नेपालगञ्ज । विगतमा माओवादी कार्यकर्ताले कांग्रेस र एमालेका नेताहरुको मात्रै जग्गा कब्जा गरेको सुनिन्थ्यो । तर, अब दुईपक्षीय माओवादीवीचमै जग्गा कब्जाका समाचार आउन थालेका छन् । बाँकेको फत्तेपुर-३ गेदवाको १३ विगाह, ८ कठ्ठा ३ धुर र फत्तेपुर-७ भेलोनिया र सर्राको मा रहेको १६ विगाह ८ कठ्ठा १० धुर जग्गामा वैद्यपक्षीय कार्यकर्ताले झण्डा गाडेका छन् । जग्गा एमाओवादीका कार्यकर्ताको रहेको कब्जावालको आरोप छ ।
भूमाफियासंगको मिलेमतोमा एकीकृत माओवादीका जिल्ला इन्चार्ज प्रकाश सुवेदी (चन्द्राकान्ता) का आफन्त तथा राज्य समिति सदस्य सुकइलाल बर्माकी पत्नीको नाममा नामसारी गरिएको भन्दै माओवादीले कब्जा गरेको जनाएको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य आइपी खरेलको नेतृत्वमा नेपालगन्जदेखि फत्तेपुर पुगेको पार्टीका नेता तथा कार्यकर्ताहरुको टोलीले फत्तेपुर-७ को पुनम शर्मा र ज्ञानी विष्टको नाममा रहेको १६ विगाह ८ कठ्ठा १० धुर जमीनमा पार्टीको झण्डा र ब्यानर टाँगेर कब्जामा लिएको घोषणा गरेका हुन ।
जग्गा कब्जाको घोषणा गर्दै सो पार्टीका केन्द्रीय सदस्य खरेलले नेपाल सरकारले तोकेको हदबन्दीभन्दा बढी रहेको र लामो समयदेखि ३२ घरपरिवारले घरबास बनाई केही किसानले कमाउँदै आएको सो जमीनमा एकीकृत माओवादीको जिल्ला नेतृत्वको दबावमा उनीहरुको आफन्तको नाममा पास गरिएपछि पार्टीले कब्जामा लिने निर्णय गरेको बताए ।
खरेलले भने- ‘मालपोत र भूमिसुधारका केही कर्मचारी र भूमाफियाको साँठगाँठमा एकाएक एकीकृत मओवादीका नेताहरुसंगको सल्लाहमा ५ दिनभित्र सरकारी र हदबन्दीभित्रको जग्गा लामो समयदेखि बस्दै आएका ३२ घर परिवारको बिचल्नी हुने गरी खरिद-बिक्री भएकाले कब्जामा लिएका हौं ।’ उनले यसरी कब्जामा लिएको सो जमीन भूमिहीन किसानलाई नै वितरण गर्ने जानकारी दिँदै भने-’केही समय पहिला एमाओवादी जिल्ला इन्चार्ज चन्द्रकान्ताले यहीँको ४ विगाह जग्गा आफ्ना भान्जाको नाममा बनाएर केही समयपछि विक्री गरेकाले कब्जामा लिएका हांै ।’
पार्टीका जिल्ला सेक्रेटरी नविन सुवेदीले कब्जामा लिएको सो जमीनको व्यवस्थापन गरिने बताए । उनले एकीकृत माओवादीले तत्कालीन द्वन्द्वका बेलामा कब्जामा लिएको जमीनलाई भूमाफियासंगको मिलेमतोमा धमाधम बिक्री गर्न थालेको पाइएकाले पार्टीले पुनः कब्जामा लिने निर्णय गरेको जानकारी दिए ।
कित्ता नं. ८७८ कायम गरिएको सो जमिन धमे्रन्द्र सिंह ठाकुर र रवि सिंह ठाकुरले ज्ञानी विष्ट र पुनम शर्मालाई १ करोड ७० लाखमा विक्री गरेको मालपोतको लिखतमा उल्लेख छ । हदवन्दीका कारण ०२८ सालदेखि नै सो जमीनका मालिक ठाकुरद्वयले सरकारीकरण गर्नका लागि छोडेको भए पनि गत जेठ १० गतेदेखिको चलखेलबाट १७ गते विष्ट र शर्माको नाममा पास भएको बताइएको छ ।
यसैगरी फत्तेपुर-३ गेदवा गाउ नै विस्थापित हुनेगरी एकीकृत माओवादीका थारुवान राज्य समिति सदस्य समेत रहेका सुकईलाल बर्माकी पत्नी उर्मिलादेवी बर्मा र दलबहादुर खत्रीकी पत्नीका नाममा लेनदेनको कागजात बनाई १३ विगाह, ८ कठ्ठा ३ धुर जग्गा नामसारी गरिएको छ । सो जमीन सुरेन्द्रपाल सिंहको नामबाट तमसुक बनाउँदै लेनदेनको मुद्दा अनुसार नामसारी गराइएको धनीराम मौर्य, सक्कुलाल मौर्य र विष्णुप्रसाद मौर्यले बताए ।
0 comments:
Post a Comment