Thursday, June 20, 2013

२ डेरी विरुद्ध मुद्धा

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई डेरी उद्योगलाई खाद्य ऐन २०२३ अनुसार मुद्दा दायर गरेको छ। खाद्य ऐन अनुसार उत्पादन तथा वितरण गरेको अभियोगमा बालाजुको आधुनिक डेरी र भक्तपुरको संजीवनी डेरीलाई मुद्धा दायर गरेको हो।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लगाएत थप ११ डेरी उद्योगका विरुद्ध मुद्दा दर्ताको तयारीमा रहेको विभागले ६ डेरी उद्योगलाई सिलबन्दी गरिसकेको छ।
२ डेरीलाई खाद्य ऐन अनुसार नपाएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागकी महानिर्देशक जीवनप्रभा लामाले जानकारी दिइन्। दुधमा २४ सयभन्दा बढी कोलिफर्म देखिएका डेरीलाई पहिलो चरणमा कारवाही गरिएको बताउँदै लामाले अरुको पनि नमुना संकलन भएको र चरणबद्ध रुपमा कारवाही गरिने बताइन्। अधिकांस डेरीको उत्पादन गुणस्तरहीन पाइएको छ। विस्तारै सबैमा कारवाही हुन्छ। उनले भनिन्।
गुणस्तर मापदण्ड नभएपछि विभागले ६ वटा डेरी उद्योगमा सिलबन्दी गरिसकेकोछ। सिलवन्दी नगरिएका र कारवाहीमा रहेका अन्य ७ डेरीलाई मुद्दा दर्ताको तयारी भैरहेको विभागले जनाएको छ। डिडिसीका महाप्रवन्धक सियाराम प्रसाद सिंले विभागको अनुगमनलाई सकारात्मक बताउँदै डिडिसीको दुधमा पनि केही मात्रामा कोलीफर्म भएको स्वीकार गरेका छन्। तर डिडिसीले विहीबार छुट्टै प्रेस विज्ञप्ती समेत जारी गर्दै आफ्नो सम्पूर्ण उत्पादन उपभोग योग्य रहेको जनाएको छ।
दुध अनुगमन र कोलीफार्मको विषयलाई लिएर कृषि विकास मन्त्रालयले अनुगमन कार्यलाई तित्र्रता दिन निर्देशन समेत दिएको छ। 'उपभोक्ताको अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अनुगमन कार्य जारी रहनेछ,' मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले भने, 'यसका लागि विभागको क्षमता अभिवृद्धि र संरचनागत विकास गरेर अगाडि बढ्न मन्त्रालयले योजना बनाएको छ।' उनले दुग्ध पदार्थ लगाएतको अनुगमन विस्तारै देशभर नै गरिने बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment