१ असार, काठमाडौं । ‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ…..’ पहिलोपटक ०१० सालमा यो गीत रेकर्ड गर्दा गायक प्रेमध्वज प्रधानको छाती गर्वले ढक्क फुलेको थियो । त्यसपछि उहाँले यस्ता धेरै गीत गाउनुभयो, जुन गीतमा गाउँ ठाउँका ठेट भाका, शब्द र लयसँगै देशप्रेमका भावना समेटिएका छन् ।
वि.सं. १९९४ सालमा सिन्धुपाल्चोक चौतारमा जन्मनुभएका प्रेमध्वज प्रधान उमेरले बुढो भैसक्नुभयो । स्वर भने अझै पनि उस्तै मीठो छ । ‘१६/१७ वर्षको उमेरदेखि नै गायन क्षेत्रमा लागें’ प्रधानले
अनलाइनखबरसित भन्नुभयो-’त्योबेला मनोरञ्जनको साधन अरु थिएन, शोखले यता लागें, आमाले पनि धेरै सघाउनुभयो ।’ उहाँका आमा प्राणदेवी र बुबा रत्नध्वज लगायत परिवारका अरु सदस्यलाई पनि गीतसंगीतप्रति मोह थियो । आम प्राणदेवीले त केही गीत गाउनु पनि भएको छ ।
परिवारको साथ, सहयोग र प्रेरणाले गीतसंगीतलाई अगाडि बढाउँदै लगेका प्रेमध्वजले पछिल्ला वर्षहरुमा भने गीत गाउनुभएको छैन । ‘घरको काममा व्यस्त भएकाले हिजोआज त्यति गाएको छैन’ प्रधानले भन्नुभयो-’तैपनि पुराना गीत गुनगुनाउने गर्छु ।’ उहाँका गोरेटो त्यो गाउँको……., घुम्तीमा नआउ है…….., पर लैजाउ फूलहरु….., हाँस्ने रहरहरु आँशुमा डुबे…….., नमान लाज यसरी…., देउरालीमा बतास चल्यो….लगायतका गीत चर्चित छन् ।
उहाँले बम्बईमा भारतीय गायिका उषा मंगेशकरसँग गाएको नमान लाज यसरी…..गीत नेपाली गायकले विदेशी गायिकासँग गाएको पहिलो गीत हो ।
‘आफूलाई सबैले माया गरेको देख्दा मैले पनि केही योगदान दिन सकेछु जस्तो लाग्छ’ प्रधानले भन्नुभयो । गायन क्षेत्रमा लाग्ने र लाग्न चाहनेहरुलाई उहाँको एउटा सुझाव छ-गीत गाएर धेरै पैसा कमाउन सकिँदैन, अरुतिर काम गरेर गीत गाउनु सबैभन्दा उत्तम । ‘म गीत गाएर कमाउँछु भनेर कसैले सोच्यो भने उ पछि गएर निराश मात्र हुन्छ, त्यसैले अन्त काम गरेर गायन क्षेत्रमा लाग्यो भने त्यो दीगो र गुणस्तरीय हुन सक्छ ।’
विदेशमा पलेटीको तयारी
७७ वर्षीय प्रधानले आधुनिक, लोक, राष्ट्रिय र भजन गरी झण्डै ६ सय ५० गीत गाउनुभएको छ । मीठो स्वरमा गाउँठाउँ र देशप्रेम झल्कने गीत गाउने गायक प्रेमध्वजले आफ्नो कला अब विदेशमा देखाउनुहुनेभएको छ ।
नेपालयको आयोजनामा आउँदो जुन २२ अर्थात असार ८ गते अष्ट्रेलियाको सिड्नीमा हुने पलेंटी श्रृँखलामा प्रधानले आफ्ना चर्चित गीत गाउने हुनुभएको छ । यसअघि नेपालमै दुईपटक पलेंटी श्रृँखलामा गीत प्रस्तुत गरिसकेका गायक प्रधानले त्यही समूहसित अष्ट्रेलियामा गीत प्रस्तुत गर्न लाग्नुभएको हो । ‘नेपाली र विदेशीहरुलाई मन छुने आफ्ना प्रस्तुति प्रस्तुत गर्ने तयारी छ’ अनलाइनखबरसितको कुराकानीमा गायक प्रधानले भन्नुभयो ।
दुईघण्टाको प्रस्तुतिमा नेपाली र विदेशी गरी झण्डै ९ सय दर्शक सहभागी हुने आयोजक नेपालयले अनुमान गरेको छ ।
नेपालमा हरेक महिनाको अन्तिम शुक्रबार पलेंटी श्रृँखला गर्दै आएको नेपालयले दुई वर्षअघि चीनमा पनि यस्तै कार्यक्रम गरेको थियो । वर्षमा एकपटक विदेशमा यस्तै कार्यक्रम गर्ने नेपालयको योजना छ । ‘हाम्रो मौलिक गीतसंगीतलाई विदेशमा चिनाउने उदेश्य हो’ नेपालयका जनसम्पर्क निर्देश अर्पण शर्माले अनलाइनखबरसित भन्नुभयो-’चीनमा अम्बर गुरुङको प्रस्तुतिमा धेरै विदेशी सहभागी थिएँ, अष्ट्रेलियाको कार्यक्रममा चाहिँ धेरै विदेशमा बस्ने नेपाली हुन्छन् भन्ने अपेक्षा गरिएको छ ।’
अष्ट्रेलियाको प्रस्तुतिपछि नेपालयले आउँदो साउन ३२, भदौ १ र २ मा काठमाडौंमा पलेटी उत्सव गर्ने भएको छ । पलेंटी उत्सवमा पनि गायक प्रेमध्वजले आफ्नो प्रस्तुति दिनुहुनेछ ।
-
0 comments:
Post a Comment