Sunday, June 16, 2013

सिड्नीबाट हेल्प नेपाललाई ३५ हजार डलर, एक करोड रुपैयाँ उठाउने लक्ष्य


सिड्नी — नेपालमा परोपकारी कार्यमा सक्रिय हेल्प नेपाल नेटवर्कका लागि अस्ट्रेलियाबाट एक करोड रुपैया संकलन गरिने भएको छ। हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाको दशौँ वार्षिक उत्सवको अवसर पारेर शनिवार सिड्नीबाट शुरु भएको अर्थ संकलन कार्यक्रममा उक्त जानकारी दिइएको हो। नेटवर्कका संस्थापक अध्यक्ष एवं पत्रकार रवीन्द्र मिश्रको उपस्थितिमा सिड्नीमा शनिवार भएको 'फण्ड रेजिङ डिनर'मा करिव ३५ हजार अस्ट्रेलियन डलर संकलन भएको छ।

नेटवर्कका सिड्नी च्याप्टर संयोजक हर्ष गौतमले दिएको जानकारी अनुसार सहयोग आउने क्रम अझै जारी छ। कार्यक्रममा संस्थापक अध्यक्ष मिश्रले नेटवर्कमर्फत् देशका बिभिन्न जिल्लाहरुमा सञ्चालित शिक्षा, स्वास्थ्य र आपतकालीन सहयोगका कार्यक्रमबारे जानकारी दिए। ' नेपालीले नेपालीलाई सहयोग गर्नु पर्छ भन्ने भावनाले यो अभियान शुरु भएको हो', मिश्रले अस्ट्रेलियामा बसेर अध्ययन र ब्यवसाय गरिरहेका नेपालीलाई अभियानमा सहयोग गर्न आग्रह गर्दै भने- 'महिनामा एक कप कफी वा एक बोतल वियर कम खानुहोस् त्यो पैसा नेपालमा परोपकारका लागि पठाउनुहोस्।'

सिड्नीमा भएको कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपाल, न्यु साउथ वेल्सका लागि बाणिज्यदुत दिपक खड्का, हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाका संयोजक राजु अधिकारी, सिड्नका संस्थाप संयोजक इन्द्रा वनले अभियानको सफलताको लागि शुभकामना दिएका थिए।

अर्थ संकलन कार्यक्रम संयोजक डिला खरेलका अनुसार सिड्नी बाहेक मेलवर्न, एडिलेट, ब्रिसवेन, पर्थ र क्यानवेराका साथै छिमेकी देश न्युजिल्याण्डका शहरहरुमा पनि अर्थ संकलन कार्यक्रम हुँदैछन् ।

नेटवर्कले शुरु गरेको १० करोड काल्याणकारी कोषको लागि अर्थ संकलन अभियान अन्तर्गत अष्ट्रेलियामा यो कार्यक्रम भैरुहेको हो। हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाले अहिले सम्म बिभिन्न २२ वटा परियोजनाका लागि एक लाख १० हजार अस्ट्रेलियन डलर सहयोग गरिसकेको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment