Friday, June 21, 2013

लागुऔषध खोज्न होस्टलमा प्रहरी छड्के

काठमाडौं - होस्टलमा विद्यार्थीसँग लागुऔषधसमेत फेला पर्न थालेपछि प्रहरीले निजी होस्टलहरुको छड्के जाँच सुरु गरेको छ। करिब पाँच सय होस्टलमध्ये शंकास्पद गतिविधि देखिएका ५२ वटालाई लक्ष्य गरेर मंगलबारबाट लागुऔषध नियन्त्रण ब्युरोको छड्के जाँच सुरु भएको हो।

प्रहरीले लागुऔषध पत्ता लगाउने तालिमप्राप्त चार वटा कुकुर र १५ प्रहरीसहित शान्तिनगर, मैतिदेवी र पुतलीसडक क्षेत्रका पाँच वटा महिला तथा पुरुष बस्ने होस्टलमा छड्के जाँच गरेको थियो।
शंखमुलको स्ट्यान्डर्ड ब्वाइज, शान्तिनगरको नव स्वर्णिम संसार, मैतिदेवीको मैतिदेवी ब्वाइज, न्युप्लाजाको दिदीबहिनी गल्स र ओम गल्स होस्टलमा छापा मार्दा सुरक्षा प्रवन्ध सन्तोषजनक नदेखिए पनि लागुऔषध भने फेला परेन।
ब्युरोका एसएसपी रणबहादुर चन्दले लागुऔषध कारोबारीले होस्टललाई माध्यम बनाएर उच्चशिक्षा पढिरहेका विद्यार्थीलाई लागुऔषधको लतमा फसाउने गरेको देखिएपछि छड्के जाँच सुरु गरिएको बताए।
'सूचनाका आधारमा शंकास्पद सूचीमा रहेका होस्टलमध्ये पाँच वटामा लागुऔषध पत्ता लगाउने कुकुरसहित छड्के जाँच गरेका थियौं,' चन्दले नागरिकसँग भने, 'त्यस्तो शंकास्पद केही फेला परेन।'
प्रहरीको अनुसन्धानमा उच्चशिक्षा अध्ययन गर्ने उमेर समूहकाहरुको संख्या दुर्व्यसनमा बढेको देखिएपछि होस्टल र विद्यालयलाई कारोबारीले सहजै उपयोग गरिरहेको देखिएको थियो। ब्युरोले गरेको अनुसन्धानमा युवा उमेरका लागुऔषध प्रयोगकर्ताले साथीभाइबाटै लागुऔषध लिने गरेको र प्रारम्भमा प्रयोगकर्तामात्र रहेको, दुर्व्यसनी पछि बिक्रेता र प्रयोगकर्तासमेत बनेको देखिएको थियो।
सोही अनुसन्धानमा लागुऔषध दुर्व्यसनमा प्रवेशिका उत्तीर्ण र दस जोड दुई पढिरहेका विद्यार्थीको संख्या उच्च देखिएको थियो। निजी रुपमा सञ्चालित बानेश्वर र बुद्धनगरको होस्टललाई कारोबारीले उपयोग गरी खैरो हेरोइनको कारोवार मात्र हैन, होस्टलभित्रै दुर्व्यसनी लगेर सेवन नै गराउने गरेको घटना फेला पारेपछि प्रहरीको ध्यान होस्टलतिर तानिएको थियो।
ब्युरोको प्रहरी टोलीले गत वर्ष भदौ १५ मा बानेश्वरको नवजीवन होस्टलमा छापा मार्दा विद्यार्थीले भान्साको थाललाई ब्राउन सुगर तताउन र पन्युलाई चरेस तान्ने साधन बनाएको फेला पारेको थियो। लगत्तै ब्युरोकै प्रहरी टोलीले बुद्धनगरको ग्लोबल ब्वाइजको अवस्था पनि उस्तै फेला पारेपछि १४ जनालाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका विद्यार्थीलाई अभिभावकको जिम्मामा छाडेको प्रहरी सोही घटनापछि होस्टलकेन्द्रित रणनीति बनाउन सक्रिय भएको थियो।
होस्टलमा बस्ने विद्यार्थीलाई प्रारम्भमा दुर्व्यसनी बनाएर पछि उनीहरुलाई नै कारोवारी बनाउँदै लागुऔषध बेच्ने दुई कारोवारीलाई ब्युरोले पक्रिसकेको छ। नेपालगन्जमा सक्रिय कारोवारीबाट खैरो हेरोइन ल्याएर होस्टलका विद्यार्थीलाई आपूर्ति गर्ने गरेको अभियोगमा भीमबहादुर एडी र रोहित पुन पक्राउ परेका थिए।
छड्केअगाडि ब्युरोले दुई पटक होस्टल सञ्चालकसँग छलफल गरेको थियो। छलफलमा प्रहरीले होस्टलको आवरणमा हुने गरेको लागुऔषध कारोवारबारे जानकारी दिँदा पनि नसुध्रेको होस्टलहरुको सूची बनाएर छड्के जाँचको योजना कार्यान्वयनमा ल्याएको चन्दले जानकारी दिए।
दर्तै नगरी खुलेका होस्टल प्रहरीको मुख्य तारोमा छन्। कतै दर्ता पनि नगर्ने, सुरक्षा प्रवन्ध पनि नगर्ने होस्टलको सूची तयार पारेर एकै पटक कारबाहीको तयारी भइरहेको एसएसपी चन्दले बताए।
ब्युरोले यसअगाडि प्रहरीमात्र परिचालन गरेर लागुऔषध कारोवार हुनसक्ने शंकास्पद क्षेत्रमा जाँच गर्दै आएको थियो। पछिल्लो समय उसले लागुऔषध पत्ता लगाउने तालिमप्राप्त कुकुरलाई जाँचमा नियमित उपयोग गर्ने गरेको छ। चन्दका अनुसार यस अगाडि ठमेल, बसपार्क, काठमाडौं–खासा चल्ने सवारीसाधनको जाँचमा कुकुरको प्रयोग गरे पनि उल्लेखनीय नतिजा भने आएको छैन।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment