्यालयका उत्पादन हुन्। 'त्यहाँ उत्पादित चिकित्सकले नेपालमा अभ्यास गर्ने हो भन्ने ठानेर लापरवाही गरिएको हुनसक्छ,' डा. गजुरेलले भने, 'त्यहाँ जसोतसो पास भएर नेपाल आउँछन्, राम्रोसँग नसिकेपछि नेपालको परीक्षामा फेल हुन्छन्।'

चिनियाँ भाषामा र सरकारी छात्रवृत्तिमा पढेका चिनियाँ उत्पादन नेपालमा पनि राम्रा चिकित्सकमा गनिन्छन्। पछिल्लो समयमा जथाभावी पढेर फर्किने प्रवृत्तिले चीनको चिकित्सक उत्पादन निकै बदनाम हुने गरेको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment