Wednesday, June 19, 2013

नव विवाहिता दम्पतीमाथि गोली प्रहार

महोत्तरी, असार ५ – महोत्तरीको मनरामा बुधबार नचिनेका मानिसको गोली प्रहारबाट एक नवविवाहिता दम्पती गम्भीर घाइते भएका छन् ।
बर्दिवास जलेश्वर सडक खण्डमा पर्ने मनरा ८ को पुल नजिक दिउँसो ३ बजे स्थानीय ३२ बर्षिय अभयकुमारसिंह र उहाँकी पत्नी २६ बर्षिया सोनमदेबी सिंहमाथि गोली प्रहार भएको हो ।
जनकपुरबाट ज ५ प ५४६० नम्वरको मोटरसाइकलमा आफ्नो घर फर्कने क्रममा सिंह दम्पतीमाथि नम्बर नखुलेको रातो रंगको पल्सर मोटरसाइकलमा सवार दुईजनाले गोली हानेका महोत्तरीका प्रहरी उपरीक्षक पवन खरेलले जानकारी दिनुभयो । श्रीमानलाई दुई र श्रीमतीलाई एउटा गोली लागेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अस्पताल जलेश्वरमा सामान्य उपचार गरी थप उपचारका लागि जनकपुर लगिएको छ । गएको बैशाख २३ गते विवाह गरेका उनीहरु जनकपुरमा रहेको ससुरालीबाट घर फर्कदै थिए ।
घटनाको जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहले जिम्मा लिएको छ । समूहको तर्फबाट अजय मुक्तिले केही सञ्चारकर्मीहरुलाई फोन गरी पूर्व राजा ज्ञानेन्द्र शाहको महोत्तरी र धनुषा जिल्ला भ्रमणको विरोधमा गरेको बन्दको अवज्ञा गरेर मोटरसाइकल चलाएकाले गोली हानेको जनाएका छन् ।
गएको आइतबार मनारा ८ का शैलेन्द्र मण्डल र विकास सिंहमाथि पनि गोली प्रहार भएको थियो । शैलेन्द्र र विकासलाई गोली हान्ने समूहले नै सिंह दम्पतीमाथि गोली हानेको हुन सक्ने प्रहरी उपरीक्षक खरेलले बताउनुभयो ।
घटनामा प्रयोग भएको मोटरसाइकलको हुलिया र गोलीको खोका हेर्दा बुधबार पनि त्यही समूहको संलग्नता हुन सक्ने उहाँको भनाई छ । घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment