Monday, June 17, 2013

वैद्यको बिचल्ली

यो देशमा जीवित ठूला नेतामध्ये सबैभन्दा इमानदार र निष्ठाको राजनीति गर्ने नेता मोहन वैद्य 'किरण’ हुन् भन्न सकिन्छ। यिनमा र नेपाली कांग्रेसका सभापति सुशील कोइरालामा केही समानता छन्। यी दुवै नेतालाई कसैले तपार्इँलाई यति लाख वा यति करोड फाइदा दिन्छु मेरो फलानो काम गरिदिनुस् भन्ने आँट गर्न सक्दैन। यिनले देश बेचेर आफ्नो स्वार्थ पूरा गर्दैनन् भन्नेमा पनि ढुक्क हुन सकिन्छ। वैद्यको अर्को राम्रो पक्ष के छ भने यिनको दल नेकपा–माओवादीमा माउ दल एनेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा एमालेमा भन्दा धेरै इमानदार र निष्ठाको राजनीति गर्ने नेता छन्। तर यही नै वैद्यको सबैभन्दा ठूलो समस्या भयो। किनभने यिनका सम्पूर्ण इमानदार र निष्ठावान भनिएका नेता राजनीतिक अधिकारका मामलामा अति अलोकतान्त्रिक विचार राख्छन्। यिनीहरू राजनीतिक शक्ति कसैलाई दिनुहुँदैन, आर्‍नो एउटा दलको मात्र पेवा बनाउनु पर्छ र त्यसको सम्बर्द्धनका लागि कुनैपनि प्रकारको संघर्ष वा हिंसामा उत्रनु पनि उचित हुन्छ भन्ने मान्यता राख्छन्। यिनको लक्ष्य 'जनवाद' कम्युनिज्म हो। आफ्नो र आफ्ना नेताहरूको जडसूत्रवादका कारण समस्यामा परेका छन् नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य। र, उनको पार्टी बिचल्ली हुने अवस्थामा पुगेको छ।

प्रतीक प्रधान
प्रतीक प्रधान नागरिक दैनिकका प्रधान सम्पादक हुन्।
Email prateekp@gmail.com
लेखकबाट थप
निर्वाचनका सर्त
एनेकपा (माओवादी)बाट टुक्रिनु वैद्य तथा उनका सहयोगीका लागि सायद बाध्यता नै थियो। करिब १७ हजार नेपाली नागरिकको ज्यानको सिँढी बनाएर सत्तामा पुगेको दलका नेता तथा कार्यकर्ताले आफ्नो स्वार्थबाहेक अरू केही देखेनन्। माओवादी कार्यकर्ता भन्नासाथ नवधनाढ्य र उन्मुक्त अपराधी भनेर चिनिइने अवस्था उत्पन्न भयो। घर जग्गामा लगानी गर्ने, नयाँ नयाँ मोटर र मोटर साइकल किन्ने, भट्टी र दोहोरी रंगाउने र जोसुकैलाई पनि कुनै पनि बहानामा धम्क्याएर आफ्नो चाहना पूरा गर्ने नेता र कार्यकर्ताको भिडमा हरायो इमानदारी, निष्ठा र बलिदानका कथा। वैद्य यस्तो अवस्थामा चुप लागेर बस्न मिल्ने थिएन। तर, त्यसको विरोधमा अर्को दल खोल्नाले समस्या सिर्जना भयो। उतै बसेर गलत तत्वसँग लडेको भए देशलाई र उनको सिद्धान्तलाई नै बल पुग्थ्यो होला। उनले अर्को दल खोलिदिनाले एकातिर पुरानो दलमा लोभीपापीका विरुद्धको संघर्ष समाप्त भयो भने अर्कातिर दल चलाउन फेरि आर्थिक, सामाजिक अपराध गर्ने र जनता झुक्याउने खेलमा सहभागी हुँदै जानुपर्ने भयो। यसो गर्न नसकेको अवस्थामा दल बिलीन भएर जानेबाहेक अर्को विकल्प उपलब्ध भएन।
मंसिर ४ गते दोस्रो संविधान सभाको चुनाव हुने घोषणा गरिदिएर मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वैद्यलाई थप बिचल्लीमा पारिदिएका छन्। उनलाई अब के गर्ने थाहा छैन। मुखले त उनले चुनाव बिथोल्दैनौ केबल बहिष्कार गर्छौ भनेका छन् तर यो बाटोले उनलाई कहीं पनि पुर्‍याउँदैन।
उनको दलको राजनीतिक आस्थाअनुसार चुनाव बिथोल्नु पहिलो उपाय हुनसक्थ्यो तर उनी त्यो गर्न सक्दैनन्। अहिले उनको माओवादीसँग न जनशक्ति छ, न साधन र स्रोत नै छ चुनाव बिथोल्नसक्ने। अझ, अन्तर्राष्ट्रिय अवस्था पनि उनको प्रतिकूल देखिन्छ। भारतीय माओवादीको चुलिँदो हिंसात्मक कार्यले अब भारत फेरि माओवादीलाई 'ज्वाईं पाहुना बनाएर' पाल्ने मनस्थितिमा पक्कै छैन होला। चीनले नेपालमा स्थिरता चाहेको र चुनाव होस् भन्ने उसको मनसाय देखिएकाले चीनबाट पनि उनले धेरै आशा गर्ने अवस्था छैन। युरोपेलीहरूले प्रत्यक्षरूपमा जातीयताको प्रबर्द्धन र परोक्षरूपमा धर्म प्रचारको उद्देश्य प्राप्तिका लागि विगतमा माओवादीलाई जति डलर सहयोग गरेपनि अहिले तुरुन्तै चुनाव विरोधी शक्तिलाई समर्थन गर्न तिनको राजनीतिक आस्था र विश्वासले पनि दिंँदैन। पुष्पकमल दाहाल 'प्रचण्ड' र डा. बाबुराम भट्टराईले निर्वाचन विथोल्न उद्यत शक्ति भनेर दोष लगाएको संयुक्त राज्य अमेरिकाले पनि चुनावकै समर्थन गरेको छ। यसैपनि अब अमेरिकी सहयोगमा नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढ्ला भनेर आशा गर्न सकिन्न।
निर्वाचन बिथोल्न नसक्ने भएपछि उनले चुनावमा भागलिन केही सर्त राखेका छन्। ती सर्तहरूले उनको वैचारिक धरातलमै प्रश्न खडा गरेको छ। एकदलीय अधिनायकवाद र साम्यवादको नारा लिएर हिँडेको उनको दल किन निर्वाचनमा भाग नलिने रे भन्दा खिलराज रेग्मीको सरकार लोकतान्त्रिक भएन रे। यसले दलीय व्यवस्थामा आघात पुर्‍यायो रे, स्वतन्त्र न्यायालयको अवधारणामा घात गर्‍यो रे अनि यो शक्ति पृथकीकरणको अवधारणाविपरीत भयो रे। कामरेड वैद्यले माग गरेका कुरामा उनलाई विश्वास छ र तिनको प्राप्तिको लागि संघर्ष गर्न तयार छन् भने वैद्य माओवादी कुनै पनि प्रकारले साम्यवादी वा एकदलीय अधिनायकवादमा विश्वास गर्ने दल हुन सत्तै्कन। वास्तवमा खिलराज रेग्मी सरकारको प्रकरण लिएरै निर्वाचनमा जाने हो भनेपनि यिनलाई धेरै मत मिल्न सक्छ। लोकतन्त्रका समर्थकले नै अत्यधिक मत दिएर विजयी बनाउनेछन्। खोचे थापेको होइन र सच्चा मनले मोहन वैद्य 'किरण' लोकतन्त्रीकरणको प्रक्रियमा विश्वास गर्छन् भने देशले एउटा राम्रो लोकतान्त्रिक राजनीतिक दल पाउनेछ। तर यो उनको रणनीतिमात्र हो भन्ने बुझ्ने नेता अरू दलमा पनि भएका हुनाले रेग्मीलाई राजीनामा गराएर वैद्य माओवादीले निर्वाचनमा भाग लिन्छ भन्ने कसैले पनि पत्याउँदैन। उनको यो बहाना चल्दैन। बरु, आफू कमजोर भएका कारण निर्वाचन रोक्ने षडयन्त्र गर्दैछ वैद्यमाओवादी भनेर सजिलै बुझ्न सकिन्छ।
वैद्यले भनेजस्तै निर्वाचन बहिष्कारमात्र गर्ने हो भने आफ्नै कार्यकर्ताले प्रश्न तेर्स्याउनेछन् – किन टुक्रिएको त एमाओवादीबाट? के बैद्य एमाओवादीलाई नेपाली राजनीतिमा सबैभन्दा बलियो दलका रूपमा स्थापित गर्न चाहन्छन्? के केही राजनीतिज्ञले शंका गरेअनुसार वैद्यमाओवादी एमाओवादीको देखाउने दाँतमात्र हो त? उनका कार्यकर्तालाई यो मन्जुर होलाजस्तो लाग्दैन।
चुनाव विथोल्न नसक्ने, चुनाव बहिष्कार गर्न नमिल्ने र आफ्नो दल बलियो बनाउनुपर्ने बाध्यताले उनको दल फेरि उही आर्थिक, सामाजिक अपराध गर्ने र जनता झुक्याउने खेलमा फस्ने अवस्थामा पुगेको छ। यस अवस्थामा जबर्जस्ती चन्दा असुली, विभिन्न तस्करीका कार्यमा हिस्सेदारी र अरू वित्तीय अपराधबाट पैसा असुल्नुबाहेक अरू कुनै उपाय देखिदैन वैद्य माओवादीका लागि। तर हिंसाको डर कम भयो भने सच्चा व्यापारी त के तस्कर समेत डराउने छैनन् माओवादीसँग। सिंहले गरेको सिकारमा हड्डीमात्र पाउने स्यालकोजस्तो अवस्था भयोभने वैद्य माओवादी पार्टीको अस्तित्व संकटमा पर्दै जान्छ। अर्कोतिर पैसा प्रशस्त उठेको अवस्थामा पनि 'ड्यास'हरू 'क्यास'जस्ता हुँदैजाने प्रत्यक्ष संभावना छँदैछ भने पैसा नभएको अवस्थामा पनि कार्यकर्ता उतैतिर आकर्षित हुदै जाने तीतो सत्य नकार्न सकिने अवस्था छैन। उनलाई आर्थिक सहयोग र नैतिक शिक्षा दिएर दल फुटाउन लगाउने देशी, विदेशी शक्ति अहिले पैसाको थैली खोल्ने मनस्थितिमा देखिँदैनन्। वैद्यलाई बीच बाटोमा ल्याएर पछारिदिएका छन् उनका शक्तिशाली सहयोगीले।
यस्तो बिचल्लीको अवस्थाबाट बच्ने उपाय भनेको माउ पार्टीसँग कुनै प्रकारको राजनीतिक तालमेल नै हो। वैद्य माओवादीले एमाओवादीसँग तालमेल गरेर चुनाव उठ्योभने लोकतान्त्रिक दलहरूको अवस्था कमजोर अवश्य हुनेछ तर लोकतान्त्रिक प्रक्रिया भने बलियो भएर जानेछ। यस्तो तालमेलले नेपालमा माओवादीहरू फेरि सशक्त राजनीतिक शक्तिको रूपमा उदाउनेेछन् र त्यस प्रक्रियाले हिंसात्मक राजनीति पनि निषेध हुँदै जानेछ। नेपाली कांग्रेस र नेकपा (एमाले)का लागि यो तालमेलको स्थिति खासै फाइदाजनक नहोला तर शान्तिपूर्वक चुनाव सम्पन्न गर्न र जनताको प्रतिनिधिले सरकार चलाउन पाउन् भन्ने उद्देश्य लिने हो भने अहिलेको अवस्थामा वैद्यले माउ दलसँग चुनावी समीकरण गर्नुको अर्को राम्रो विकल्प देखिएको छैन।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment