Friday, June 21, 2013

‘अप्रिल फुल’ र ‘ढुकुटी’ भिड्दै

काठमाडौं, असार ७ – फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आउने भएका छन् ।
यो साता अप्रिल फुल र ढुकुटी भिड्ने भएका हुन् । दुवै चलचित्र सामाजिक सन्देश बोकेका चलचित्रहरु हुन् ।
तर अप्रिल फुलको प्रोमो हेर्दा भने यो चलचित्र अश्लील रहेको अनुमान लगाउन सकिन्छ । अल नेपाल रिलिज भएका दुवै चलचित्र एभरेज लगानीमा निर्माण भएका छन् । चलचित्र अप्रिल फुलको लगानी पब्लिसिटी खर्च बाहेक ४० लाख हो भने ढुकुटी ४५ लाखमा बनेको चलचित्र हो ।
थर्ड टिम फिल्मस्को ब्यानरमा बनेको चलचित्र अप्रिल फुललाई भद्र भुजेलले निर्देशन गरेका छन् । चलचित्रमा सुमिना घिमिरे, कुमार लामिछाने, महिमा सिलवाल, देशभक्त खनाल, विनोद न्यौपाने, मनोज लामिछानेलगायतका कलाकारको अभिनय हेर्न पाइन्छ ।
अप्रिल फुल मनाउँदा रमाईलो गर्ने क्रममा त्यसले निम्त्याउने परिणाम कस्तोसम्म हुन सक्छ भन्ने कुरा चलचित्रले देखाउछ ।
चलचित्रमा नायिका सुमिनाले दिएको उत्तेजक दृश्यले राम्रै चर्चा पायो । प्रोमो हेरेर अश्लील चलचित्र झैं लाग्ने यो चलचित्र अश्लिल र यौनप्रधान नभएको निर्माण पक्षले दावी गरेको छ ।
साथीभाई र आफन्तलाई ढाँट्दा त्यसले कस्ता कस्ता परिणाम निम्त्याउँछ भन्ने कुरा देखाउन खोजिएको निर्देशक भुजेलले बताए । यता नायिका सुमिना पनि चलचित्र भल्गर नभएको दावी गर्छिन् ।
चलचित्रलाई टिकाराम विष्ट र विनोद लामिछानेले मिलेर बनाएका हुन् । दीपक शर्माको संगीत रहेको चलचित्र रामशरण उप्रेतीले खिचेका हुन् । सूर्य थोकरको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ चलचित्र अप्रिल फुलमा ।
चलचित्रले काठमाडौमा १२ वटा सहित अल नेपाल ४० वटा हल पाएको छ ।
चलचित्र ढुकुटीले भने नेपाली समाजमा पछिल्लो समय बढेको ढुकुटी खेल्ने, खेलाउने संस्कृतिको बारेमा देखाउन खोजेको छ । ढुकुटी खेल्ने फेसनले कसरी मानिसलाई रातारात घरबार विहीन बनाउँछ, कसरी सडकमा पुर्‍याउँछ भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ ।
नेपालमा ढुकुटी खेल्ने, खेलाउने दुबै कामलाई अवैध मानिन्छ । यही अवैध धन्दा र त्यसले व्यक्ति र समाजमा पार्ने नकारात्मक असर चलचित्रले पर्दामा उतारेको छ ।
चलचित्रलाई डिके पुनले निर्देशन गरेका हुन् । धिरेन शाक्य, झरना थापा, प्रिया रिजाल, राज लामिछाने, कमल गाँउलेलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा नायिका झरना थापाले ढुकुटी खेलेर फसेको चरित्र निर्वाह गरेकी छिन् ।
रेशम सापकोटाको कथा, पटकथा, संवाद र गीत रहेको यो चलचित्रमा रञ्जीत गजमेरको संगीत रहेको छ । चलचित्रलाई यम आलेले खिचेका हुन भने रोशन श्रेष्ठको द्वन्द्व र शिव विकको नृत्य रहेको छ । चलचित्रले काठमाडौंमा १४ सहित अल नेपाल ३२ वटा हल पाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment