Thursday, June 20, 2013

हुरुक्कै हुने समर्थकलाई नतिजा दिने तयारी

काठमाडौं - घरेलु मैदानमा हुने साफ फुटबल च्याम्पियनसिपको आठौं संस्करणलाई राष्ट्रिय टोलीको प्रारम्भिक तयारी सुरु भएको छ। सिनियर र यु–२३ लक्षित गरेर प्रारम्भिक तयारीमा ७० भन्दा बढी खेलाडी बोलाइएको छ। तिनैबाट राष्ट्रिय टोलीको अन्तिम छनोट गरिने योजना छ। पछिल्लोपल्ट राष्ट्रिय टोलीमा रहेका २० तथा विभिन्न घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका अन्य ५० भन्दा बढी खेलाडी प्रारम्भिक तयारीमा बोलाइएको एन्फाका टोली व्यवस्थापक ललितकृष्ण श्रेष्ठले जानकारी गराए।

केही दिनको प्रशिक्षणपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्कीले पहिलो चरणको छनोटमा ३५ देखि ४० खेलाडी राख्ने योजना बनाएका छन्। 'खेलाडी छनोटकै प्रक्रियामा छौं। केही दिनमा पहिलो चरण छनोट हुनेछ,' उनले नागरिकलाई योजना सुनाए।
दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा कडा चुनौती पेश गर्ने लक्ष्य लिएका स्टेफानोस्कीलाई अर्का प्रशिक्षक रिचार्ड ओर्लोस्की र प्राविधिक प्रमुख कृष्ण थापाले सघाइरहेका छन्।
१६ वर्षपछि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रको प्रतिष्ठित प्रतियोगितामा नेपाली समर्थकले राष्ट्रिय टोलीबाट सफल नतिजा अपेक्षा राख्नु स्वाभाविक हुने स्टेफानोस्की बताउँछन्। 'नेपाली दर्शक फुटबलप्रति हुरुक्कै हुन्छन्। उनीहरूले राष्ट्रिय टोलीबाट सफल नतिजा अपेक्षा गर्नु जायज छ,' उनले भने, 'घरेलु मैदानमा हुने प्रतियोगितामा दर्शकको आशा झनै बढी हुन्छ।'
सात महिना यता राष्ट्रिय टोली सम्हालिरहेका स्टेफानोस्कीले समर्थकको अपेक्षा अनुरुप प्रदर्शन दिनु जरुरी ठानेका छन्। 'हामी च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गर्दैछौं,' उनले भने, 'यो सहज काम पक्कै होइन। तर, अहिले आत्तिनु पर्ने केहि छैन। हामीसँग पर्याप्त समय छ, कमजोरी पत्ता लगाएर तीनलाई सुधार्ने काम गर्छौ।'
साफ च्याम्पियनसिप भदौ १६ देखि २६ गते सम्म दशरथ रंगशालामा हुँदैछ। सन् १९९७ मा नेपालमै साफ च्याम्पियनसिपको पहिलो संस्करण भएको थियो।
नेपाली टोलीसँगै स्टेफानोस्की पनि दबाबमा छन्। गत बर्षको अन्तिममा नेपाली टोली एएफसी च्यालेन्ज कपको समूह चरणबाटै बाहिरीएपछि उनीमाथि प्रश्न खडा भएको छ। 'फुटबलमा नजिता आवश्यक छ। हामी त्यसलाई लक्ष्य गरेर तयारी गर्नेछौं,' उनले योजना सुनाए, 'फिटनेस नियमित प्रक्रिया हो। त्योसँगै टेक्निकल र ट्याकटिलक पाटोलाई पनि सँगसँगै अघि बढाइनेछ। '
स्टेफानोस्कीको नजरमा साफ च्याम्प्यिनसिपमा भारत, माल्दिभ्स र अफगानिस्तान कठिन प्रतिद्वन्द्वी हुन्। 'फुटबलमा यो क्षेत्रका बलिया राष्ट्र तीनै हुन्। साफ च्याम्पियसिपका लागि उनीहरुले पनि राम्रो तयारी गर्नेछन्,' उनले थपे, 'च्याम्पियनसिप निकै प्रतिस्पर्धात्मक हुनेछ। यद्दपी क्षमता अनुरुप प्रदर्शन गर्यौंग भने डराउनु आवश्यक छैन।'
कमजोर टोलीविरुद्ध बाहेक लामो समयदेखि राष्ट्रिय टोलीका स्ट्राइकर नचल्दा स्टेफानोस्की चिन्तित छन्। 'स्ट्राइकर हाम्रो लागि समस्या बनेको छ। त्यसमा पर्याप्त ध्यान दिएका छौं। मुख्य स्ट्राइकर को हुन सक्छ प्रशिक्षणमा त्यो हेरिनेछ। त्यसबाहेक मिडफिल्ड र रक्षापक्तिमा पनि उत्तिकै ध्यान दिनेछौं,' उनले भने, 'समग्रतामा उत्कृष्ट टोलीका साथ हामी उत्रने छौं।'
एन्फाका उपाध्यक्ष एवंम् प्रवक्ता श्रेष्ठ साफ च्याम्पियनसिपलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन्। 'यो दक्षिण एसियाकै प्रतिष्ठित प्रतियोगिता हो। अघिल्लो संस्करणमा सेमिफाइनल पुगेका थियौं,' श्रेष्ठ भन्छन्, 'यो पटक उपाधि जित्ने लक्ष्यका साथ तयारी गरिरहेका छौं।' साफ च्याम्पियपनसिप जिते टोलीका सबै खेलाडीलाई राजधानीमा अपार्टमेन्ट दिने एन्फाले चार महिनाअघि घोषणा गरिसकेको छ।
'प्रशिक्षकको योजनाअनुरुप तयारी अघि बढिरहेको छ,' श्रेष्ठले भने, 'म्याच एक्सपोजरका लागि विदेशमा केही मैत्रीपूर्ण खेलका लागि पहल भैरहेको छ।' तीन चार वटा मैत्रीपूर्ण खेलका लागि पहल भएपनि सबै टुंगो लागिनसकेको श्रेष्ठले बताए।

साफ च्याम्पिनसिपमा नेपालको यात्रा
साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन। नेपालको सबैभन्दा सफल नतिजा सेमिफाइनल सम्म पुग्नु हो। सन् १९९९ र २०११ मा दुईपटक बाहेक नेपाल सेमिफाइनल सम्म पुग्न सकेको छैन। साफ च्याम्पियसिपमा नेपालले अहिले सम्म २२ मध्ये ६ जित, ३ बराबर र १३ खेलमा हार बेहोरेको छ।
साफ च्याम्पियनसिपमा सर्वाधिक सफल राष्ट्र भारत हो। भारतले पाँच तथा माल्दिस र बंगलादेशले एक एक पटक यो उपाधि जितेका छन्।


बर्ष विजेता उपविजेता नतिजा आयोजक
१९९७ भारत माल्दिभ्स ५–१ नेपाल
१९९९ भारत बंगलादेश २–० भारत
२००३ बंगलादेश माल्दिभ्स १–१ (टाइब्रेकर ५–३) बंगलादेश
२००५ भारत बंगलादेश २–० पाकिस्तान
२००८ माल्दिभ्स भारत १–० श्रीलंकारमाल्दिभ्स
२००९ भारत माल्दिभ्स ०–० (टाइब्रेकर ३–१) बंगलादेश
२०११ भारत अफगानिस्तान ४–० भारत

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment