Sunday, June 16, 2013

मुख्य दलमा धड्कन बढ्यो

काठमाडौं - सरकारले संविधानसभा चुनाव मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दल चुनावको परिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारीमा जुटेका छन्।
मन्त्रिपरिषदले बिहीबार दोस्रो संविधानसभा निर्वाचन मंसिर ४ गते घोषणा गरेपछि प्रमुख दल निर्वाचनकेन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका हुन्।
आगामी चुनावमा बहुमत ल्याउने दाबी गर्दै आएका एकीकृत माओवादी, नेपाली कांग्रेस र एमाले परिणाम आफ्नो पक्षमा पार्न कार्यकर्ता परिचालन, घोषणापत्र तयारीसहित आन्तरिक गृहकार्य सुरु गरेका छन्।
एकीकृत माओवादीले संविधानसभा निर्वाचनका लागि अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन गठन गरेको छ। माओवादीको जारी केन्द्रीय समिति बैठकले दाहाल नेतृत्वमा उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित उपल्लो तहका नेता सदस्य रहेको ६७ सदस्यीय परिचालन समिति बनाएको हो। समितिमा राज्यसमिति संयोजक, विभागीय/ब्युरोप्रमुख, जनवर्गीय संगठनका अध्यक्ष तथा जातीय/क्षेत्रीय मोर्चाका प्रमुख पनि सदस्य छन्।
माओवादीले निर्वाचन मिति घोषणाअघि नै उपाध्यक्ष भट्टराईको संयोजकत्वमा चुनावी घोषणापत्र निर्माण तथा महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा 'टिकट वितरण समिति' बनाइसकेको छ।
'निर्वाचन परिचालन कमिटी गठन गरेर तयारी सुरु गरिसकेका छौं,' उपाध्यक्ष श्रेष्ठले नागरिकसँग भने, 'अबको ध्यान पार्टीलाई अग्रस्थान दिलाउने भन्नेमा केन्द्रित हुनेछ।' स्थानीय तहसम्म निर्वाचन परिचालन कमिटी बनाउने माओवादीले तयारी रहेको उनले जानकारी दिए।
बहुमतको अर्काे दाबेदार कांग्रेसले पनि घोषणापत्र निर्माणका साथै संगठन परिचालनमा जुटेको छ। जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिका आधारमा चुनावी रणनीति बनाउने तयारीमा रहेको कांग्रेसले छिट्टै मेची–महाकाली अभियान चलाउँदैछ।
'हामी संविधानसभा निर्वाचनका लागि तयार छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकसँग भने, 'हामीले संगठन सुदृढीकरणका लागि एकमहिने अभियान सकेका छौं, अब निर्वाचनकेन्द्रित भएर मेची– महाकाली अभियान सञ्चालन गर्नेछौं।'
पार्टीको सांगठनिक अवस्था अध्ययन र संगठन परिचालनका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। 'एक महिनाका लागि केन्द्रीय सदस्यलाई पार्टीले सबै जिल्लामा खटाइसकेको छ,' केन्द्रीय सदस्य एवं प्रचार विभागप्रमुख मीनेन्द्र रिजालले भने, 'पार्टीले चुनावको तयारीस्वरुप नै केन्द्रीय सदस्यलाई जिल्ला खटाएको हो।'
केही काठमाडौं फर्किसकेको र केही फर्कने क्रममा रहेको जानकारी दिँदै रिजालले भने, 'सबै साथी फर्कनुभएपछि उहाँहरुले दिएको सुझावका आधारमा पार्टीले थप कार्यक्रम बनाउँछ।'
वैशाख १३ गते कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खठाएको थियो। पार्टीले संसदीय समितिदेखि सबै निकायलाई छिट्टै पूर्णता दिने पनि जानकारी दिए।
कांग्रेसले महासमिति बैठकबाट आएका सुझावसमेत समेटेर तयार गरेको संशोधित राजनीतिक प्रतिवेदनलाई नै आगामी निर्वाचनको घोषणापत्र बनाउने तयारी छ। उपसभापति पौडेलको संयोजकत्वमा गठित समितिले तयार गरेको संशोधित प्रतिवेदनमा 'लोकतान्त्रिक संविधान र दिगो शान्ति' आगामी निर्वाचनको मूल नारा तय गरेको छ।
उसले राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सार्वजनिक, निजी क्षेत्र र सहकारीलाई प्राथमिकतामा राख्दै जनताको आय बढाउन स्वदेशमा नै रोजगारीको वातावरण बनाउने भन्दै वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित बनाउन लागिपर्ने नीति तयार गरेको छ।
उपसभापति पौडेलले कांग्रेसप्रति जनताको विश्वास बढेको दाबी गर्दै छिट्टै पार्टीले स्पष्ट कार्यक्रम लिएर जनतामाझ जाने बताए। 'हामी घोषणापत्र तयारीमा जुटिसकेका छौं,' उनले भने, 'छिट्टै आफ्ना कार्यक्रम लिएर जनतामा जानेछौं।'
निर्वाचनको तयारीका विषयमा शनिबार सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच पनि छलफल भएको छ।
एमालेले चुनावी रणनीति तयारी गर्न यसै साता केन्द्रीय कमिटी बैठक डाकेको छ। 'एकमहिने निर्वाचन अभियानबाट प्राप्त सुझाव हेरेर निर्वाचन रणनीति तय गरिनेछ,' एमाले महासचिव ईश्वर पोखरेलले भने, 'यसै साता केन्द्रीय कमिटी बैठक बस्नेछ।
त्यसले निर्वाचन लक्षित कार्यक्रम ल्याउनेछ। त्यसपछि प्रतिनिधि परिषद बैठकले समेत चुनावी तयारीमै छलफल गर्नेछ।'
एमालेले २ सय ४० क्षेत्रमा केन्द्रबाट प्रतिनिधि परिचालन गरेरै कार्यक्रम गरिरहेको छ। जेठ ३ बाट सुरु अभियान यसै साता सम्पन्न हुँदैछ। अभियानका केन्द्रीय प्रतिनिधिले निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक शक्तिसन्तुलनका अवस्थाको मूल्याकंन गरी केन्द्रमा प्रतिवेदन बुझाउनेछ।
त्यसले स्थानीय कमिटीको बैठक राख्ने, पुनर्गठन र जनपरिचालन गर्नेछ। करिब २० जनाको टोलीले निर्वाचन क्षेत्रका सबै गाविसमा कम्तीमा एउटा कार्यक्रम गर्ने लक्ष्य निर्धारण गरिएको छ।
एकीकृत माओवादीले समेत प्रतिस्पर्धात्मक व्यवस्थामा आउने नीति पारित गरेको अवस्थामा एमालेले 'जसको नीति त्यसकै नेतृत्व' नारासाथ निर्वाचनमा भाग लिँदैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्वाचनको कार्यक्रम र चार दलको उच्चस्तरीय राजनीतिक समिति विघटनमा दबाब दिने कार्यक्रम सँगसँगै लैजाँदैछ।
'निर्वाचनका लागि गठन गरिएको सरकार चार दल बगैंचेजस्तो देखिएको छ। संविधानसभा विघटनपछि सबै दल समान हुन, तर सरकारले कसैलाई काखी च्याप्ने र पाखा लगाउने काम गरेको छ,' महामन्त्री चन्द्रबहादुर गुरुङ नागरिकसँग भने, 'त्यसैले निष्पक्ष र स्वतन्त्र निर्वाचन सरकारमाथि दबाब कार्यक्रमलाई निर्वाचन कार्यक्रमसँग अघि बढाउनेछौं।'
उनले अध्यक्ष थापाका नेतृत्वमा घोषणापत्र लेखन समितिसमेत गठन गरिएको जानकारी दिए। निर्वाचन केन्द्रित गरेर देशव्यापी दौडाहामा राप्रपा छ। 'देश दौडाहापछि घरदैलो र निर्वाचन क्षेत्रको सम्मेलन गरिनेछ,' गुरुङले भने, 'विभिन्न स्थानमा सभाको आयोजना गरिनेछ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment